१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दल बदल्दै निर्वाचन जित्दै

बुटवल- कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । तर यी सबै विजय एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दिएर राजनीतिमा होमिएका गुप्ताले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पार्टी बदल्दै मैदानमा उत्रेका छन् । पार्टी फेर्दै चुनावमा भिडेका उनका लागि सधैं जित हात लागेको छ ।

नाकाबन्दी सकिएपछि  मधेस आन्दोलन तुहियो, नेताहरु जता लाग्दा भविष्य सुरक्षित हुन्छ, त्यतै लागे, अहिले भएको त्यही हो ।’
तुलानारायण साह, मधेस मामिलाका विज्ञ

२०५६ सालमा राप्रपाबाट चुनाव जितेका उनी मधेस आन्दोलनको उभार आएका बेला २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीमा पसे । त्यही पार्टीबाट उनले २०६४ र २०७० सालको संविधानसभा चुनाव जिते । मधेस केन्द्रित पार्टी एक भई राष्ट्रिय जनता पार्टी बनेपछि भने उनी त्यहाँ सन्तुष्ट हुन सकेनन् । मधेस आन्दोलन तुहिएपछि उनको मोहभंग भयो । अहिले एमालेको एमालेको सूर्य चिह्न लिएर चुनाव लडे र जिते । पश्चिम तराईमा दल परिवर्तन गर्दै चुनाव लड्ने गुप्ता एक्ला होइनन् । दल फेर्दै चुनाव लडेका मध्ये धेरैले चुनाव जिते । केही पराजित भए ।
२०४८ सालदेखि मधेसमा प्रभावशाली नेता हृदयेश त्रिपाठी पनि दल फेर्दै चुनाव लड्नेमा पर्छन् । नेपाल सद्भावना पार्टीबाट २०४८ सालपछिका तीन चुनाव जितेका उनले संविधानसभाका दुईवटा चुनाव तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडे । पहिलो संविधानसभाको चुनाव भारी मतले जिते । दोस्रोमा भारी मतान्तरले कांग्रेसका देवकरण कलवारबाट पराजित भए ।
यसपालि उनले एमालेको सूर्य चिह्न लिएर चुनाव लडे । उनको चुनाव जित्ने मिसन पूरा भयो । उनले कांग्रेसका कलवारलाई नै साढे पाच हजार  मतान्तरले हराए । त्रिपाठीले कुनै बेला मधेसको कट्टर विरोधी भनेर आलोचना गरेको दल एमाले रोजेर चुनाव जितेका छन् । एमालेको साथबिना त्रिपाठीले चुनाव जित्न नसक्ने र एमालेका लागि त्रिपाठीजस्तालाई सहयात्री बनाएर अघि बढ्नु उपयुक्त भएकाले दुवैको स्वार्थ मिलेपछि यो तालमेल मिलेको हो ।
२०६४ सालको संविधानसभा चुनावमा कपिलवस्तु—५ बाट फोरम नेपालका  अभिषेकप्रताप साहले चुनाव जिते । पुराना नेता तमलोपाका डा. मन्जुर खाँलाई  हराउँदै २६ वर्षीय साह सबैभन्दा कान्छो सभासद् भएपछि चर्चाको शिखरमा उक्लिए । २०७० को संविधानसभा चुनावमा पनि साहले पराजय भोग्नुपरेन । संघीय समाजवादी  फोरमको उपमहासचिव भई छोटो समयमा पार्टीको केन्द्रीय नेतृत्वमा  पुग्न सफल साहले यसपालि चुनाव जित्न कांग्रेस रोजे । चुनावको केही साताअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट अबिर र टीका लगाएर कांग्रेस पसेका साहले अहिले कपिलवस्तु–३ बाट जित हात पारेका छन् ।  
पश्चिम तराईका नवलपरासी, रुपन्देही र कपिलवस्तुको मधेसी समुदायको बाहुल्य रहेको क्षेत्रमा मुख्य राजनीतिक दलले यसपालि मधेस केन्द्रित दलबाट आएका तिनै नेतालाई उम्मेदवार बनाएर मैदानमा उतारे । तीमध्ये धेरैले चुनाव जिते, केहीले हारे ।
