१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अरुको फलो गर्नु फेसन होइन: स्नेह राणा

फेसन भन्नाले हामी धेरैजसो रुपमा पहिरन, लुगाकपडा मात्र बुझ्छौँ । के यति मात्र हो त फेसन भनेको ?
जे सुकै लगाउनु फेसन होइन तर सुहाउँदिलो तरिकाले लगाइएको जे सुकै फेसन हो । फेसन भन्नेबित्तिकै तपाईंले अरुको फलो गर्नु पर्दैन । यु क्यान क्रिएट योर ओन फेसन । अहिले यसको फेसन चलेको छ भनेर दौडेर गएर हरकोही त्यही किनिरहेको देख्छु । त्यो चाहिँ अरुको फलो गर्नु हो, फेसन गर्नु होइन । फेसन भन्नेबित्तिकै त्यहाँ तपाईंको शरीरको कुरा आउँछ, शरीरको आकारप्रकार (सेप) को कुरा आउँछ, तपाईंको उमेर आउँछ । यी सबैसँग मिल्दो लवाई नै फेसन हो ।

तपाईं कत्तिको ‘फेसन कन्सस’ ठान्नु हुन्छ ?
मलाई लुगाकपडा ज्यादै मन पर्छ । मलाई जहिले पनि पहिरनहरूलाई मिलाएर, सजाएर लगाउन आउँछ । यो एउटा वरदान नै मैले पाएको छुजस्तो लाग्छ । म सधैँ महँगो लुगा लगाउँछु भन्ने पनि छैन । म बजार गएको बेला मलाई मनपर्ने जे सुकै र जतिसुकै सस्तो चिज उठाएर ल्याउन सक्छु र त्यसलाई मिलाएर आकर्षक पहिरन बनाउन सक्छु । मानौँ, बजारमा तपाईंले ५० रुपैयाँको कुनै सस्तो कपडा पाउनु भयो, त्यो राम्रो छ र त्यसलाई तपाईंले कुनै महँगो कपडासँग मिक्स गरेर एउटा महँगो बेल्ट लगाउनु भयो र त्यो आकर्षक पहिरन बन्यो भने त्यो फेसन भयो । म त्यस्ता कुरामा सचेत छु र बनाउन सक्छु । मुख्य कुरा चाहिँ, जे लगाउँदा तपाईंको कन्फिडेन्स बढ्छ, त्यो फेसन हो । 

फेसन सेन्स भन्ने कुरा जन्मँदै आउँछ कि सिक्दै जाने कुरा हो ?
आई थिङ्क, अलिअलि कुरा जन्मदै आउँछ र पछि सिक्दै गइन्छ । तपाईंलाई कुनै कुरामा थोरै मात्र रुचि छ भने पनि तपाईंले ख्याल गर्न थाल्नुहुन्छ । सम पिपल आर गिफ्टेड, मलाई चाहिँ पहिलादेखि अलिअलि सेन्स थियो । म साथीहरुलाई हेर्थें, फिल्म तथा म्यागेजिनहरुमा आएका कुरा हेर्थें र बेस्ट चिज कपी गर्थें । 

