१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको जबाफ कुर्दै शकुन्तला

मलेसियामा १४ वर्षदेखि बेपत्ता कमलप्रसाद दवाडीको झापा दमक–३ स्थित घरमा बायाँबाट आमा, छोरी र पत्नी । तस्बिर : रुद्र खड्का/नागरिक

काठमाडौं – झापा, दमक–३ की शकुन्तला दवाडीलाई वर्षौंदेखि समाजमा भन्ने गरिएको ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने उखान आफ्नै जीवनमा मिल्ला कि भन्ने आशा लाग्न थालेको छ।

वैदेशिक रोजगारीमा गएर आर्थिक अवस्था सुधार्ने लक्ष्यका साथ २०६१ कात्तिक २१ गते घर छाडेका पति कमलप्रसाद घर नफर्कंदा निराश भएकी पत्नी शकुन्तलामा यतिखेर आशा जाग्नुको कारण उनकै ठाउँका केपी शर्मा ओली प्रधानमन्त्री बन्नुले हो। 

आफ्नै निर्वाचन क्षेत्रबाट विजयी ओली देशको कार्यकारी बनेपछि शकुन्तलामा वैदेशिक रोजगारीमा गएका पतिको अवस्था पत्ता लगाउन सकिन्छ भने आशा पलाएको छ। उनले यसअघि पतिको अवस्था के, कस्तो छ भनेर बुझ्न पटकपटक गरेका प्रयास असफल भएका छन्। ‘उहाँ (पति कमलप्रसाद) को अवस्था पत्ता लगाउन आफूले गरेका अनेक प्रयास विफल भएपछि अब केही हुँदैन भन्ने लागिरहेको थियो,’ उनले भनिन्, ‘केही दिनयता भने आफ्नै ठाउँका व्यक्ति प्रधानमन्त्री भएपछि गम्भीरतापूर्वक खोजी होला भन्ने आशा पलाएको छ।’ ओली प्रधानमन्त्री हुनुअघि नै शकुन्तलाले एमाले नेतालाई पतिको खोजीका लागि विवरणसहित निवेदन दिइसकेकी छन्। ‘चुनाव प्रचारका बेला पनि गाउँकै एमाले नेतामार्फत ओलीलाई मेरा पतिबारे स्मरणपत्र दिएकी थिएँ,’ उनले भनिन्, ‘एमालेका ती नेताले ओली निर्णय गर्ने तहमा पुगेपछि खोजीका लागि पहल गर्ने बताउनुभएको थियो। अब त्यो बेला आएको छ।’

चुनाव प्रचारका बेला पनि गाउँकै एमाले नेतामार्फत केपी शर्मा ओलीलाई मलेसिया गएका मेरा पतिबारे जानकारी गराएकी थिएँ। एमालेका ती नेताले ओली निर्णय गर्ने तहमा पुगेपछि खोजीका लागि पहल गर्ने बताउनुभएको थियो। अब त्यो बेला आएको छ । आफ्नै ठाउँबाट चुनाव जितेका ओली प्रधानमन्त्री हुनुभएको छ।

लीको टिममा रहेका केही व्यक्तिलाई पहिलेदेखि नै चिन्ने भएकाले यतिखेर झनै आशा बढेको शकुन्तलाको भनाइ छ। ‘हाम्रो माग ठूलो छैन,’ उनले भनिन्, ‘उहाँ जीवित रहे÷नरहेको जानकारी दिए पुग्छ।’ प्रधानमन्त्रीले गम्भीरतापूर्वक चासो दिने हो भने त्यसबारे यथार्थ खुल्ने छिमेकीले दवाडी परिवारलाई बताउँदै आएका छन्। 

छोराको अनुहार देखेर मर्ने धोको रहेको बताउने ८५ वर्षीया आमा कमलाले प्रधानमन्त्री ओलीलाई जसरी पनि खोजीमा चासो लिइदिन आग्रह गरिन्। ‘यतिखेर हामी सबैले भरोसा गरेका व्यक्ति ओली नै प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भनिन्, ‘यही मौकामा छोराको वास्तविकता खुलोस् भन्ने चाहना छ। कमाउन मलेसिया गएको छोरो  फर्केला भन्दाभन्दै १३ पुगरे १४ वर्ष हुन लाग्यो। अहिलेसम्म हारगुहार गर्दा सरकारी निकायलाई हाम्रो पीडाले छोएन। अब भने त्यस्तो नहोस्।’

छोरी साढे एक वर्ष हुँदा मलेसिया गएका कमलप्रसाद त्यहाँ गएपछि परिवारले कुनै जानकारी पाएको छैन। गाउँका कतिपय व्यक्तिले कमलप्रसादले अनेक टीकाटिप्पणी गर्छन्। दवाडी परिवार भने सरकारले चाहने हो भने कमलप्रसादको अवस्था जे भए पनि प्रस्ट हुनेमा आशावादी छ। ‘सरकारले कस्ताकस्ता समस्या समाधान गरेको सुनेका÷देखेका छौं,’ शकुन्तलाले भनिन्, ‘अहिलेसम्म उहाँको अवस्था यकिन हुन नसक्नुमा हामीलाई कमजोर ठानिएरै हो भन्ने लागेको छ।’

