समस्या बढाउने सञ्जाल

शनिबार, ०६ माघ २०७४, ०८ : २२ नागरिक


संसारको कुल जनसंख्याको ४० प्रतिशत अर्थात् करिब तीन अर्ब मानिसले सोसल मिडिया चलाउँछन् । सोसल मिडियाका प्रयोगकर्ताले हरेक दिन औसतमा दुई घन्टा सेयर, लाइक, ट्विट र अपडेट गर्दै बिताउने केही प्रतिवेदनले देखाएका छन् । हरेक मिनेटमा करिब पाँच लाख ट्विट र स्न्यापच्याट फोटो पोस्ट हुने गर्छ। 

सोसल मिडिया हाम्रो जीवनको अभिन्न अंग भइसकेका छन् । तर के यसले हाम्रो मानसिक स्वास्थ्य र खुुसीलाई प्रभाव पारिरहेको त छैन ? तथ्य र प्रमाणले के देखाउँछन् त ?

केही अध्ययनले सोसल मिडियाको प्रयोग र डिप्रेसनबीच सम्बन्ध देखाएका छन् । केही अध्ययनले भने कसरी सोसल मिडियाले राम्रो गर्न सक्छ भनी देखाउँदै छन् । सात सयभन्दा धेरै विद्यार्थीमाझ गरिएको दुई अध्ययनले कमजोर मनोदशा, मूल्यहीनता र निराशाको भावनाजस्ता डिप्रेसनका लक्षण अनलाइन अन्तक्र्रियाको गुणस्तरसँग सम्बन्धित भएको देखाएका थिए।
 

सोसल मिडिया हाम्रा लागि तुलनात्मक रुपमा नयाँ छ । सोसल मिडियाको प्रभावबारे भएका अध्ययन धेरैजसो फेसबुकमा केन्द्रित छन् । बिबिसी फ्युचरले अहिलेसम्म भएका अध्ययनका केही निष्कर्ष सार्वजनिक गरेको छ : 

तनाव
मानिसले सोसल मिडियाको प्रयोग ग्राहक सेवादेखि राजनीतिका कुरा गर्न प्रयोग गर्छन् । तर, सोसल मिडियाको फिड अर्थात् टाइमलाइन भनेको तनावको निरन्तर प्रवाह हो । सन् २०१५ मा अमेरिकाको वासिंटन डिसीमा रहेको प्यु रिसर्च सेन्टरका अनुसन्धानकर्ताले सोसल मिडियाका कारण तनाव कम हुन्छ कि हुँदैन भनी पत्ता लगाउने प्रयास गरे । 
एक हजार आठ सय मानिसमा गरिएको सर्वेक्षणमा पुरुषको तुलनामा महिला बढी तनावमा भएको देखिएको थियो । यसमा प्रमुख योगदानकर्ता भने ट्विटरलाई मानिएको छ । किनभने, तनाव लिन यसले उनीहरूलाई सहयोग गरिरहेको थियो । महिलालाई कम तनाव दिएको थियो भने पुरुषमा यो देखिएन । 

मनोदशा
सन् २०१४ मा, अस्ट्रियाका अनुसन्धाताले २० मिनेट फेसबुक प्रयोग गरेका र इन्टरनेट मात्र ब्राउज गरेकाबीच अध्ययन गरेका थिए । फेसबुक प्रयोग गर्नेको मनोदशा अर्थात् मुड तुलनात्मक रुपमा कमजोर देखिएको थियो । मानिसले त्यसलाई समयको नोक्सानीका रूपमा पनि महसुस गरेका थिए।

राम्रो र नराम्रो मनोदशा सोसल मिडिया प्रयोग गर्ने मानिसबीच पनि फैलन सक्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताले सन् २००९ देखि २०१२ को बीचमा १० करोडभन्दा धेरै मानिसका एक अर्बभन्दा धेरै भावनात्मक स्टाटसको अध्ययन गरेका थिए। 