कोही मान्छे गोडादेखि टाउकोसम्मै ब्रान्डेड चिजमा पुरिएका देखिन्छन्, तपाईंलाई कस्तो लाग्छ त्यस्तो देख्दा ?
माथिदेखि तलसम्म पूरै ब्रान्डेड चिज लगाउनेहरु पनि मैले देखेको छु । ब्रान्डेड–ब्रान्डेड–ब्रान्डेड भन्नु फेसन होइन, त्यो त म्याडनेस हो । उसलाई फेसन भन्ने कुरा थाहा छैन भन्ने बुझ्नुपर्छ । तपाईंले ब्रान्ड भन्ने कुरा एउटा देखाउने हो । जस्तो तपाईंले घडी लगाउनु भएको छ भने त्यो गज्जबको ब्रान्डेड घडी होस् या ह्यान्डब्याग बोक्नु भएको छ भने त्यो आकर्षक मात्र होइन, ब्रान्डेड पनि होस् । त्यस्तै तपाईंले बेल्ट लगाउन सक्नुहुन्छ, ब्रान्डेड तर तलदेखि माथिसम्म ब्रान्डेड–ब्रान्डेड लगाएर तपाईं स्टाइलिस बन्न सक्नुहुन्न । ब्रान्ड लगाउनु भनेको एक हिसाबले क्लास पनि देखाउनु हो । त्यो कुराका लागि तपाईंले सबै चिजमा क्लास देखाउनु भनेको ‘सो’ गर्नु हो, त्यो भद्दा हुन सक्छ ।
(के यो इन्टरभ्यु राम्रो भइरा’छ ? बीचमा स्नेहले सोधिन्, मैले आश्वस्त पारेँ, राम्रो मात्र होइन, गज्जब भइरा’छ । त्यसपछि उनी मज्जाले हाँसिन्, उनको हाँसोमा मैले पनि चर्को हाँसो थपिदिएँ ।)

तपाईंको छोरा पराक्रम शम्शेर जबरा मुम्बईकै चर्चित फेसन ब्लगर, तपाईं मेकअप आर्टिस्ट । इन्डिया–नेपाल आउजाउ गरिरहनु हुँदो हो । दुवै देशमा सर्वसाधारणको फेसन सेन्स तुलना गर्नुपर्दा के पाउनु हुन्छ ?
नेपालमा त फेसनप्रति सचेतना धेरै राम्रो छ । तपाईंले इन्डियाको म्यागेजिन, फिल्म वा टिभी हेरेर त्यहाँ राम्रो फेसन सेन्स होला भन्ने सोच्नु भएको होला तर दे आर भेरी फ्यु पिपल । सर्वसाधारण त्यति कन्सस छैनन् । हाम्रोमा त गाउँगाउँका केटीहरु फेसन कन्सस छन् । राम्री हुन रुचाउँछन् । मैले त हाम्रा ट्राफिक महिला पनि फेसन कन्सस पाउँछु । दे आर भेरी स्मार्ट । नेपालीहरु त धेरै क्लिन, निट छन् । लिपस्टिक लगाकै हुन्छन्, चिटिक्क परेर हिँडेकै हुन्छन् । इन्डियामा त्यस्तो देख्न पाउनु हुन्न । हाम्रोमा त यस्तो फेसन सेन्स ४०÷५० वर्षअघिदेखि नै थियो । हाम्रोमा पहिला हङकङबाट नयाँ फेसन आउँथ्यो । हाम्रोमा आएको फेसन नेपाल भ्रमणमा आएका इन्डियनहरु देखेर छक्क पर्थे र कपी गर्थे । अब अहिले चाहिँ त्यहाँ ठूला मल खुले, नयाँ नयाँ ब्रान्ड आए । त्यसले गर्दा हामीलाई त्यहाँ भएको चेन्जेज थाहा हुन थाल्यो तर त्यहाँभन्दा पहिला त नेपालमा फेसन क्रान्ति भएको हो । त्यसको प्रभाव भनौँ वा चिनियाँ सस्ता सामग्रीले नेपालीलाई फेसन गर्नका लागि धेरै सजिलो भयो । त्यै भएर हामी अगाडि छौँ । इन्डियामा ह्यान्डफुल (सीमित) मान्छेका बारेमा (म्यागेजिनमा) खिचिरहेको हुन्छ, देखाइरहेको हुन्छ । बाँकी ठूलो तप्का त फेसनबाट बाहिरै छ । नेपालमा हेर्नुभयो भने एउटा ट्राफिक महिलाले पनि गाजल लगाएकी हुन्छे, लिपस्टिक लगाएर चिटिक्क परेकी हुन्छे । हाम्री आन्टीहरु ६० वर्षको पुगिसक्नुभयो तर अझै पनि उहाँहरु फेसनेबल हुनुहुन्छ । त्यसैले नेपाल फेसनमा कहाँ हो कहाँ अगाडि छ ।

