१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एथलेटिक्समा २२ स्वर्णसहित आर्मी पहिलो

इटहरी – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा मंगलबार सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन पाँच स्वर्ण पदक जित्दै समग्रमा २२ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको छ ।

आर्मी पहिलो, एपिएफ दोस्रो, पुलिस तेस्रो, मध्यमाञ्चल चौथो, मध्यपश्चिमाञ्चल पाँचौं भए ।

आर्मीले २२ स्वर्ण, १७ रजत र १३ कांस्य पदकसहित पहिलो स्थान हासिल गर्दा सशस्त्र प्रहरी बलको एपिएफ ७ स्वर्ण, ८ रजत र १२ कांस्य पदकसहित दोस्रो भयो । यसै गरी ४ स्वर्ण, ४ रजत र १ कांस्य पदक जितेको पुलिस तेस्रो हुँदा १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेको मध्यमाञ्चल चौथो तथा १ स्वर्ण, २ रजत र ४ कांस्य पदक जितेको मध्यपश्चिमाञ्चल पाँचौं भए । २ कांस्य जितेको पश्चिमाञ्चल छैटौं तथा १ कांस्यमा सीमित सुदूर पश्चिमाञ्चल सातौं भए ।

आर्मीका लागि मंगलबार विश्वरूपा बुढाले महिला ५ हजार मिटर, सोमबहादुर कुमालले पुरुष ४ सय मिटर, संगीता मेचेले महिला ४ सय मिटर, रोहित चौधरीले पुरुष ज्याभ्लिन थ्रो तथा कृष्णा चौधरी, संगीता मेचे, रमिता चौधरी र तुलसा श्रेष्ठको टोलीले ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए ।

विश्वरूपाले १८ मिनेट ००.९५ सेकेन्डमा निर्धारित दूरी तय गर्दै ५ हजार मिटरको स्वर्ण पदक जित्दा मध्यमाञ्चलकी सन्तोषी श्रेष्ठ (१८ मिनेट १६.३२)ले रजत तथा आर्मीकै चन्द्रा रावत (१८ मिनेट २९.५४) ले कांस्य पदक जिते ।

पुरुष ४ सय मिटरको दूरी सोमबहादुरले ५०.५५ सेकेन्डमा पूरा गर्दा आर्मीकै जीवन चौधरी (५२.१४) ले रजत तथा एपिएफका नीरप्रताप महतो (५२.७२) ले कांस्य जिते । ४ सय मिटरकै महिलातर्फ संगीताले १ मिनेट ०१.२६ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जित्दा आर्मीकै कृष्णा चौधरीले १ मिनेट ०३.६६ सेकेन्डमा निर्धारित दूरी तय गरेर रजत हात पारिन् ।

एपिएफकी दिलमाया कार्की (१ मिनेट ०४.२९) ले कांस्य पदकमा चित्त बुझाइन् । यसै गरी पुरुषको ज्याभ्लिन थ्रोमा रोहितले ५९.६९ मिटर फ्याँकेर स्वर्ण जित्दा पुलिसका वीरेन्द्र चौधरी (५३.६५)ले रजत तथा एपिएफका प्रेमप्रकाश खड्का (५१.०१) ले कांस्य पदक हात पारे ।

महिला ४ गुणा १ सय मिटर रिलेमा सेनाको टोलीले ५२.५० सेकेन्डको टाइमिङका साथ स्वर्ण पदकमा कब्जा जमाउँदा मध्य पश्चिमका प्रमिला थारु, जयरानी थारु, निरमाया बखरिया र पूजा चौधरीको टोली (५५.१४) ले रजत तथा एपिएफका दिलमाया कार्की, शिला चौधरी, सरस्वती चौधरी र भागरथी चौधरीको टोली (५६.०३) ले कांस्य पदक जिते ।

मंगलबार एपिएफका लागि गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर, शिला चौधरीले महिला ट्रिपलजम्प तथा आशिष चौधरी, नीरप्रताप महतो, शिवराज पार्की र सन्तबहादुर बुढाको टोलीले ४ गुणा १ सय मिटर पुरुष रिलेमा गरी तीन स्वर्ण पदक जिते ।

गोपीचन्द्रले ५ हजार मिटरको दूरी १५ मिनेट १९.६० सेकेन्डमा पूरा गर्दा एपिएफकै अजितकुमार यादव (१५ मिनेट २१.५७) ले रजत तथा आर्मीका रामजी बस्नेत (१५ मिनेट २८.३३) ले कांस्य पदक जिते । महिला ट्रिपल जम्पमा शिलाले १०.७७ मिटर नाघ्दै स्वर्णमा कब्जा जमाउँदा आर्मीकी संगीता मेचे (१०.४०) ले रजत तथा मध्यपश्चिमकी पूजा चौधरी (९.५८) ले कांस्य पदक हात पारे ।

पुरुष ४ गुणा १ सय मिटर रिलेमा एपिएफको टोलीले ४४.८८ को टाइमिङका साथ स्वर्ण पदक जित्दा आर्मीका यामसाजन सुनार, सर्भेस लामिछाने, आनन्ददेव चौधरी र अभिशेक चौधरी (४५.११)ले रजत तथा मध्यमाञ्चलका आशिष खत्री, राज तामाङ, अरुण महतो र चन्द्रेश्वर पटेल (४६.१२) ले कांस्य पदक जिते ।

प्रतियोगिताको अन्तिम दिन अर्को विभागीय टोली नेपाल पुलिस क्लबले दुई स्वर्ण पदक जित्यो । पुलिसका लागि महिला ज्याभ्लिनमा चन्द्रकला लामकादे (४३.४९ मिटर) ले स्वर्ण पदक जित्दा एपिएफकी सीमाकुमारी थारू (४१.९८)ले रजत तथा आर्मीकी लक्ष्मी थारू (३७.४०) ले कांस्य पदक हात पारे । त्यस्तै पुरुष ट्रिपल जम्पमा १३.९८ मिटर नाघ्दै पुलिसका चन्द्रदेव जोशीले स्वर्ण पदक जित्दा मध्यमाञ्चलका भुवन महतो (१३.८५) ले रजत तथा आर्मीका शेरबहादुर विष्ट (१३.७६) ले कांस्य पदकमा चित्त बुझाए ।

 

 

प्रकाशित: २६ पुस २०७४ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App