खराब मौसमले नकारात्मक पोस्टहरू एक प्रतिशतका दरले बढाएको थियो । अनुसन्धानकर्ताले पानी परिरहेको कुनै सहरमा बस्ने एकजनाले फेसबुकमा पोस्ट गरेको एउटा नकारात्मक पोस्टले सुक्खा सहरमा रहेको साथीलाई नकारात्मक स्टाटस लेख्न प्रोत्साहन गर्ने दाबी गरेका छन् । यो प्रोत्साहनको दर १.३ गुणा धेरै हुने अध्ययनले देखाएको थियो ।
त्यस्तै, खुसी प्रस्तुत गरेका पोस्टको भने बलियो प्रभाव भएको देखाएको थियो । एउटा सकारात्मक स्टाटसले १.७५ वटा खुसीका लागि प्रोत्साहन गरेको अनुसन्धानकर्ताले बताए । सकारात्मक पोस्टले मान्छेको मनोभाव उच्च राख्न वास्तवमै सहयोग गर्छ कि गर्दैन भन्ने स्पष्ट हुन सकेको छैन ।

व्यग्रता
अनुुसन्धाताले सोसल मिडियाले उक्साएको सामान्य व्यग्रतामाथि अध्ययन गरेका थिए । यसमा बेचैनी र चिन्ता, सुत्न र एकाग्रतामा समस्या भनी वर्गीकृत गरिएको थियो । कम्प्युटर्स एन्ड ह्युमन बिहेबिअर जर्नलमा प्रकाशित एउटा अध्ययनले सात वा सोभन्दा धेरै सोसल मिडिया प्रयोग गर्ने व्यक्तिमा दुई वा सोभन्दा कम सोसल मिडिया प्रयोग गर्ने व्यक्तिको तुलनामा तीनगुणा बढी व्यग्रताको लक्षण देखिएको थियो।

सोसल मिडियाले कसरी व्यग्रता सिर्जना गर्छ भन्ने स्पष्ट भने भएको छैन । रोमानियाको बेब्स बोले विश्वविद्यालयले सन् २०१६ मा सामाजिक व्यग्रता र सोसल नेटवर्किङका विषयमा भएको सम्बन्धलाई अध्ययन गरेको थियो । यसका नतिजा मिश्रित देखापरेकाले थप अनुसन्धान गरिनुपर्ने निष्कर्ष उनीहरूको थियो।

डिप्रेसन
केही अध्ययनले सोसल मिडियाको प्रयोग र डिप्रेसनबीच सम्बन्ध देखाएका छन् । केही अध्ययनले भने कसरी सोसल मिडियाले राम्रो गर्न सक्छ भनी देखाउँदै छन्।

सात सयभन्दा धेरै विद्यार्थीमाझ गरिएको दुई अध्ययनले कमजोर मनोदशा, मूल्यहीनता र निराशाको भावनाजस्ता डिप्रेसनका लक्षण अनलाइन अन्तक्र्रियाको गुणस्तरसँग सम्बन्धित भएको देखाएका थिए । अनुसन्धाताले नकारात्मक अन्तक्र्रियामा समय बिताएहरुमा डिप्रेसनको लक्षणको तह धेरै भएको पाएका थिए। 

सन् २०१६ मा पनि यस्तै अध्ययन भएको थियो । एक हजार सात सय व्यक्तिमा गरिएको अध्ययनले धेरै सोसल मिडिया प्लेटफर्म प्रयोग गर्ने व्यक्तिमा डिप्रेसन र व्यग्रता हुने जोखिम देखाएको थियो । यसका लागि साइबर बुलिङजस्ता कारण जिम्मेवार भएको बताइएको थियो, जसमा अरुको जीवनबारे विकृत दृष्टिकोण राख्ने गरेको देखिएको थियो । उनीहरूले सोसल मिडियामा बिताएको समय खेर गएको समेत बताएका थिए । 

निद्रा
पहिले मानिसले साँझ र रात अँध्यारोमा बिताउँदै आएका हुन् । तर, अहिले हामी दिनभर र रातभर कृत्रिम प्रकाशले घेरिएका छौँ । अध्ययनले स्मार्टफोन र ल्यापटपको स्क्रिनबाट निस्किने नीलो प्रकाशले मानिसको शरीरमा निद्रा ल्याउन सहयोग गर्ने हर्मोन मेलाटनिनको उत्पादन कम गर्ने देखाएका छन् । तपाईं रातको समयमा फेसबुक र ट्विटर चलाउँदै ओछ्यानमा पल्टिनुभएको छ भने तपाईंको निद्रा खलबलिन्छ।