तपाईंलाई किनमेल गर्नुपरे कहाँ जानु हुन्छ ?
काठमाडौँमा दरबारमार्गमा जान्छु कहिलेकाहीँ तर युएस र इन्डियामा प्रायः सपिङ गरिरहेकी हुन्छु । ‘हटकोटुर’ मनपर्ने ठाउँ हो । नेपालकै पनि कतिपय ठाउँमा म गइरा’हुन्छु र नयाँ के आएछ भनेर हेरिरा’हुन्छु । दिल्लीको इम्पेरियल मलमा मेकअपका सामान लिन्छु । 

नेपालका फेसन सोमा भाग लिनुहुन्छ होला कहिलेकाहीँ, कस्तो पाउनु भएको छ ?
धेरै राम्रो भइसक्यो फेसन सोको मामिलामा । ९० को दशकमा यसले आफ्नो गति पक्डिसकेको थियो तर बीचमा के भयो कुन्नी, एकदमै सुस्तायो । पछिल्लो समय फेरि केही राम्रो हुँदै आएको छ । मेरो विचारमा सुन्दर युवतीहरु धेरैजसो विमान कम्पनीमा जागिर खान गए होला । अहिले फेरि फेसनमा सम्भावना देखेर होला नयाँ पुस्ताका राम्रा युवतीहरु आएका छन् । तिनले सोमा चार चाँद लगाएका छन् । सो राम्रो हुन थालेको छ । 

मनपर्ने ब्रान्डहरु ?
मलाई त महँगा–महँगा ब्रान्ड मनपर्छन् । कसरी भन्नु ? भन्यो भने सुनाउनलाई भनी भन्लान् !

हैन, यहाँ सुनाउनलाई नै भन्ने हो । अरुलाई थाहा होस् भनेर नै भन्ने हो नि त ?
उसो भए ठीकै छ । मेरो फेभरेट चैँ लुई भिटाँ (एलभी) र गुची । लुगाहरुमा चाहिँ कबाली । यिनीहरु देल्हीको इम्पेरियल मलमा किन्न पाइन्छ । म त्यहाँ गएका बेला यी चिजबिज किन्छु । तर मलाई सय रुपैयाँका चिजबिज लगाउन  पनि मन पर्छ । सय रुपैयाँमा त के पाउला हिजोआज ! त्यसैले हजार भन्नु पर्ला हैन ? (हाँस्दै) मलाई सस्ता चिज किन्न अप्ठेरो लाग्दैन तर मलाई मन पर्नुप¥यो र सुहाउँदिलो हुनुप¥यो ।

मासिक यति पैसा फेसनमा खर्च गर्छु भन्ने हुन्छ ? त्यसरी छुट्याउनु हुन्छ ?
म गहनाको सोखिन छैन । मलाई त्यत्ति साह्रो मन पर्दैन तर अन्य कुराका लागि महिनाको यति जति खर्च गरुँ जस्तो लाग्छ । जति गहना किन्न पैसा खर्च हुन्छ, मलाई मन परेको ब्याग किन्न त्यति नै खर्च हुन्छ । त्यसैले पैसा भेला पार्छु र ब्याग किन्छु । मसँग मेरी हजूरआमाको सानो ह्यान्ड ब्याग थियो, त्यो मैले उहाँबाट उपहारमा पाएकी हुँ । मलाई अझै पनि त्यो अत्ति मन पर्छ । त्यो ५० को दसकमा उहाँले किन्नुभएको थियो । अझै त्यो आकर्षक छ । धेरैजसो मान्छेहरु ज्वेलरी पर्सन हुन्छन्, कोही सु (जुत्ता) पर्सन हुन्छन्, म ब्याग पर्सन हुँ । (फेरि हाँस्छिन्) । मेरो सबै पैसा ब्यागमै खर्च हुन्छ । उमेर बढ्दै जाँदा अहिले त्यसको आकर्षण अलि घटेको छ । 

तपाईंलाई ब्याग मन पर्दोरहेछ, तपाईंकी छोरी सुनयनालाई ?
सद्गुरु हुनुहुन्छ नि ?

