अपेक्षित परिणाम

बुधबार, २६ पुष २०७४, ०८ : ५६ शोभाकान्त झा


निर्वाचन परिणाम अप्रत्याशित थिएन, अपेक्षित नै थियो । कसरी र किन ? अब छलफल गरौँ ।  
विभिन्न ठूला–साना वामपन्थी दलहरूमा फरक सोच विकसित भएको मान्नु नै पर्छ । विभाजित र टुक्रिएर आआफ्नो व्यक्तिगत स्वार्थमा अल्झिएर दीर्घकालीन सत्तासुख पाउन सकिँदैन, तसर्थ स्थानीय निर्वाचनपूर्व नै वाम घटक अधिकांश दलहरूले आपसी समझदारी र सहयोगका लागि प्रतिबद्धता र वचनबद्धता स्वीकार गरे । स्थानीय निर्वाचनमा पूर्णरूपले सफल नभएकाले योजनाबद्घ र कुशल रणनीतिक तह त सम्पूर्ण राष्ट्र र प्रदेश समेतका लागि उम्मेदवारका सूची तयार पारे साथै समानुपातिकतर्फ पनि कुनै खास विवादविना सूची तयार गरी कार्यान्वयन गरे । यसले वाम दलका तल्लो तहसम्म एकताबद्घ पार्न र ठूलो मनोबलले संगठित सक्रियतासाथ सशक्त रूपमा निर्वाचन परिणामसम्म एकढिक्का भई प्रस्तुत भएको देखियो । प्रमाणका लागि म सर्लाहीवासी भएकाले क्षेत्र नं. ३ मा आजीवन मधेसवादी दलसँग आबद्घ रामेश्वरराय यादवलाई माओवादी टिकट प्रदान गर्दा मतदानको तीन–चार दिन पहिलेसम्म एमाले र माओवादी कार्यकर्ताले स्वीकार गर्न तयार थिएनन् तर अन्तिम घडीमा माथिल्लो नेतृत्वको दबाबमा मतदान गरेर विजयीसमेत बनाए ।

एमालेले भारतलाई गाली गरेर उग्र राष्ट्रवाद र राष्ट्रियताको प्रचारप्रसार गर्नमा कुनै ढिलाइ गरेन । मधेस आन्दोलनताका भारतीय सीमा नाकाबन्दीको दुष्प्रचार गरी पहाडी–हिमाली क्षेत्रमा दुःख भोगेका आम जनतामा मधेसी र भारतीय एकै मूलका हुन्, तिनीहरू हामीलाई पटकपटक दुःख दिइरहेको इतिहास छ तसर्थ यिनीहरूलाई निर्वाचनद्वारा पाठ सिकाउनुपर्छ, यस्ता विचार र धारणाले पहाड र हिमालमा नेपाली कांग्रेस जसलाई भारतीय समर्थक मानिन्छ, सफाया गर्न वामदलले कुनै कसर बाँकी राखेनन् । हिमाल र पहाडका प्रत्येक कुनाकाप्चासम्म गठबन्धनको सन्देश पु¥याउनमा अथक परिश्रम गरी संगठनात्मक शक्तिको उदाहरण प्रदर्शन गरेको झलक पाइन्छ ।

पहिलो, जेठो र इतिहास बोकेको नेपाली कांग्रेसमा जन्मकालदेखि नै गुटबन्दी देखापर्छ– डिल्लीरमण रेग्मी, मातृका, बिपी, गिरिजा, गणेशमान, कृष्णप्रसाद, देउवा, सुशील, रामचन्द्र इत्यादि । गिरिजाको अहंकार, जिद्दीपन र हठी स्वभावले पुनः प्रजातन्त्रपछि ५–६ पटक प्रधानमन्त्री त बनायो तर नेकांलाई अप्रत्यक्ष रूपमा ठूलो हानि पु¥यायो ।
मधेसी दलको जन्मका कारक तत्व गिरिजाप्रसाद नै हुन् । कोइराला वंशका उत्तराधिकारी सुशील पनि गिरिजाको पद चिन्ह पछ्याएर देउवा गुटलाई सधैँ होच्याउने काम गरे ।

