१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पाँच वर्षमा २९ हजार दुर्घटना आठ सय ७७ मृत्यु

– गत पुस १८ गते बानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा.२२प ७४०१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडकको बायाँ भागको डिभाइडरमा ठोकियो । स्कुटर चालक उदयपुर घर भएका गोपाल आले मगर गम्भीर घाइते भए । घाइते मगरको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

– गत माघ ४ गते ठिमीचोकबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.२ज २०४१ नम्बरको ट्याक्सी र सोही दिशातर्फबाट जाँदै गरेको बा.८५प ७०४६ नम्बरको मोटरसाइकल र अर्को तर्फबाट आएको बा.४४प ५१५२ नम्बरको मोटरसाइकले जुध्दा दोलखा भीमेश्वरका रोशनकुमार बस्नेतको मृत्यु भयो।

- माघ ६ गते जोरपाटीबाट चुच्चेपाटीतर्फ जाँदै गरेको बा.३ख १३०९ नम्बरको यात्रुवाहक बसको ठक्करले ओखलढुंगा घर भई नयाँबस्ती बस्ने पासाङ डोल्मा लामा गम्भीर घाइते भइन् । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनको मृत्यु भयो।

मगर, बस्नेत र लामा मात्र होइन, उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी बर्सेनि दर्जनौँले ज्यान गुमाउने गरेका छन् । चालकको लापरबाही, अव्यवस्थित सडक, ट्राफिकको बेवास्तालगायत कारण उपत्यकामा सडक दुर्घटना भई मृत्यु हुनेको संख्या कम हुन सकेको छैन।

सडक फराकिला पार्नुका साथै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउन निषेध गरिएपछि उपत्यकामा सडक दुर्घटना कम हुने अपेक्षा गरिएको थियो । तर, गत पाँच वर्षको तथ्यांक हेर्दा उपत्यकामा सवारी दुर्घटनामा खासै कमी आएको देखिँदैन । दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि घट्न सकेको छैन ।उपत्यकामा बढ्दो सवारी दुर्घटना संख्याले पैदलयात्रु र सवारीचालकका लागि यहाँका सडक असुरक्षित बन्न थालेको पुष्टि गर्छ।

बढ्दो जनघनत्व र अत्यधिक सवारी चापले बर्सेनि दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत पाँच वर्ष सात महिना अवधिमा उपत्यकाभित्र आठ सय ७७ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा एकतिहाइभन्दा बढी पैदलयात्रु हुन्छन् । महाशाखाका अनुसार आठ सय ७७ जनामध्ये तीन सय ३६ जना (३८.३१) प्रतिशत पैदल यात्रुको मृत्यु भएको छ।

महाशाखाका एसएसपी तथा प्रवक्ता उमेश रञ्जितकार सवारीचालकको लापरबाहीकै कारण उपत्यका दुर्घटनामा बढेको बताउँछन् । ‘उपत्यकामा सवारीचालकको चरम लापरबाहीकै कारण अधिकांश दुर्घटना हुँदै आइराखेका छन्,’ उनले भने, ‘सवारीसाधनको चाप बढेअनुसार सचेतनात्मक कार्यक्रम गर्न सकेनौँ, त्यसले सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिएको हो ।’गत साउनदेखि माघ मसान्तसम्म काठमाडौं उपत्यकामा तीन हजार पाँच सय ७० वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा एक सय पाँचले ज्यान गुमाएका छन् भने एक सय १३ जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परी दुई हजार तीन सय ९६सामान्य घाइते भए ।महाशाखाका अनुसार सवारीचालकको लापरबाही, सवारीसाधनको अत्यधिक चाप, सडकको अवस्था, सवारीसाधनको तीव्र गति, ओभरटेक, ओभरलोड, यान्त्रिक गडबडी, पैदलयात्रुको गल्ती, मादकपदार्थ सेवनलगायत कारण सवारी दुर्घटना हुने गरेका छन् । पूर्वट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ उपत्यकाको सडक पछिल्लो समय असुरक्षित बन्दै गइरहेको बताउँछन्।

‘उपत्यकामा चल्ने सवारीचालकले जेब्रा क्रसमै तीव्र गतिमा हुइक्याउँछन्, त्यसले अनाहकमा पैदलयात्रुको ज्यान गइरहेको छ,’ उनले भने, ‘अन्य मुलुकमा जेब्रा क्रसमा पैदलयात्रुलाई ठक्कर दिने सवारीचालकलाई कडा जरिवाना हुने भए पनि यहाँ जेब्रा क्रसमा ज्यान मार्नेलाई समेत उही जरिवाना गरिन्छ।’

उनी राजधानीकै अधिकांश सवारीचालकलाई जेब्रा क्रस कसका लागि बनाइएको ज्ञान नभएको दाबी गर्छन् । ‘जेब्रा क्रसमा पैदलयात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन हो, नेपालमा भने जेब्रा क्रसमै पैदलयात्रु मारिने गरेका छन्,’ श्रेष्ठले भने, ‘सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या घटाउन राज्यले सडक सुरक्षा नीति नै ल्याएर अघि बढ्नुपर्छ ।’

ज्यान गुमाउनेमा पुरुष धेरै
महाशाखाका अनुसार सवारी दुर्घटना परेर ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरुष छन् । आर्थिक वर्ष ०७१÷७२ मा एक सय ३३ जनाले ज्यान गुमाएकामा ९२ पुरुष थिए । त्यस वर्ष तीमध्ये २८ महिला, नौ बालक र चार बालिकाको ज्यान गयो । आर्थिक वर्ष ०७२-७३ मा दुर्घटनामा परेर एक सय ६६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये एक सय २२ पुरुष थिए भने ३१ महिला, आठ बालक र पाँछ बालिका थिए ।आर्थिक वर्ष ०७३-७४ मा उपत्यकामा एक सय ८२ ले ज्यान गुमाएका थिए । त्यसमध्ये एक सय २४ पुरुष, ४३ महिला, १३ बालक र एक बालिका थिइन्।

महाशाखाले सहरी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित छड्के चेकजाँच गर्ने, सवारीचालक अनुमतिपत्र वितरण प्रणालीलाई व्यवस्थित गर्ने, सवारीचालक तथा पैदलयात्रुलाई ट्राफिकसम्बन्धी जनचेतना अभिवृद्धि गर्र्ने, बढी दुर्घटना हुने स्थानमा चेकिङको व्यवस्था गर्ने, रातमा सडकको लेन छुट्ट्याउने बत्ती राख्ने लगायत योजना अघि सारेको जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐनको दफा– १३७ अनुसार पैदलयात्रीले जेब्रा क्रस, सब–वे, ब्रिज वा बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्ने प्रावधान छ । तर, ऐनमा जेब्रा क्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने भन्ने प्रस्ट छैन । ऐनको दफा– १६१ अनुसार सवारीचालकले जानाजान दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भए दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था पनि ऐनमा छ ।

प्रकाशित: १२ चैत्र २०७४ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App