ईशा फाउन्डेसनका ? जग्गु बासुदेव ?
हो, छोरी त्यहाँको योग शिक्षक भइसकी । अब त उसलाई फेसनप्रति कुनै चासो छैन । जसरी मेरी हजुरआमाले किन्नुभएका सुन्दर ब्याग मैले पनि उपहारमा पाएकी थिएँ, म छोरीलाई दिउँला भनेर सोचेकी थिएँ तर योगिनी भइसकेपछि के चाहियो उसलाई ?

तपाईंलाई ब्यागबाहेक मनपर्ने अरु कुनै ?
अँ मलाई वाचेज (घडीहरु) मनपर्छ । ज्यादै महँगा घडीको पनि मलाई सोख छ । अफकोर्स रोलेक्स ! अनि गुब्लो र सो पार्ट पनि मलाई मनपर्छ । 

यो घडीले के गर्छ ?
तपाईंको व्यक्तित्व झल्काउँछ । यत्रो ठूलो हीरा लगाउनुभन्दा तपाईंले यी घडी लगाउँदा व्यक्तित्व झल्काउँछ । सामान्य पहिरन छ तर एउटा रोलेक्स या अरु नै केही राम्रो घडी छ भने त्यसले स्टाइल स्टेटमेन्ट दिन्छ । यसैका लागि मानिसले ब्रान्डेड चिज लगाउने हो तर फेरि पनि म भन्छु, ब्रान्डेड चिजले पुरै जिउ भर्ने चाहिँ फेसन स्टेटमेन्ट होइन । मैले यो कुरा मेरी हजूरआमाबाट सिकेको हो । केसर महल छ नि ? हो, केशर समसेर उहाँको बुबा हुनुहुन्थ्यो । उहाँले यी सबै कुरा एउटा व्यक्तित्व झल्काउनका लागि प्रयोग गर्नुहुन्थ्यो र उहाँबाट नै मैले सिकेकी हुँ । पहिलेका राणाजीहरुको स्टाइल नै बेग्लै, दे न्यु योरोपियन स्टाइल !

तपाईं फेसनका कुरा अपडेट हुन कुनै ब्लग वा वेबसाइट फलो गर्नुहुन्छ ?
नो, आई एम लेजी । तर मैले जे कुरा नयाँ देखेँ, कहीँ भने मेरो दिमागमा ठ्याक्क बस्छ र म आफैँ त्यसलाई नयाँ किसिमले इम्प्रोभाइज गर्छु । बरु म इन्स्टाग्राममा केही स्टाइलिस मानिसलाई फलो गर्छु । उनीहरुको फेसनबाट म केही सिक्ने प्रयास गरिरहेकी हुन्छु ।

तपाईंलाई मनपर्ने कुनै रङ ?
अँ, मलाई ब्राइट कलर मनपर्छ । जति ब्राइटर, मलाई उत्ति बढी मनपर्छ– ब्राइटर द बेटर ! ब्राइट येल्लो, ब्राइट पिङ्क, जस्तोसुकै कलर भए पनि मलाई ब्राइट कलर मनपर्छ ।

ब्राइटनेस चैँ किन नि ?
त्यसले मान्छेलाई झट्का दिन्छ क्या ! जति झट्का दिन्छ, त्यत्ति मलाई मन पर्छ । ब्राइट अरेन्ज, ब्राइट पिङ्क, आई लाइक् एनिथिङ् ब्राइट् । आई डोन्ट लाइक् डल, डार्क, ब्राउन एन्ड ह्वाइट् । यसले गुड् इनर्जी दिन्छ । आई फिल भेरी ह्यापी वेयरिङ इट् । तपाईंलाई भनूँ, रङले पनि इनर्जीलाई प्रभावित पारिरहेको हुन्छ नि ! 