सुशीलपछि देउवाले पनि कोइराला गुट समर्थकहरूलाई अलगथलग राख्दै आएका हुन् । इतिहास बोकेका पार्टीले इतिहासबाट कुनै सबक सिकेका छैनन् । त्यो लोकतान्त्रिक, प्रजातान्त्रिक र समाजवादीका नारा घन्काउने पार्टीमा आन्तरिक लोकतन्त्र नै देखापर्दैन । एक महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म राष्ट्रिय कार्यकारणीमा मनोनित हुनुपर्ने सदस्यहरूका अधिकांश पद रिक्त नै रहिरहन्छ । आन्तरिक विचार–विमर्श, आत्ममन्थन, संवाद, समीक्षा, समालोचना गर्ने परिपाटी नै छैन ।

शक्तिशाली गुटले अल्पमत गुटलाई सधैँ अपमानित गर्ने परम्परा रहेको छ । कुनै दीर्घकालीन योजना, रणनीति अर्थात् प्रस्ट भिजन, मिसन र रणनीतिको सर्वथा अभाव देखिन्छ । जहाँसम्म वर्तमान निर्वाचनमा लज्जाजनक हारका मुख्य कारण यी हुन्:  पार्टीभित्र गुटबन्दी, आआफना गुटमा टिकटका लागि लामबन्दी, त्यसभित्र तँछाड–मछाड, आ–आफना परिवार, कुटुम्ब, मित्र, साथी, सहयोगीलाई टिकट दिनु–दिलाउनु, कमसेकम समानुपातिकमा भए पनि नाम समावेश गर्नु–गराउनु, मजबुत, सशक्त गठबन्धन बनाउन नसक्नु, अन्तिम समयसम्म मधेसी दललाई अल्झाएर राख्नु, वरिष्ठ नेताहरू आ–आफनै क्षेत्र जोगाउन व्यस्त हुनु, राष्ट्रभरि एकढिक्का भई वरिष्ठ शीर्ष नेतृत्व वर्गसहित प्रचार–प्रचार नगर्नु, अन्तिम अवस्थामा उम्मेदवारहरूले पैसाको खोलो बगाए तापनि आफूहरू त्यसैमा बगेर गए ।

राप्रपा जुट्नु र टुट्नुलाई अप्रत्याशित मान्नु हुँदैन । सूर्यबहादुर र लोकेन्द्र यसै खेलबाट दुई–दुईपटक प्रम बन्न सफल भएका हुन् । कमल थापा दोस्रो संविधान सभाबाट चौथो शक्ति बन्न पुगेपछि कांग्रेस–एमाले र माओवादीहरूसँग बार्गेनिङ पद्घतिद्वारा सधैँ उपप्रम पदलाई सुशोभित गरे । उनको अन्तिम दाउ कांग्रेससँग गठबन्धन थियो । आफ्नो साथ कांग्रेससमेतलाई डुबाइछाडे । राप्रपाको ग्रासरुट छँदै छैन, सत्ताको मोजमस्ती लिइसकेका भूपूहरू सदरमुकामको चियापसलमा गफगाफ गरिरहेका भेटाइन्छ ।

इतिहास बोकेका पार्टीले इतिहासबाट कुनै सबक सिकेका छैनन् । लोकतान्त्रिक, प्रजातान्त्रिक र समाजवादीका नारा घन्काउने पार्टीमा आन्तरिक लोकतन्त्र नै देखापर्दैन ।