पश्चिम नवलपरासी १ (क) मा एमालेबाट चुनाव जितेका अजय शाही पनि पार्टी बदल्दै चुनाव लड्ने नेता हुन् । उनको जित भने यो पहिलो हो । यसपालि एमालेको सूर्य चिह्नबाट लडेका उनी यसअघि हरेक चुनावमा दल फेर्दै आएका छन् । पहिले राप्रपाको राजनीतिमा सक्रिय उनी २०६४ सालमा स्वतन्त्र उम्मेदवार भई संविधानसभा सदस्यमा उठे । २०७० सालमा तराई मधेस समाजवादीबाट चुनाव लडेका उनी अहिले त्रिपाठीको सहयात्री भई सूर्य चिह्नबाट चुनाव लडे । उनीहरु घोषित रुपमा एमाले प्रवेश गरेको घोषणा गरेका छैनन् तर कानुनी रुपमा उनीहरु  एमालेका सांसद हुन् ।
मधेस आन्दोलनको उभारसँगै मधेसी जनअधिकार फोरममा सक्रिय भई केन्द्रीय सदस्य हुन भ्याएका बसुद्दिन खाँले यसपाली कांग्रेस रोजेर फाइदै भएको छ । रुपन्देही ४ (क) बाट  खाँले चुनाव जितेका छन् । गएको संविधानसभा चुनावमा उनी रुपन्देही ६ बाट संघीय समाजवादी फोरमका उम्मेदवार थिए ।
लुम्बिनीका चर्चित युवा फकुरुद्दिन खाँ कुनै बेला राप्रपामा सक्रिय थिए । पछि मधेस आन्दोलनको लप्कोसँगै संघीय समाजवादी  फोरममा सक्रिय भए । त्यही पार्टीबाट गएको स्थानीय तहको चुनावमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भए । लोकप्रिय मत ल्याएर पराजित भएका उनीमाथि कांग्रेसको आँखा प¥यो । प्रदेशसभामा टिकट दिने वचन पाएपछि उनी कांग्रेस पसे र सानदार मतसहित चुनाव जिते ।
कांग्रेसमा लामो समय सक्रिय दीर्घनारायण पाण्डे स्थानीय चुनावमा महाराजगन्ज नगरपालिकाको मेयरमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भए तर पराजित भए । केही महिनाअघि एमाले प्रवेश गरेका उनी कपिलवस्तु २ (क) बाट विजयी भए । त्यहींको प्रदेशसभा (ख) बाट  चुनाव जित्ने धर्मबहादुरलाल श्रीवास्तव पनि एमालेमा नयाँ अनुहार हुन् । तमलोपामा सक्रिय उनले चुनावको केही साताअघि एमालेबाट चुनाव लड्ने निधो गरेका थिए ।
मधेसवादी दल कमजोर
कुनै बेला पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मधेसी दलको राम्रै प्रभाव थियो । पूर्वपश्चिम राजमार्ग आसपास र त्यसदेखि उत्तरी क्षेत्रमा एमाले र कांग्रेसको प्रभाव रहे पनि हुलाकी सडकदेखि दक्षिणको क्षेत्रमा मधेस केन्द्रित पार्टीको एकछत्र प्रभाव मानिन्थ्यो । अहिलेको चुनावले मधेस केन्द्रित क्षेत्रीय दलको प्रभाव कमजोर देखाएको छ । नवलपरासीमा प्रभावशाली नेता हृदयेश  त्रिपाठी, कपिलवस्तुका बृजेश गुप्ता, ईश्वरदयाल मिश्र र रुपन्देहीका ओमप्रकाश यादव गुल्जारी एमालेमा र कपिलवस्तुका अभिषेकप्रताप साहलगायत कांग्रेसमा पसेर चुनाव लडेपछि रुपन्देहीका सर्वेन्द्रनाथ शुक्लमात्रै राष्ट्रिय जनता पार्टीबाट चुनाव लड्ने प्रभावशाली नेता भए । उनले पनि जित हात पार्न सकेनन् । रुपन्देही २ (क) बाट संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र कपिलवस्तु १ (ख) बाट सहसराम यादवले चुनाव जिते । प्रदेशमा यहाँबाट मधेस केन्द्रित तललाई यिनै दुई सिटमात्रै हात लागेको हो ।
मधेस मामिलाका विश्लेषक तुलानारायण साहले आन्दोलन असफल भएपछि मधेसमा मधेस केन्द्रित दललाई संकट पर्नु अस्वाभाविक नभएको बताए । ‘नाकाबन्दी सकिएपछि  मधेस आन्दोलन तुहियो, नेताहरु जता लाग्दा भविष्य सुरक्षित हुन्छ, त्यतै लागे, अहिले भएको त्यही हो’, उनले भने ।

प्रकाशित: ३ पुस २०७४ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App