१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘दुर्गमबाट आएका नेताले यहाँ घर ठडाए मात्रै’

रजिना रिमाल, गायिका

तपाईंलाई मनपर्ने सहर ?
जस्तो भए पनि आफू जन्मेको ठाउँ सबैलाई प्यारो लाग्छ । मलाई काठमाडौं नै मनपर्छ, यो मेरो जन्मथलो पनि हो । यो ठाउँलाई मैले बाल्यकालदेखि नै चिन्न पाएँ । यहाँको जीवनशैली र वातावरणसँग घुलमिल हुने अवसर पाएँ । मैले आफ्नो करिअर पनि यहीँबाट सुरु गरेँ । काठमाडौंकै कारण मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्न सकेँ । त्यसैले होला काठमाडौं यति धेरै मनपरेको।

उपत्यकाबाहिर कुन–कुन सहर घुम्नुभएको छ ?
इटहरी, धरान, भैरहवा, बुटवल, पोखरा, इलामलगायत सहर पुगेकी छु । उपत्यका बाहिरका सहर पनि हराभरा छन् । बाहिरका सहरमा उपत्यकामा जस्तो मानिसको चाप छैन, अलि खुकुला र बस्न सहज हुने खालका छन् ।

यीमध्ये कुन सहर रमणीय लाग्यो ?
पोखरा सहर सुन्दर लाग्यो । शान्त, सफा र अनुशासित सहरका रूपमा चिनिन्छ पोखरा । यहाँका होटल र घरको माथिल्लो तलाबाट हिमाल, डाँडाकाँडा र फेवाताल नियाल्न पाइन्छ । सहरको सुन्दरताबारे पोखरावासी सजक पनि छन् । यहाँ प्रदूषण निम्तिने कुनै पनि उद्योग र सवारी–साधन चलेका छैन । यहाँका संरचना पनि आकर्षक छन् ।

काठमाडौंको कुन पक्ष राम्रो लाग्छ ?
काठमाडौंमा सबथोक छ । देशका प्रमुख निकाय पनि यहीँ छन् । स्वास्थ्य र शिक्षाको क्षेत्र पनि राम्रो छ । दुर्गमबाट चुनाव जितेर आएका मुख्य नेता पनि यहीँ छन् । उनीहरू काठमाडौंमा ठुल्ठूला घर ठडाएर बसेका छन्।

राजनीतिमा जमेका छन् । तर, उनीहरूले आफ्नो कामलाई पारदर्शी बनाउन सकेनन् । १० वर्ष लगाएर बनाएको संविधानलाई व्यवहारमा उतार्न सकिरहेका छैन । आफूलाई चर्चित बनाउन बेला–बेला विभिन्न योजना ल्याएका हुन्छन् । तर, ती योजना लागू भएको भोलिपल्टै फितला हुन्छन् । कडा नियम बनाएको भए हरेक खालका योजना यसरी फेल हुँदैनथ्यो होला ।

काठमाडौं के कारण अव्यवस्थित भएको होला ?
कारण धेरै छन् । तीमध्ये सबै कारण नेतामै सम्बन्धित छैनन् । नागरिकले पनि सहरलाई बिगारेका छन् । सहरको जनजीवन निकै व्यस्त छ । मानिस सुर–बेसुरका छन् । एकले अर्कोको वास्ता राख्दैनन् । जथाभावी फोहोर गर्छन्, फाल्छन् । छिमेकीबीच आत्मीयता घटेको छ ।

यहाँको राम्रो लाग्ने पक्ष ?
यहाँको जस्तो भौगोलिक बनावट र मौसम विश्वका अन्य सहरमा पाइँदैन । यहाँ जाडोमा ठिक्क जाडो र गर्मीमा पनि ठिक्क गर्मी हुन्छ । युरोप अमेरिकातिर हिउँ परेर हैरान हुन्छ । तर, हाम्रोमा संसारकै भिन्न मौसम छ । प्रकृतिले यति धेरै सम्भावना दिँदा पनि काठमाडौंलाई सजाउन सकेनौँ । नेताहरूको त्यसतर्फ ध्यान गएन । सबैले आफ्नो दैनिकी मात्रै सपार्नतिर लागे । आज सहर बनाउँछु, सफा गर्छु भनेर कोही पनि सडकमा आएनन् । यहाँको मौसम र प्राकृतिक सौन्दर्यता विश्वमा कतै पाइँदैन । यहाँका मठ–मन्दिर र ऐतिहासिक सम्पदा मलाई राम्रो लाग्छ ।  

यहाँको प्रदूषण र भद्रगोल कम गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिले राजनीतिक दलको सोचमा स्थिरता चाहियो । सरकारी कर्मचारीले पनि पारदर्शी भएर काम गर्नुपर्‍यो । ट्राफिक प्रहरीले आफ्नो कारबाहीलाई चुस्त पार्न सक्नुप¥यो । सहरवासीको नैतिकता र आचरण ठीक हुनुपर्‍यो । त्यस्तै, सहरको कानुन र नीति–नियम कडा हुनुपर्छ । कानुनले सबैलाई बाँध्न सक्नुपर्छ । कानुन फितलो भएर पनि हो, हाम्रा सहरको विकास हुन नसकेको ।
सहरको विकास कसरी होला ?
सहर विकासका लागि राज्यका सबै निकाय पारदर्शी र चुस्त हुनुपर्‍यो । सडक विस्तारका कामलाई चाँडै सक्नुपर्‍यो । सहर आकर्षक हुन भौतिक संरचनाको ठूलो भूमिका हुन्छ । यहाँ त भवन निर्माणमा मनपरी छ।

