१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोटमा क्षयरोगीको संख्या कहिले बढी कहिले कम

सदरमुकाम खलंगा स्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा क्षयरोग सम्बन्धी अन्तरक्रियाका सहभागीहरू । तस्बिर : जनक केसी

जाजरकोट – प्राय रोगको महामारीले प्रभावित भइरहने जाजरकोटमा  क्षयरोगका बिरामीहरू बढ्ने र घट्ने क्रममा रहेको पाइएको छ।

जिल्लामा क्षयरोगको अवस्था बारेमा छलफल गर्न आयोजित सरोकारवालाहरूबीचको अन्तरक्रियामा यस्तो अवस्था भेटिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका अनुसार  जिल्लामा यस वर्षको  ८ महिनामा  ८१ जना  क्षयरोगका बिरामीहरू भेटिएको  र उनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। 

जाजरकोटमा प्रति एकलाख जना मध्ये ६४ जना क्षयरोगका विरामीहरू भेटिने गरेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २०७१मा जिल्लामा  क्षयरोगीको संख्या १ सय १० , २०७२ मा १ सय ३८ र  २०७३ मा  १ सय २६ जना भेटिएको थियो। 

यस वर्ष  भने गत साउनदेखि अहिलेसम्म ८१ जना क्षयरोगीहरू भेटिएका छन्।  अहिलेसम्म भेटिएका सवैलाई  जिल्लाका ३५ वटा डट्स सेन्टरहरूमा औषधी तथा उपचार गर्ने काम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए। प्रत्यक्ष निगरानीबाट उपचार गर्ने विधिबाट सेवा लिइरहेका  जिल्लाका क्षयरोगीहरू मध्ये केहीले बिचैमा छोड्ने गरेको पनि प्रमुख नेपालीले बताए।

उनले यो वर्ष  २ जनाले  उपचार लिन छोडेको र यो क्रम विगतमा पनि रहेको  बताए। उनले जिल्लाका पाँच स्थानमा मात्र क्षयरोगको पहिचानका लागि खकार जाँच्ने  गरिएको बताए । ल्याव सुविधा भएका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरू दल्ली, गर्खाकोट र लिम्सा तथा स्वास्थ्यचौकी दसेरामा खकार जाँचेर क्षयरोगका बिरामीहरू पहिचान गर्ने गरिएको प्रमुख नेपालीले बताए । कर्णाली प्रदेशका १० जिल्लाहरु मध्ये सबै भन्दा बढी क्षयरोगका विरामी सुर्खेतमा र सवै भन्दा कम डोल्पामा रहेको पाइएको छ । स्वास्थ्य सम्बन्धी एक अध्ययन अनुसार  सुर्खेतमा एक लाखमा १ सय ६८ जना क्षयरोगीहरू भेटिने गरेका छन् भने सबै भन्दा कम डोल्पामा १७ जना भेटिने गरेका छन्।

खानामा पोषकतत्वको कमी, कुपोषणको असर, अत्याधिक धुम्रपान, मध्यपान सेवन तथा एचआइभीको संक्रमण लगायतका कारण नेपालमा क्षयरोगीका बिरामीहरू वढीरहेको जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डाक्टर केसरजंग कार्कीले बताए। उनले  नियमित उपचार र औषधीको सेवन एवम् खानपिनमा ध्यान दिए क्षयरोगबाट बच्न सकिने बताए।

जनस्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रियामा स्थानीय सरोकारवालाहरूले जिल्लाका ३१ वटा स्वास्थ्यचौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र तथा एउटा जिल्ला अस्पतालमा गरी ३५ वटा डट्स सेन्टरबाट क्षयरोगीको उपचार  भइरहेको भनिएपनि अधिकांश स्वास्थ्य सस्थाहरूमा स्वास्थ्यकर्मीहरू नियमित  रुपमा नबस्ने गरेका कारण क्षयरोगीहरूले नियमित उपचार पाउन नसकेको गुनासो गरे। 

उनीहरुले गाउँमा  स्वास्थ्यकर्मीहरू नियमित नबस्नुले क्षयरोगी मात्र होइन अन्य रोगको औषधी र उपचार पनि नियमित रुपमा पाउन नसकेको बताए । कार्यक्रमा  नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल लगायतले गाउँघरमा रहेका स्वास्थ्य संस्थाहरूमा  स्वास्थ्यकर्मीहरू नियमित रुपमा बसे क्षयरोग लगायतका अन्य रोगको पनि उपचार सहज हुने सुझाव दिए। 
 

 

प्रकाशित: १० चैत्र २०७४ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App