१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१५ महिनामा पेट्रोलियम पदार्थ आउने

बारा – भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ।

बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतबाट पाइपलाइनका माध्यमबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निर्माणाधीन मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य पूरा भएसँगै  पेट्रोलियम पदार्थ आपूर्ति हुने बताइएको छ।

७० किलोमिटर लम्बाइको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य २०७६ साउनभित्रा पूरा हुने लक्ष्य लिएर काम अगाडि बढाइएको पाइपलाइन निर्माण कार्यमा संलग्न इन्जिनियर शरदप्रसाद पौडेलले बताए।

‘पाइपलाइनको निर्माण कार्यको ठेक्का लिएका भारतीय निर्माण कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिको प्राविधिक टोली रातदिन काम गरिरहेको छ,’ इन्जिनियर पौडेलले भने, ‘अहिले भइरहेको काम हेर्दा १५ महिनाभित्र निर्माण कार्य पूरा हुने छ।’
उक्त पाइपलाइनको ३६.२ किमि नेपालमा र बाँकी ३३.८ किमि भारतीय भूमिमा पर्ने जानकारी पौडेलले दिए।

पाइपलाइन निर्माण गर्दा प्रतिकिमि पाँच करोड भारतीय (आठ करोड नेपाली) रुपैयाँ लाग्ने अनुमान गरिएको नेपाल आयाल निगमका अधिकारीको भनाइ छ। मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण भइरहेको पाइपलाइनमा लाग्ने खर्च भारत सरकारले बेहोर्ने पौडेलले बताए।

पाइपलाइन बनेपछि अहिले रक्सौलबाट अमलेखगन्जसम्म ढुवानी गर्ने पेट्रोलियम पदार्थको लागत सस्तो हुने, ट्यांकरबाट ढुवानी गर्दा बाटोमा हुने चोरी, चुहावट र मिसावट नहुने र वीरगन्ज–पथलैया सडकखण्डको ट्राफिक जाममा तेल ट्यांकर पर्ने समस्या हल हुने विश्वास गरिएको छ।

‘विभिन्न टुक्रामा रहेका पेट्रोलियम आपूर्ति गर्ने पाइप जोड्ने कार्यमा प्राविधिक टोली व्यस्त छन्,’ पौडेलले भने, ‘पाइप जोड्ने कार्य पूरा भएपछि त्यसलाई जमिनमुनि गाड्ने कार्य सुरु गरिने छ।’ अहिले निर्माण भइरहको वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको माथिल्लो सतहदेखि २.५ मिटर जमिनमुनि पाइप राख्ने तयारी भइरहेको पौडेलले बताए।

पेट्रोलियम पदार्थ आपूर्तिका लागि जडान भइरहेको पौने ११ इन्चको अन्तर्राष्ट्रिय स्तरको पाइपलाइनबाट प्रतिघन्टा एक सयदेखि दुई सय किलोलिटरसम्म पेट्रोलियम पदार्थ मोतिहारीदेखि अमलेखगन्ज डिपोसम्म अपूर्ति गर्न सकिने पौडेलले बताए। 

पाइपलाइन बनेपछि नेपालमा खपत हुने डिजलमात्रै पहिलो चरणमा आपूर्ति गरिने योजना रहेको उनले बताए। सुरुमा डिजेल आपूर्ति भएपछि बिस्तारै ती पाइपलाइनबाट नै पेट्रोल, मट्टीतेल र हवाई इन्धनसमेत आपूर्ति गरिने छ,’ उनले भने।

२०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा आपूर्ति गरिने पेट्रोलियम पदार्थका लागि इन्डियन आयल निगमले अनुदानमा पाइपलाइन बनाइदिने घोषणा गरेका थिए। 

सन् २०१५ को अगस्त २४ मा नेपाल सरकारका तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट  पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए। उक्त पाइपलाइन ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो।

पाइपलाइन निर्माणपछि अमलेखगन्ज नेपालका लागि ‘पेट्रोलियम हब’ बन्ने छ। अमलेखगन्ज मानव बस्तीबाट टाढा र सुरक्षित स्थान भएकाले यहाँबाट पेट्रोलिय पदार्थ वितरण गर्न  उपयुक्त मानिएको छ।

पाइपलाइन निर्माण भएपछि आयल निगमको वार्षिक ७० करोड रुपैयाँ ढुवानी खर्च बच्ने अनुमान गरिएको इन्जिनियर पौडेलले बताए। ‘बन्द–हडताल हुँदा समेत भारतबाट इन्धन ओसारपसार कुनै असर पर्दैन,’ उनले भने।

इन्डियन आयल कर्पोरेसनले अनुदानमा निर्माण गरिरहेको पाइपलाइन निर्माण भएको १५ वर्षसम्म नेपाल आयल निगमले भारतसँग मात्रै पेट्रोलियम पदार्थ किन्नुपर्ने सर्तसमेत रहेको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App