सरकारले पनि भवन निर्माण मापदण्ड कार्यान्वयन गराउन सकेको छैन । सहर विकास हुन नीति–नियम, योजना, राज्यका निकाय र नागरिक सबै चुस्त हुनुपर्छ । देशको कानुनले समान किसिमले सबैलाई बाँधेको हुनुपर्छ, अनि मात्र सहरको विकास सम्भव छ । जबसम्म सरकारी र उच्च पदमा रहेको व्यक्तिमा अनुशासन, जिम्मेवारी र पारदर्शिता हुँदैन, तबसम्म जनताले जे गरे पनि सहरको विकास हुनेवाला छैन ।

सरकारको कस्तो कमजोरीले सहर बिग्रिएको होला ?
नेताहरूको सोच अदूरदर्शी भयो । विकास निर्माणमा सरकारले मुख्य भूमिका खेल्न सकेन । विकास गर्न भनेर सत्तामा गएका नेता र सरकारी कर्मचारीले घुस खान्छन् । यस्तो पाराले देश कहिले बन्नु ?

सहरी विकासमा सहरवासीको भूमिका के होला ?
विकासको मुद्दामा सहरवासीबीच एकता हुनुपर्‍यो । यो मेरो ठाउँ हो, यसलाई मैले नै राम्रो बनाउनुपर्छ भन्ने भावना हुनुप¥यो । सहरवासीमा अनुशासन र सहरप्रतिको माया भएको भए सहर यति साह्रै फोहोर हुँदैनथ्यो होला ।

नेपाल बाहिरका कति सहर घुम्नुभएको छ ?
दुबई, मलेसिया, कोरियो, बेल्जियम, नेदरल्यान्ड, जर्मन, स्पेन, इटालीलगायत १७ वटा देशका प्रायः सहर घुमेकी छु । मैले घुमेका देशका सहर अति नै व्यवस्थित छन् । त्यहाँका सहरलाई कानुनले बाँधेको छ । सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन ।
यीमध्ये कुन देशको सहर मनपर्‍यो ?
मलाई स्पेनको बार्सिलोना ज्यादै सुन्दर लाग्यो । यो सहरमा नेपालको जस्तै हावापानी छ । हरियाली पनि उस्तै छ । यहाँका मानिस मिलनसार छन् । एकले अर्कोको वास्ता गर्छन् । सहरवासी सबैमा अनुशासित छ ।

हाम्रा सहर र बाहिरी मुलुकका सहरबीच कस्तो भिन्नता पाउनुभयो ?
पूर्वाधार विकास र अन्य सेवा–सुविधाका हकमा विदेशी सहर धेरै नै अगाडि छन् । विदेशका हरेक सहर सुगम छन् । दुइटा ट्राफिक प्रहरीले पनि पूरै सहरलाई कन्ट्रोलमा राखेका हुन्छन् । सहरको विकासका लागि छुट्ट्याइएको बजेट फ्रिज हुन पाउँदैन । हाम्रोमा त बजेट धरी फ्रिज हुन्छ । त्यस्तै, विदेशका सहरभित्र प्रविधिको भरपूर प्रयोग भएको छ । प्राकृतिक र ऐतिहासिक रूपमा भने हामी धनी छौँ । हाम्रा सहर कला र सम्पदाले सम्पन्न छन् । यहाँको जस्तो मौलिकता अन्त पाइँदैन । यहाँका मठ–मन्दिर र दरबार विश्वकै नमुना हुन् ।

तपाईंको सपनाको सहर कस्तो होला ?
आफू बसेको मात्रै होइन, नेपालका सबै सहरमा एकैखाले सुविधा हुनुपर्छ । मलाई देशको प्राकृतिक सौन्दर्यता र हावापानी अति नै मनपर्छ । मैले यही ठाउँलाई नै सपनाको सहर ठान्छु । तर, दुःखको कुरा हामी नेपालीले समानखाले सेवा–सुविधा उपभोग गर्न पाएका छैनौँ । गाउँमा बस्नेहरू अझै पनि राज्यका अत्यावश्यकीय अधिकारबाट वञ्चित हुनुपरेको छ ।

काठमाडौंको मननपर्ने पक्ष ?
धुवाँधुलो, ट्राफिक जाम, भीडभाड र अव्यवस्थित पार्किङ नै उपत्यकालाई कुरूप बनाएको छ । यसलाई समाधान गर्ने हो भने सहर अलि व्यवस्थित लाग्थ्यो होला ।

कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
अहिले त खासै कतै जान्न । सानो छँदा घुम्न हिँड्थेँ । आजकाल फुर्सदका वेला श्रीमान्सँग फिल्म हेर्न जान्छु ।
पछिल्लो समय घुमेको सहर ?
केही समयअघि दुबई पुगेकी थिएँ । दुबईको अबुधाबी सहर निकै नै आकर्षक छ ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
नेपालकै रारा जाने मन छ ।
सहरभित्र किनमेल गर्ने ठाउँ ?
प्रायः भाटभटेनी, दरबारमार्गतिरै जान्छु । यी ठाउँमा हरेक खालका सामान पाइन्छ ।  
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: १६ चैत्र २०७४ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App