हम किसी से कम नही, हम बडे–हमारी पार्टी बडी, संख्या के हिसाब से मेरी जात बडी– अन्तिम मधेस आन्दोलन तथा सीमा नाकाबन्दीपछि पनि केही हात पार्न सकिएन । कांग्रेसको पछि–पछि लाग्दा पनि समय बर्बाद मात्र गरियो । हरेस खाई, पश्चिम तराईमा सेलाइसकेको मधेस मुद्दालाई थन्काएर बचे–खुचेको दुई नम्बर क्षेत्रमा यत्रो आन्दोलनको व्यक्तिगत भए पनि केही प्रतिफल त पाउनैप¥यो भनी विभिन्न गन्थनमन्थनपछि ६ वटा मधेसी दलका अध्यक्षहरूले सबै अध्यक्ष सम्बोधन हुने गरी एउटा गठबन्धन तयार पारे । राजपा नेतृत्व सामूहिक, सबै अधिकार अध्यक्ष मण्डलमा । नामका लागि अध्यक्ष मण्डलको अध्यक्षमा महन्थ ठाकुर । पार्टीको नयाँ नाम, नयाँ चिन्ह त प्राप्त भयो । तर यिनीहरूका प्रवृत्तिमा कुनै किसिमको परिवर्तन देखिएन । सबै अध्यक्षले आफ्नो परिवार, कुटुम्ब, वरिष्ठ सहयोगी साथीहरूलाई प्रत्यक्षमा नभए समानुपातिक सूचीमा नाम समावेश गर्न आकुल–व्याकुल देखिन्थे ।

कांग्रेससँग गठबन्धन हुने सकेन अनि मात्र यिनीहरू हतारहतारमा जहाँ जो भेटियो, त्यसैलाई टिकट प्रदान गरे । प्रमाण सर्लाही क्षेत्र नं. ४ मा जन्म घर नभएका, क्षेत्रमा नाम नसुनिएका राकेश मिश्रलाई टिकट दिइयो । धन्यवाद छ, ४ नम्बर क्षेत्रका मधेसी समर्थक जनतालाई जसले कांग्रेसका सशक्त नेता अमरेश सिंहलाई आच्छु–आच्छु पा¥यो । राकेशलाई मद्दत गर्न कुनै अध्यक्ष मण्डलले चासो लिएनन्, सबै आ–आफ्नै क्षेत्रमा यति व्यस्तमस्त थिए कि अरूको सम्झना भएन ।

ठीकै छ, सबै अध्यक्ष विजयी भए । स्वतःस्फूर्त मधेस आन्दोलनका स्वघोषित नायक उपेन्द्र यादव आफ्ना मधेस मुद्दासहित पूर्व मोरङ–सुनसरीबाट सप्तरीमा आए । सुनसरी, मोरङ, झापालाई मधेस मुक्त गरी नेकां–एमालेको जिम्मा लगाएर आफ्नो जीवन बिताएको विराटनगरलाई बिदा गरे । उनैका पार्टीबाट निस्केका विजय गच्छदार पुनः मुसीको भवः भनी कांग्रेसमा शरण लिए । अध्यक्ष मण्डलसहित उपेन्द्र यादवले सही ढंगले उम्मेदवार छनोटदेखि प्रचारप्रसारमा बढी सशक्त रूपमा देखापरेको भए पर्साजस्तै परिणाम आठवटै जिल्लामा आउने निश्चित थियो । रौतहटका दुई जनाले टिकटसमेत बिक्री गरेको सूचना प्राप्त भएको छ ।

मधेसका बुद्घिजीवी, मधेसका सहिदलाई यिनीहरू पूर्णरूपमा बेवास्ता गरे तापनि मधेसी जनताले सकारात्मक परिमाण दिएको मान्नुपर्छ । मधेसमा पत्नीवाद, भाइभतिजावाद, कुटुम्बवाद नै जुँगावाद हो । हुन त अरू दलमा पनि छ, तर नगण्य । जेहोस्, मधेसी जनतामा राजनीतिक परिपक्वता र ज्ञानको अभाव भनेर दोषारोपण गर्नु सरासर अनुचित देखिन्छ । यथार्थमा राजपाका अध्यक्ष मण्डल र ससफोको नेतृत्व वर्गमा अदूरदर्शी सोच र समयमा सही निर्णय गर्न सक्ने क्षमताको सर्वथा अभाव छ । नेतृत्वको कमजोरीले गर्दा नै नेकां र मधेसवादी दलले हार बेहोर्नुपरेको सत्यलाई स्वीकार गर्नैपर्छ ।

संविधानको पुष्टि गर्न भएको निर्वाचन (राष्ट्रिय सभा बाँकी) सफल रह्यो तर बढी बुद्घिवादले विनाप्राथमिक स्रोत–साधन, पूर्वाधार, जनशक्ति, भौतिक संरचनाविना स्थापित गर्न खोजिएको व्यवस्था चल्नेवाला छैन ।   






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...