मनपर्ने अफिसियल ड्रेस त्यस्तो केही छ ?
आई लाइक् फर्मल ब्ल्याक सुट एन्ड प्यान्ट । यो कहिल्यै पनि फेसनबाट आउट हुँदैन । डिनरमा जानुप¥यो भने यसमा एउटा स्कार्फ लगाउनुस्, स्टाइलिस् भइहाल्छ । 

क्याजुअलमा तपाईंलाई मनपर्ने ?
म त क्याजुअल वेयरिङ एकदमै मन पराउँछु । जस्तोसुकै क्याजुअल वेयर मलाई मन पर्छ । 

पार्टीमा जानु प¥यो भने ?
सर्ट, प्यान्टमा जान मन पर्छ ।

सपिङ गर्न कत्तिको रुचाउनुहुन्छ ?
म त सपोहलिक नै हुँ तर म जे पायो त्यै किन्दिनँ । मलाई के किन्नु छ भन्ने कुरा मलाई ठ्याक्कै थाहा हुन्छ । म जे कुराको पनि एक जोर लिन्छु । मलाई कुनै पेन्ट मनप¥यो भने त्यसको दुई वटा लिइहाल्छु । 

सपिङ गर्दा एक्लै जान रुचाउनु हुन्छ कि परिवारसित ?
म एक्लै सपिङ गर्न रुचाउँछु किनभने आफूलाई चाहिएको के हो भन्ने मलाई थाहा हुन्छ । अरुलाई सोधिराख्तिन । कसैले मन नपराउला कि यो पहिरन भनेर म दुविधामा कहिल्यै पर्दिनँ । मलाई त्यो चिज मन प¥यो भने किन्छु । आफूलाई मन पर्दैन तर अरुलाई मन पर्ला भनेर किन्दिनँ ।

परिवारको सपिङ गर्नुप¥यो भने ?
हैन, मेरो परिवारमा अहिले त आफ्नो चिज आफैँ किन्ने बानी परिसक्यो । छोराले पनि चाहियो भने पैसा माग्छ, आफैँ किन्छ । ऊ त झन् बढी स्टाइलिस् छ । छोरी त आश्रममा बस्ने मान्छे, सलवार कुर्ता भए पुगिहाल्छ ।

कुनै व्यक्ति देख्नु भयो, ठ्याक्क दिमागमा के आउँछ ?
आफ्नो–आफ्नो दिमाग हुँदो हो । जस्तो कुनै मान्छे देखेँ भने उसको अनुहारमा जान्छ । हरे, उसको यति राम्रो अनुहार छ, त्यसलाई किन ख्याल नगरेको होला भन्ने सोच्छु । मैले मेकअप गर्ने भएँ भने यसरी गर्थें हुँलाजस्तो लाग्छ । 
तपाईं आफू मेकअप आर्टिस्ट भएकाले अरुको अनुहार कसरी राम्रो बनाउने भन्नेतिर ध्यान जानु स्वाभाविक हो । नेपालीमा राम्रो र राम्री बन्ने कुरा फेसनमा त ध्यान दिन्छन् तर मेकअपमा चाहिँ कत्तिको ध्यान गएको देख्नुहुन्छ ?
१५ वर्षअघि जब मैले मेकअपबारे तालिम लिएर नेपाल आएँ, कसैको अनुहारको मेकअप गर्ने कुरा नेपालमा नयाँ थियो । तपाईंको ब्युटी पार्लर नभएका होइनन् तर ब्युटी पार्लरमा मेकअपलाई आर्टका रुपमा हेरिदैन । मेकअप एउटा कला हो, आर्ट हो । सबै ब्युटीपार्लरका मान्छेहरु आर्टिस्ट हुन् भन्न सकिन्न । ब्युटिसियन र मेकअप आर्टिस्टमा फरक हुन्छ । मलाई पनि ब्युटिसियन ठान्नेहरु धेरै देखेँ । आई वन्ली डिल विद् फेस । पछि टेलिभिजनहरुमा मेकअप आर्टका बारेमा मेरो अन्तरवार्ता हेर्दाहेर्दा धेरैलाई थाहा भइसक्यो, मेकअप आर्ट र ब्युटी पार्लर फरक रहेछ भनेर । पछिल्ला १० वर्षमा धेरै मेकअप आर्टिस्ट आइसके । यो धेरै राम्रो कुरा हो । एक समय त सबै जना मकहाँ आउँथे । अहिले छनोटको अवसर धेरै भइसक्यो । 