गत वर्ष युनिभर्सिटी अफ पिटर्सबर्गका अनुसन्धानकर्ताले १८ देखि ३० वर्ष उमेरका एक हजार सात सय व्यक्तिलाई उनीहरूको सोसल मिडिया प्रयोग र निद्राको प्रवृत्तिबारे प्रश्न सोधे । उनीहरूले दिएको जवाफले निद्रामा हुने गडबडी र नीलो प्रकाशको सम्बन्ध देखाएको थियो । 

लत
केही अनुसन्धानकर्ताले ट्विट गर्ने बानी चुरोट वा रक्सी खाने बानीभन्दा कडा लत हुने तर्क गरे पनि सोसल मिडियाको लत मानसिक स्वास्थ्य समस्याको पछिल्लो म्यानुअलमा समावेश भएको छैन । सोसल मिडिया वैज्ञानिकले सम्हाल्न सक्नेभन्दा चाँडो परिवर्तन भइरहेको र धेरै समूहले यसको प्रयोगको व्यवहारबारे अध्ययन गर्ने प्रयास गरेको केही अनसन्धानकर्ताले बताएका छन् । नेदरल्यान्ड्सका वैज्ञानिकले सम्भावित लत पहिचान गर्न आफ्नै स्केलको विकास गरेका छन्। 

सन् २०११ मा बेलायतको नटिनघम ट्रेन्ट विश्वविद्यालयका डारिया कस र मार्क ग्रिफिथले यो विषयमा अघिल्ला ४३ अध्ययनको विश्लेषण गरेका थिए । उनीहरूले सोसल मिडियाको लत मानसिक स्वास्थ्य समस्या भएको निष्कर्ष निकाल्दै यसका लागि व्यावसायिक उपचार चाहिन सक्ने बताएका थिए । सोसल मिडियाको अत्यधिक प्रयोगले व्यक्तिगत सम्बन्धमा समस्या ल्याउने, पढाइको स्तर घट्ने र अफलाइन क्रियाकलापमा सहभागिता कम हुने उनीहरूको निष्कर्ष थियो ।

आत्मविश्वास 
पहिले–पहिले कम तौल र फोटोसप गरिएका मोडलका तस्बिर युवतीको आत्मविश्वासको कारण हुने बताइन्थ्यो, तर अहिले सोसल मिडिया, यसमा उपलब्ध फिल्टर, लाइटिङ र एन्गलको सुविधाको कारण भएको बताइन्छ।

सन् २०१६ मा पेन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले सोसल मिडियामा देखिएका अन्य मानिसका सेल्फीले आत्मविश्वास घटाएको देखाएको थियो । प्रयोगकर्ताले फोटोमा खुसी देखिएका मानिससँग आफ्नो तुलना गर्नाले यसरी आत्मविश्वास घटेको देखिएको थियो । युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ओहायो युनिभर्सिटी र युनिभर्सिटी अफ लोवाका अनुसन्धानकर्ताले गरेको अध्ययनले महिलाले अरु महिलाको सेल्फीसँग आफूलाई नकारात्मक रूपमा तुलना गर्ने बताएका थिए। 

स्विडेनका एक हजार फेसबुक प्रयोगकर्तामाझ गरिएको अध्ययनमा धेरै समय फेसबुकमा बिताउने मानिसले आफू कम खुसी र कम आत्मविश्वासी भएको बताएका थिए । फेसबुक प्रयोगकर्ताले आफ्नो जीवनसँग तुलनात्मक रूपमा सफल करिअर र सुखी सम्बन्ध भएका व्यक्तिको जीवनको तुलना गर्छन्, जसले गर्दा आफूलाई कम सफल र दुःखी भएको महसुस गर्ने अध्ययनले उल्लेख गरेको छ।

