१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रविधिमैत्री बन्दै तनहुँ अदालत

कामु प्रधानन्यायाधीश दीपकराज जोशीको उपस्थितिमा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइराला लागूऔषध मुद्दामा भिडियो कन्फरेन्समार्फत म्याद थप गर्दै । तस्बिर:श्रीहरि/नागरिक

तनहुँ– न्यायसम्पादन छिटोछरितो एवं प्रविधिमैत्री बनाउने उद्देश्यले तनहुँ जिल्ला अदालतमा सोमबार भिडियो कन्फरेन्स सेवा शुभारम्भ गरिएको छ ।

कायममुकायम प्रधानन्यायधीश दीपकराज जोशीको उपस्थितिमा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले भिडियो कन्फरेन्समार्फत जिल्ला प्रहरी कार्यालयमा लागूऔषधको मुद्दामा रहेका बमबहादुर विकलाई मुद्दाको म्याद थप गरेका हुन् । 

कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश जोशीले समयको मागसँगै प्रविधिलाई ग्रहण गर्ने अभियानमा आपूmहरू अगाडि बढेको बताए । ‘प्रविधिलाई प्रयोग गर्ने क्रममा न्यायालय पनि अग्रसर रहेको छ, यसबाट हुनसक्ने लाभ अवश्य ग्रहण गर्नुपर्छ,’ उनले भने । सत्य पत्ता लगाउने न्यायको अभियान भएको बताए ।

कानुन र तथ्यको जगमा हराएका सत्य पत्ता लगाउने मुख्यअभिभारा न्यायसम्पादन गर्न व्यक्तिहरूको भएको कायममुकायम प्रधानन्यायाधीश जोशीको भनाइ थियो । उनले अदालतको कामलाई छिटोछरितो बनाउने भन्दैमा सत्य पत्ता लगाउन भने कञ्जुस्याइँ गर्नु नहुने बताए ।

सोमबार गृहजिल्ला तनहुँ आइपुगेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सलामी दिँदै प्रहरी जवानहरू । 

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुँडालले जिल्ला अदालत तनहुँमा शुभारम्भ गरिएको भिडियो कन्फरेन्सले न्यायका उपभोक्तालाई सेवा प्रवाहमा सहजीकरण हुने बताए । ‘समयअनुसार न्यायालय पनि प्रविधिमैत्री हुन आवश्यक भएकाले भिडियो कन्फरेन्सको शुभारम्भ गरियो,’उनले भने । 

सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायले सूचना प्रविधिको अत्यधिक प्रयोग गर्न र अदालतलाई सेवाग्राहीमैत्री बनाउन यस्तो कार्यक्रम सुरु गरिएको बताए । ‘काम कारबाहीलाई छिटोछरितो बनाउन अदालत र जिल्ला प्रहरीले मात्र गरेर हुँदैन, सबैकोसाथ र सहयोग आवश्यक पर्छ,’ उनले भने ।

तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले अब जिल्ला प्रहरी कार्यालयमा मात्र नभई तनहुँको आबुखैरेनी, डुम्रे र वेलचौतारका इलाका प्रहरी कार्यालयमा समेत भिडियो कन्फरेन्स शुभारम्भ गर्न आवश्यक रहेको सुझाव दिए । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशीले प्रदेश नम्बर ४ मै पहिलोपटक तनुहँ जिल्ला अदालत र प्रहरी कार्यालयबीच कन्फरेन्स सेवा शुभारम्भ भएको बताए। ‘हामी प्रविधिमैत्री हुनका लागि आवश्यक भएकाले जिल्ला प्रहरी कार्यालयले समेत भिडियो कन्फरेन्स कक्ष निर्माण गरेको छ,’ उनले भने । 

यसैबीच, तनहुँ जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयबीच भिडियो कन्फरेन्स सेवा शुभारम्भ भएपछि न्यायका उपभोक्तालाई प्रहरी हिरासतमा रहेको थुनुवाको म्याद थप गर्न, लागूऔषध मुद्दाको म्याद थप गर्नका लागि सहयोग पुग्ने जिल्ला अदालतले जनाएको छ । 

प्रकाशित: १२ चैत्र २०७४ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App