मेकअपमा मात्र होइन, अहिले त तपाईंले आर्टको फिल्डमा नेपालीले धेरै प्रगति गरिसके । उत्तिकै राम्रो स्वर भएका गायक कलाकार जन्मिएका छन्, उत्तिकै राम्रो बजाउनेहरु छन् । सबै क्षेत्रमा प्रगति भएको छ । ह्विच इज् भेरी गुड एन्ड आम् भेरी ह्यापी ।

मेकअप आर्टिस्टको नि ?
हेर्नुस्, नेपालका अधिकांश ब्युटी पार्लरमा राम्रो सेन्स भएकाहरुले काम गरिरहेका छन् । दे आर भेरी हार्डवर्किङ एन्ड इन्ट्युटिभ आर्टिस्ट तर उनीहरुले जुन प्रडक्ट प्रयोग गर्छन्, त्यसको क्वालिटी राम्रो हुँदैन । त्यसले गर्दा अनुहार सेत्तै हुन्छ । यो उनीहरुको गल्ती होइन, यो प्रडक्टको गल्ती हो । सबैले हाई क्वालिटीको प्रडक्ट प्रयोग गर्न सक्तैनन्, महँगो हुन्छ । त्यसैले राम्रो मेकअप आर्टिस्टले महँगो प्रडक्ट प्रयोग गर्न रुचाउनुको पछाडि अनुहारको त्वचाको रक्षा र अनुहार राम्रो देखाउनु पनि हो । एउटा आर्टिस्टले दुवै कुरा ख्याल गर्छ । यस्तो ख्याल अन्यले पनि गर्छन् तर महँगो प्रडक्टका कारण सम्भव हुँदैन । तर मैले जति पनि नयाँ पुस्ताको मेकअप आर्टिस्ट देखेको छु, उनीहरु ट्यालेन्टेड छन् ।

तपाईंलाई कुन बेला मेकअप आर्टको बारेमा सिक्छु भन्ने चाहिँ कुन बेला लाग्यो ?
मेरा दुवै छोराछोरी बोर्डिङ स्कुलमा गएपछि म खाली भएँ अनि के गर्ने भन्दा मैले यसमा आफ्नो सम्भावना खोजेँ । त्यो बेला ३३ वर्षको थिएँ । म केमा राम्रो छु भन्ने खोज्दै जाँदा मलाई आर्टमा रुचि भएको पाएँ । मलाई अफिसको ९–५ काम मन पर्दैनथ्यो । त्यसैले सन् २००३ मा म बम्बे गएँ, मार्वी बेक र करी वालियासँग तालिम लिएँ । सुरुमै म त लेक्मे फेसन विकमा मेकअप आर्ट गर्न पाएँ । त्यो मेरालागि ठूलो प्लेटफर्म थियो । त्यत्रा सुपरमोडलहरुलाई मेकअप गरिदिनु पथ्र्यो, हात बसिसकेको थिएन तर पनि गरेँ । त्यसले मलाई एउटा नयाँ कन्फिडेन्स दिलायो । नेपाल फर्कनेबित्तिकै मिस नेपाल २००३ मा मेकअप आर्टिस्टको काम पाएँ । त्यो बेला प्रीति सिटौला मिस नेपाल भइन् । मैले नयाँ बहिनीहरुलाई मिस नेपालका प्रतियोगीलाई कसरी आर्ट गर्ने भनी सिकाएँ, आफैँले पनि गरेँ । यसले मेरो हात बसायो ।