हालसम्म दवाडी परिवारले कमलप्रसादको अवस्था यकिन गर्न सरकारी निकायमा गरेका अनेक प्रयास सफल भएका छैनन्। दवाडी परिवारले जिल्ला र काठमाडौंस्थित सम्बन्धित सरकारी कार्यालयमा खोजतलासका लागि पटकपटक निवेदन दिएको छ। कमलप्रसाद कुन अवस्थामा वैदेशिक रोजगारीमा गएका थिए भन्नेबारे खोज्न त्यति गाह्रो देखिँदैन। कमलप्रसादलाई वैदेशिक रोजगारीमा पठाउन झापाबाट काठमाडौंसम्म ल्याउने एजेन्ट र मेनपावर कम्पनीको नाम दवाडी परिवारलाई थाहा छ। शकुन्तलाका अनुसार कमलप्रसादलाई गाउँकै नाता पर्ने निर्मल न्यौपानेले एक लाख २० हजार रुपैयाँ लिएर काठमाडौंको एसओएस मेनपावरमा ल्याएका थिए। सोही मेनपावरले कमलप्रसादलाई २०६१ कात्तिक ३१ गते मलेसियाको चुवाङपिनचर टियुवस कम्पनीका लागि उडाएको विमानस्थलको अध्यागमन रेकर्डमा देखिन्छ। कमलप्रसादसँगै एसओएस मेनपावरले अन्य १९ जनालाई पनि एउटै उडानबाट मलेसिया पठाएको थियो। पत्नी शकुन्तला सरकारी निकायले कम्तीमा एजेन्ट, मेनपावर र सँगै जाने साथीसँग सोधपुछ गर्ने हो भने वास्तविकता थाहा हुने ठान्छिन्। ‘मेरो तवरबाट सक्ने भनेको एजेन्टलाई सोधपुछ गर्ने हो,’ उनले भनिन्, ‘तर, त्यो एजेन्ट (निर्मल) उहाँलाई मलेसिया उडाइसकेपछि सम्पर्कमा छैन। काठमाडौंको मेनपावरसँग कुरा गर्दा खोजीमा आलटाल गरिदिन्छ।’ 

कमलप्रसाद मलेसिया पुगेको तीन महिनापछि एजेन्ट निर्मलले लिएको रकम फिर्ता गरिदिएपछि दवाडी परिवारको मनमा केही चिसो पसेको थियो। ‘विदेश जाँदा लागेको रकम फिर्ता गर्दा एजेन्ट नाता पर्ने व्यक्ति भएकाले साँच्चिकै सहयोग गर्न खोजेछन् कि जस्तो पनि लागेको थियो,’ शकुन्तलाले भनिन्, ‘त्यतिबेला एजेन्टले भाउजू मलेसिया जाँदा ऋण लिएको यो रकम (एक लाख २० हजार रुपैयाँ) चुक्ता गर्नू भनेका थिए । त्यसपछि एजेन्ट फर्केर आएनन्।’

ती एजेन्ट काठमाडौंमा घर बनाएर बस्छन् रे भन्ने सूचनासम्म शकुन्तलाले पाएकी छिन्। कमलप्रसाद वैदेशिक रोजगारीमा जाँदा साढे एक वर्ष रहेकी छोरी अनुशा यतिखेर १४ वर्षकी भइसकिन्। कक्षा ८ को अध्ययन पूरा गरेकी अनुशाले बेलाबेला आमालाई बुवाबारे सोधीखोजी गर्छिन्। एक कट्ठा १६ धुर जमिन र त्यसैमा जस्तापाताले छाएको घर र एउटा दुहुनो गाई शकुन्तलाको भौतिक सम्पत्ति हो। ‘गाईको दूध बेचेर तीनजनाको खर्च जुटाइरहेका छौं,’ शकुन्तलाले भनिन्, ‘गाउँकै अक्सफोर्ड इङ्लिस सेकेन्डरी स्कुलले छोरीका लागि शिक्षण शुल्क मिनाहा गरेकाले केही सजिलो भएको छ।’ कमलप्रसादकी वृद्धा आमा कमलाको इच्छा जसरी पनि नातिनीलाई १२ कक्षासम्म पढाउने धोको छ। ‘छोराले घर छाड्ने बेला आमा छोरीलाई राम्रोसँग रेखेदेख गर्नु है भनेको थियो,’ पूरै अनुहार चाउरी परिसकेकी कमलाले भनिन्, ‘छोराको त्यो वचन पूरा गर्न पनि नातिनीलाई १२ कक्षासम्म पढाउने धोको छ।’ 

प्रकाशित: १८ चैत्र २०७४ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App