१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा ट्राफिक लाइट बल्न थाले

काठमाडौं- उपत्यकाका मुख्यचोकमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा उपत्यकाको सात स्थानमा नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो।

बानेश्वरचोक र महाराजगन्जमा नेपाली प्रविधिमा आधारित ट्राफिकबत्ती नयाँ जडान गरेर सञ्चालनमा ल्याइएको छ। पद्मोदय मोड, नारायणहिटीको दक्षिणगेट, सोल्टीमोड, महानगरपालिकाको कार्यालय अगाडी बागदरबार, सिंहदरबार र  सोल्टीमोड लगायतका स्थानमा पुराना ट्राफिक लाइट मर्मतसम्भार गरेर मंगलबारदेखि सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा डिआईजी सर्वेन्द्र खनालले ट्राफिक लाइट जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज हुने बताए। ‘चोकमा ट्राफिक प्रहरी खटिएर काम गर्दा कहिले काहीँ मानवीय त्रुटी हुन्थ्यो। म्यानुअल सिस्टममा काम गर्दा अब  सडक खुल्दैछ भनेर चालकहरु अर्लट हुन पाउदैनथे,’ उनले भने,‘ अब  चोक–चोकमा अटोमेटिक सिस्टममा ट्राफिक लाइट सञ्चालनमा ल्याएसँगै ट्राफिक प्रहरीबाट हुने मानवीय कमजोरी हुन पाउँदैन। जसबाट ट्राफिक व्यवस्थापनमा सहज हुनेछ।’ प्रमुख खनालका अनुसार  ट्राफिक लाइट जडान गरेसँगै चोकमा खटिने  ट्राफिक जनशक्ति अनेत्र  खटाएर ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइनेछ। ‘बानेश्वर र महाराजगन्ज चोकमा जडान गरिएको ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ । जसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र कन्ट्रोल गर्न सक्ने व्यवस्था गरिएको छ,’ सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराहीले भने,‘अब काठमाडौंको अन्य स्थानमा पनि ट्राफिक लाइट  जडान गर्ने योजना बनाएका छौं ।’ बानेश्वरमा ट्राफिक बत्ती जडान गर्न विभागले १५ लाख रूपैयाँ लगानी गरेको छ।

त्यस्तै महाराजगन्जमा ट्राफिक बत्ती निर्माणमा काठमाडौँ महानगरपालिकाले २५ लाख रुपैयाँ लगानी गरेको छ। यार्सा टेक्नोलोजी प्रालीले बानेश्वर चोकमा चार वटा  तथा महाराजगन्जमा १२ वटा ट्राफिक बत्ती जडान गरेका छन्।  ठेकेदार कम्पनीका अनुसार सोलारबाट चल्ने ट्राफिक बत्ती जडान गरिएको हो। ठेकेदार कम्पनीका सञ्चालक रामचन्द्र खड्काले ट्राफिक लाइट नेपाली प्रविधिमा आधारित भएर बनाएको बताउँछन् ।‘ ट्राफिक लाइट नेपाली प्रविधिमा आधारित भएर निर्माण गरेका हौं,’ उनले भने,‘सोलार सिस्टमबाट चल्ने ट्राफिक पूर्ण रुपमा सुरक्षित छ ।’ उनका अनुसार राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत भिभिआइपी सवारी हुँदा, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन पास गराउन चोकमा बस्ने ट्राफिक प्रहरीका लागि रिमोट कन्ट्रोलबाट ट्राफिक बत्ती सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

हाल जडान गरिएका ट्राफिक बत्तीहरू एक स्थानबाट अर्को स्थानमा लिंक गरिएका छैनन्। ‘नेपाली प्रविधिमा आधारित यो ट्राफिक बत्ती एकबाट अर्को चोकसँग लिंक गर्न सकिने व्यवस्था छ, तर, अहिले भने कुनै चोकसँग लिंक गरेका छैनौँ,’ उनले भने ।  निर्माण कम्पनीका अनुसार महाराजगन्जको ट्राफिक बत्तीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । त्यसमा सवारीसाधनले लेन मिचेको जानकारी दिने प्रविधि समेत छ ।‘महाराजगन्जमा कति र कस्ता सवारी साधन गुडे भन्ने तथ्यांक राख्ने प्रविधि जडान गरेका छौँ,’ सञ्चालक खड्काले भने, ‘कुन सवारीसाधनले लेन मिचे भन्ने भिडियो नै ट्राफिक प्रहरीसम्म पुग्नेछ ।’ उक्त ट्राफिक बत्तीको ‘रिभर्स प्रविधि’ले पैदल यात्रुका लागि कति बेला बाटो काट्ने भनेर समय समेत देखाउने छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रमुख खनालले उपत्यकाको मुख्य ३५ चोक र अन्य भित्रीचोकमा समेत ट्राफिक बत्तीको आवश्यक भइसकेको बताउँछन्। उनका अनुसार बत्ती नहुँदा ट्राफिक जनशक्ति मात्र बढी खपत भइरहेको छैन, इसाराका भरमा सवारी व्यवस्थापन गरिरहनु बाध्यता रहेको छ। ‘भर्खरै अत्याधुनिक प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्नुपर्ने हो, म्यानुअलमा  सिस्टममा ट्राफिक लाइट व्यवस्थापन गर्दै आइराखेका छौं,’ उनले भने,‘उपत्यकाको सवैजसो मुख्य चोक तथा भित्री सडकमा समेत ट्राफिक लाइट आवश्यक भइसक्यो ।’ उनका अनुसार थोरैले गर्न सक्ने कामका लागि अहिले दोब्बर जनशक्ति सडकमा खटाउनुपरेको छ।

 

प्रकाशित: १३ चैत्र २०७४ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App