यस्तो आर्ट बनाउने कला चाहिँ कसरी तपाईंमा आयो ?
म नैनीताल (इन्डिया)को स्कुलमा पढ्दा प्रशस्त आर्ट गर्थें । मैले त्यहाँ इन्करेज्मेन्ट पाएँ तर मेरो त्यो आर्ट मेकअप गर्दा अझ फक्रियो । मलाई मेरो इन्डियामा भएको कजिनले भन्थिन्, ‘नेपालमा केही फरक गर, इन्डियामा त भिड नै छ तर त्यहाँ कोही छैन । तिमीले ग¥यौ भने पहिलो हुन्छ्यौ ।’ नभन्दै मैले फरक तरिकाले गरेको मेकअप आर्ट नयाँ भइदियो । 

नेपाली फिल्म हेर्नुहुन्छ ?
अँ, हेर्छु । पछिल्लो समय ‘ऐश्वर्य’ हेरेँ, नेपाली फिल्म इज् इम्प्रुभिङ भन्न सकिन्छ । ‘सानो संसार’ पनि हेरेको थिएँ, मन परेको थियो । तपाईंले फिल्म, म्युजिक, आर्ट जे सुकै विषयमा नेपालीले इम्प्रुफ गरिराछन् । मलाई खुसी लाग्छ ।

तपाईंले इन्डियाका लेक्मे फेसन विक र अन्य केही फेसनका कार्यक्रम हेर्नुभएको होला । नेपाली फेसन सो र त्यहाँ के फरक पाउनुहुन्छ ? सुधार गर्नुपर्ने के देख्नुहुन्छ ?
नेपालमा केही सीमित डिजाइनर छन्, तिनले राम्रै गरिरहेका छन् । यस्तो राम्रो गर्ने डिजाइनरहरु बढ्नुपर्छ । फेसन पढिरहेका विद्यार्थीहरुले आफूलाई स्थापित गर्न लागिपरेका छन् । त्यो म देखिरहेको छु । मलाई ठीक लागिरहेको छ । 

तपाईंको घरमा किताबैकिताब देखेँ, सजाउनु मात्रै हुन्छ कि पढ्नु पनि हुन्छ ?
इट् इज माई ड्याडीज् (ससुरा बुबा) कलेक्सन । म पनि पहिला धेरै पढ्थेँ । अचेल चाहिँ पढ्न कम भएको छ । मेरी छोरीले मेरो पढाइ सुस्त भएको देखेर पढ्नू भनेर कर गरिरहन्छे । पाँच वर्षयता कम भएको हो । फोनमै कतिपय कुरा पढिराखेको हुन्छु तर किताब पढ्न चाहिँ कम भएको छ । बच्चाबेलामा धेरै अटोबायोग्राफी, बायोग्राफी पढिन्थ्यो । त्यै भएर मलाई अहिलेसम्म पनि त्यस्ता कुरामा रुचि छ । मैले पछिल्लो समय ‘कुमारी’माथि लेखिएको किताब पढेकी थिएँ । मलाई ज्यादै छोयो । हरेक युवापुस्ताले कुमारीको मूल्य र मान्यता बुझ्नुपर्छ भन्ने लाग्छ ।  

अब म तपाईंलाई क्लिसे कोइस्चन गर्छु, तपाईं यो उमेरमा (४०) पनि सुन्दर देखिनुभएको छ । कसरी सम्भव भयो ?
म स्ट्रेस लिन्नँ ।
त्यसो भनेर कहाँ हुन्छ, हरेक दिन केही न केही कुराले तपाईंलाई तनाव त दिएकै हुन्छ नि, होइन र ?
हो तर म त्यसैलाई लामो समयसम्म लिन्नँ, म त्यसैमा रुमलिन्नँ । जब तपाईं लामो समय चिन्ता गर्नुहुन्छ, त्यसैमा हराउनुहुन्छ, तपाईंले रोग पाल्न थाल्नुहुन्छ । तपाईंको स्वास्थ्यका लागि यो धेरै हानिकारक हुन्छ ।

