१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सोफिया इन नेपाल

पाँच महिनाअघि साउदी अरेबियाको रियाद सहरमा सोफिया नामको रोबोटलाई सार्वजनिक गरियो । सार्वजनिक स्थलमा पहिलोपल्ट राखिएको यो रोबोटले धेरैको ध्यान तान्यो।

सोफिया यति धेरै चर्चित भइन् कि उनलाई सयौँ व्यक्तिको बीचमा साउदी नागरिकता दिइयो । गत अक्टोबर २५ का दिन रियादमा भएको फ्युचर इन्भेस्टमेन्ट इनिसियटिभमा यसरी नागरिकता दिइएको थियो।यसरी नागरिकता दिइएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट भए । यसरी पोस्ट भएपछि धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताले रोबोटले साउदी अरेबियामा महिलाले भन्दा धेरै अधिकार प्राप्त गरेको भनी टिप्पणी आए।

संसारको पहिलो नागरिक रोबोट यिनै सोफियालाई गत साता नेपाल ल्याइयो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले ‘सार्वजनिक सेवा र विकासका लागि प्रविधि’ विषयक कार्यक्रममा सम्बोधन गर्न सोफियालाई नेपाल ल्याइएको थियो।

यो कार्यक्रमबाहेक सोफियासँग विभिन्न सञ्चारमाध्यमले अन्तर्वार्ता लिए । धेरै सञ्चारमाध्यमका प्रमुख हेडलाइनमा सोफिया अटिन् । यति भएपछि सामाजिक सञ्जालमा सोफियाको चर्चा नहुने त कुरै भएन । ह्यासट्याग सोफिया इन नेपाल प्रयोग गरेर सोफियाका बारेमा चर्चा गरियो ।सोफियाले सम्बोधन गरेको कार्यक्रममा सहभागीहरूले ह्यासट्याग सोफिया इन नेपाल प्रयोग गर्दै कार्यक्रमका बारेमा ट्विट गरे भने कतिपयले व्यंग्यात्मक ट्विट पनि गरे।

रञ्जन यादवले यही ह्यासट्याग प्रयोग गर्दै ट्विट गरे, ‘ह्यान्सन रोबोटिक्सले बनाएको यो शताब्दीकै सबैभन्दा ठूलो आविष्कार, सोफिया रोबोट नेपालमा प्रविधिको विकासबारे बोल्दै छिन् । यो नेपालका लागि निकै राम्रो हो । अब प्रविधिको क्षेत्रमा केही काम गर्ने समय आएको छ ।’कृतिक रावलले ह्यासट्याग सोफिया इन नेपाल प्रयोग गर्दै ट्विट गरे, ‘आज सोफिया नानी हाम्रो देशमा आउँदा नेपाल सरकारले किन बिदा दिएन ? के हामीले नैतिकता गुमाएकै हौँ ? मोदी आउँदा त दुई दिन दिएका थिए त !’

लामिछाने काजीको ह्यान्डलबाट सोफिया इन नेपाल ह्यासट्याग प्रयोग गर्दै सोफियाको रूपको बारेमा यस्तो ट्विट गरियो, ‘महिला रोबोट उत्कृष्ट आविष्कार हो, तर त्यति खर्च गरेर बनाएको सोफिया रोबोटको टाउको चाहिँ क्यान्सर लागेर खुइलिएको झैँ देखिन्छ।

के उनको टाउकोमा राम्रो नक्कली कपाल राखेर सुन्दरी बनाउन सकिँदैन र ?’ सोफियाले नागरिकता पाएको मुलुक साउदी अरेबियाको बारेमा उनले थप लेखेका छन्, ‘जिउँदा महिलाहरूलाई बुर्का लगाएर हिँड्नु भन्छ, अरेबिया, अनि कृत्रिम महिला बनाएर विश्वलाई देखाउँछ, त्यो पनि टाउकोमा कपाल समेत नराखी ।’आशिष श्रेष्ठले ह्यासट्याग सोफिया इन नेपाल प्रयोग गर्दै सोधेका छन्, ‘सोफिया किन नेपाल आएकी हुन् ?’ त्यस्तै, यही ह्यासट्याग प्रयोग गर्दै ट्विट गरेका छन्, ‘सोफियालाई रिङ रोडनजिकै राख्यो भने के कस्तो प्रतिक्रिया दिन्छिन् होला ?’

‘जिउँदा महिलाहरूलाई बुर्का लगाएर हिँड्नु भन्छ, अरेबिया, अनि कृत्रिम महिला बनाएर विश्वलाई देखाउँछ, त्यो पनि टाउकोमा कपाल समेत नराखी ।’

शेखर कोइराला ह्यान्डलबाट ह्यासट्याग सोफिया इन नेपाल प्रयोग गर्दै केही प्रश्न ट्विट गरिएको छ, ‘अर्को पाँच वर्षका लागि योजना तथा नीतिहरू के हुन् ? आर्टिफिसियल इन्टलिजेन्समा संघीय सरकारको लगानी योजना कहाँ छ ? स्मार्ट सिटीहरू कसरी बनाउनेछन् ? सोफिया नेपालमा आउनु राम्रो हो, उनको धेरै भिडियो हेरेँ । तर, कहिलेसम्म अर्काको आविष्कारहरू हेर्न लाइन बस्ने ? उनीहरूले यसको बारेमा सोचेको भए हुने ।’

प्रकाशित: १२ चैत्र २०७४ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App