खुसी
सन् २०१३ मा गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ताले ७९ सहभागीलाई १४ दिनसम्म दिनको पाँचपल्ट ‘फेसबुक कति समय प्रयोग गर्‍यौ’ भनेर सोधिएको थियो । जति धेरै उनीहरूले फेसबुकमा समय बिताएका थिए, त्यति धेरै उनीहरू दुःखी देखिए। 

अन्य अनुसन्धानले भने सोसल मिडियाले उनीहरूको खुुसी बढाउन सक्ने देखाएका छन् । बजार अनुसन्धानकर्ता जोना बर्गर र इभा बुचेलले भावनात्मक रूपमा अस्थिर भएका व्यक्तिले आफ्नो भावनाबारे सोसल मिडियामा पोस्ट गर्ने सम्भावना धेरै भएको पत्ता लगाएका थिए । यसले गर्दा उनीहरूको खुसी बढ्ने समेत उनीहरूको तर्क थियो । 

सम्बन्धहरू
तपाईं कोही साथीसँग कुराकानी गर्दै हुनुहुन्छ र कुराकानीको बीचमै उसले फोन झिकेर इन्स्टाग्राम फिड हेर्न थाल्यो वा ट्विटरको टाइमलाइन हेर्न थाल्यो, यसैबाट सोसल मिडियाले सम्बन्धलाई कस्तो बनाएको छ भन्ने बुझ्न गाह्रो हुँदैन । 
एउटा सानो अध्ययनले कुराकानीका बेला फोन चलाउँदा मात्र पनि कसरी हाम्रो कुराकानीलाई असर गरिरहेको छ भनी देखाएको छ । हामी अर्थपूर्ण केही कुराकानी गरिरहेका छौँ भने त्यसले झन् असर गर्ने जर्नल अफ सोसल एन्ड पर्सनल रिलेसनसिपले ३४ जोडीमा गरेको अध्ययनको निष्कर्ष छ। 

रोमान्टिक सम्बन्धमा पनि यसको असर निकै छ । आफ्नो पार्टनरले विपरीत लिंगीलाई फेसबुकमा साथी बनाउँदा इष्र्या बढ्ने गरेको क्यानडाको युनिभर्सिटी अफ गुल्फका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले देखाएको छ । यसमा पुरुषको तुलनामा महिलाले धेरै इष्र्या गर्ने पत्ता लागेको थियो । 

एक्लोपना
गत वर्ष १९ देखि ३२ वर्ष उमेरका सात हजार व्यक्तिमाझ गरिएको एक अध्ययनले सोसल मिडिया धेरै प्रयोग गर्नेले सामान्यको तुलनामा दुईगुणा बढी सामाजिक एक्लोपना महसुस गर्ने देखाएको थियो । अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित सामग्रीमा सामाजिक गतिविधिमा सामेल हुने, अरुसँग कुराकानी गर्ने र सम्बन्धमा भूमिका निर्वाह गर्ने प्रवृत्ति पनि घट्ने देखिएको थियो।

यसरी संसारभरका विभिन्न देशमा गरिएको अध्ययन अनुसन्धानले सोसल मिडियामा धेरै समय बिताउनाले प्रत्यक्ष अन्तक्र्रिया हुन छाड्ने र मानिसलाई आफू एक्लिएको महसुस गराउने देखाएको छ । तर, सोसल मिडिया विश्वव्यापी रूपमा नराम्रो हो भन्नु पनि गलत हुन्छ । किनभने यसको प्रयोगले संसारमा धेरै राम्रा काम पनि भएका छन् । तर जसरी हरेक चीजको अत्यधिक प्रयोग जीवनशैली र स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यस्तै सोसल मिडियाको पनि अत्यधिक प्रयोगले जीवनशैलीमा नकारात्मक असर गरिरहेको हुन्छ । सोसल मिडियाका कारण जीवनशैलीलाई धेरै हानि नपुग्ने गरी प्रयोग गर्नु उचित रहेको समेत ती अध्ययनले देखाएका छन् । 

अनुवाद : शिक्षा रिसाल 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रणवीर र आलिया प्रेममा

रणवीर र आलिया प्रेममा

बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको...

राजेश हमालले भेटे राष्ट्रकवि

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित...

नायिका निता ढुंगानासहित ४ सम्मानित

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...