१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

२ हजार ५६ मतदाता

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राष्ट्रियसभामा मतदान गर्न पाउने प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ मतदाताको नामावली सार्वजनिक गरेको हो ।
आयोगले प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषाको जनकपुरधाम, प्रदेश ३ को ललितपुरको पाटन, प्रदेश ४ को कास्कीको पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ।

संविधानअनुसार राष्ट्रियसभा निर्वाचनमा गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्न पाउने व्यवस्था छ । गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी २ हजार ५६ जना मतदाता छन्।


आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राष्ट्रियसभामा मतदान गर्न पाउने प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ मतदाताको नामावली सार्वजनिक गरेको हो।

आयोगका अनुसार प्रदेश १ बाट ३ सय ६७, प्रदेश २ बाट ३ सय ७९, प्रदेश ३ बाट ३ सय ४८, प्रदेश ४ बाट २ सय ३०, प्रदेश ५ बाट ३ सय ५, प्रदेश ६ बाट १ सय ९८ र प्रदेश ७ बाट २ सय २९ मतदाता छन्।  

निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ । आयोगले सार्वजनिक भएका मतदाता नामावलीमा परेका उजुरीउपर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी माघ ९ गते अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ।

आयोगले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ताका लागि माघ १० गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको छ । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारको विरोधमा माघ ११ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर छानबिन गरेपछि १४ गते निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । सोही दिन उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ । माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्नेछन्।

राष्ट्रपतिबाट राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएपछि पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २४ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको थियो । संविधानअनुसार स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वाचित हुनेछन् र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

प्रकाशित: ८ माघ २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App