तपाईंले भन्न खोज्नुभएको, घरमा लोग्ने–स्वास्नीबीच पनि ठाकठुक हुँदैन हो ?
त्यस्तो होइन, तर यसलाई ठाकठुककै लेभलमा छोड्नुपर्छ । बेस्कन तनाव हुने लेभलमा ठाकठुकलाई लैजानु हुन्न । आजको आजै सक्नुपर्छ । सबैभन्दा ठूलो कुरा के हो थाहा छ ? सबैभन्दा ठूलो दुर्भाग्य तपाईंको बोली र प्याच्च बोल्ने बानीले ल्याउँछ । त्यसलाई नियन्त्रण गरेपछि सबै कुरा ठीक ठाउँमा हुन्छ । यसका साथै म मज्जाले हाँस्छु, देखिहाल्नुभयो । त्यस्तै छोरीका कारण कसरी मेडिटेसन र योग गर्ने भन्ने सिकेकी छु । खान्कीमा हामी तेल कमै प्रयोग गर्छौं, हाम्रोमा बडा सादा खाना हुन्छ । म ज्यादै बढी पानी पिउँछु । चियाकफी खान्न, सुगर इज् द वस्र्ट । अनुहारका लागि सूर्य खराब हो, बाहिर जानु पर्दा जहिले पनि सन्सक्रिम लगाउँछु र अरुले पनि लगाउनु पर्छ ।

मैले कतै पढेको थिएँ, तपाईं सुन्दर हुनुहुन्छ भने तपाईंको आमाबुबाको ‘जिन’लाई धन्यवाद दिनुस् । तपाईं यस भनाइमाथि केही टिप्पणी गर्न चाहनुहुन्छ ?
त्यो त नम्बर एक कुरा भइहाल्यो । जब तपाईं राम्रो जिन लिएर जन्मनुभएको छ भने दोस्रो नम्बरमा तपाईंले यसको रेखदेख र ख्याल त राख्नैपर्छ किनभने दूध छ भन्दैमा डोकोमा अडिदैन भन्ने त सुन्नुभएको होला । त्यसैले यसलाई कायम राख्न दैनिक सन्सक्रिम लगाउँछु, घरैभित्र छु भने पनि म त्यो क्रिम लगाउन बिर्सन्न । एकचोटी दाग आउन थाल्यो भने त्यसलाई रोक्न तपाईंले धेरै मिहिनेत र पैसा खर्च गर्नुपर्ने हुन्छ । तपाईं पुरुष हुनुहुन्छ भने पनि तपाईंले आफ्नो छालाको ख्याल राख्नुपर्छ । तर एउटा कुरा के ख्याल राख्नुपर्छ भने, हामीले आन्तरिक रुपमा लिने कुराले ८० प्रतिशतले काम गरिरहेको हुन्छ, एक्सरसाइज, योग भन्ने कुरा चाहिँ २० प्रतिशत मात्रै हो । तपाईं आन्तरिक रुपमा शान्त हुनुहुन्छ भने कम एक्सरसाइज गरे पनि हुन्छ तर खान्कीमा सचेत हुनुपर्छ । तपाईंको पेटलाई जे पायो त्यही खाएर डस्टबिन बनाउनु हुँदैन । म कहिले पनि क्यालोरी काउन्ट गर्दिन तर जे खान्छु स्वस्थकर खान्छु । यही नै हो, मेरो सौन्दर्यको ‘राज’ ।

मेकअप आर्टिस्ट राणासँग परिवार मासिकका अच्युत कोइरालाले कुराकानी गरेका हुन् । सबै तस्बिर:कृपा श्रेष्ठ

प्रकाशित: १८ चैत्र २०७४ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App