१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मीराको तिथिमा यशोदाको बिदाइ

काठमाडौं – नेपालमा ‘मित्रता’को कुरा गर्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’लाई उदाहरणका रुपमा लिइन्छ । कलाकारिताको लामो यात्रा सँगै तय गरेका दुवैका श्रीमति पनि यो यात्राका साक्षी थिए।

हरिवंश पत्नी मिरा आचार्य र मदनकृष्ण पत्नी यशोदा सुवेदी दुवैले महको कला यात्रा यो उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए र श्रीमान् झैं दुवैको मित्रता पनि लोभलाग्दो थियो। तर मंगलबार यशोदा सुवेदीले देहत्याग गर्दा, संयोगले मिरा आचार्य पनि जोडिन आइपुगिन् । यशोदाले देहत्याग गर्नका लागि त्यही दिन छानिन् जुन दिन सखी मिरा आचार्यको तिथि थियो ।  सात वर्षअघि निधन भएकी हरिवंशकी श्रीमती मीरा आचार्यको मंगलबार नै श्राद्धको तिथि परेको थियो।

अब जुन दिन यमन श्रेष्ठले आमा गुमाएको दिन सम्झनेछन् त्यही दिन मोहितवंश आचार्य र त्रिलोक आचार्यले पनि आमाको सम्झना गर्नेछन् । जसरी महको मित्रता आम नेपाली जनमा उदाहरणीय छ त्यसरी नै यो संयोग पनि दुवैका पत्नीबीचको मित्रताको उदाहरण हो । त्यसरी नै यो दिन महको परिवारमा एकै दुःख दुई परिवारमा परेको दिनको रुपमा समेत स्मरणीय रहनेछ।

लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाको ६७ वर्षको उमेरमा सोमबार बेलुकी ललितपुरको हरिसिद्धी क्यान्सर अस्पतालमा निधन भएको थियो । उनको मंगलबार नै पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिएको छ। यशोदा पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सोको क्यान्सर र अन्तिममा मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् । उनलाई पशुपति आर्यघाटमा छोरा यमनले दागवत्ति दिए । उनलाई श्रद्धाञ्जली दिन कला क्षेत्रका तमाम मानिस आर्यघाटमा भेला भएका थिए।

यशोदाले देहत्याग गर्न त्यही दिन छानिन् जुन दिन सखी मिरा आचार्यको तिथि थियो ।  सात वर्षअघि निधन भएकी हरिवंशकी श्रीमती मीरा आचार्यको मंगलबार नै श्राद्धको तिथि परेको थियो । अब जुन दिन यमन श्रेष्ठले आमा गुमाएको दिन सम्झनेछन् त्यही दिन मोहितवंश आचार्य र त्रिलोक आचार्यले पनि आमाको सम्झना गर्नेछन्।
 

हरिवंश आचार्यले यशोदा भाउजुको निधनले घरको परिवार नै गुमेको महसुस भएको बताए ।
‘सबैलाई थाहा छ, मदन दाइ र हाम्रो परिवार एक जस्तो थियो । मलाई घरकै सदस्य बितेको महसुस भएको छ । भाउजु बितेको कुरा म कसरी शब्दमा व्यक्त गरुँ,’ आचार्यले भने ।
महको कलायात्रालाई पर्दापछाडि बसेर उचाइ प्रदान गर्ने यशोदा हाल प्रदर्शन भइरहेको फिल्म ‘शत्रु गते’को निर्मातामध्ये एक हुन् ।

फिल्मका निर्देशक प्रदीप भट्टराईका अनुसार यशोदालाई फिल्म हेर्ने इच्छा थियो । ‘फिल्म रिलिज भएपछि पाएको सफलताले यशोदा भाउजु खुसी हुनुहुन्थ्यो । उहाँले मलाई भेट्ने चाहना राख्नुभएको रहेछ,’ प्रदीपले सम्झिए, ‘शत्रु गतेको कामले गर्दा उहाँसँग पछिल्लो समयमा प्रत्यक्ष भेट नभए पनि फोनमा नियमित कुराकानी हुन्थ्यो।’

प्रदीपका अनुसार यशोदाले आफ्नो नाम फिल्ममा आएको छ भन्ने सुनेपछि उनले छोरीलाई त्यो हेर्ने चाहना राखेकी रहिछन् । छोरीले हलमा गएर यशोदाको नाम आएको दृश्य खिचेर अस्पतालमा देखाएपछि यशोदा निकै खुसी भएकी थिइन्।

प्रदीपले कलाकारको श्रीमति भए पनि दुवैले कहिलै पनि अभिनयमा चासो नराखेको बताए । मदनकृष्णका छोरा यमन गायन र अभिनय तथा हरिवंशका छोरा मोहितवंश अभिनयमा देखिए पनि उनीहरूका आमा अभिनयबाट टाढै बस्न चाहन्थे । ‘मदन दाइ, हरिदाइले कहिले काहिँ लुकेर दुवैले गरेको काम खिचेर सिरियलमा देखाउनु हुन्थ्यो । त्यो देख्दारिसाउनुहुन्थ्यो,’ प्रदीपले भने, ‘उहाँहरूलाई किन अभिनयमा रुचि थिएन त्यो चाहिँ मैले बुझ्न सकिनँ।’

मदनकृष्णले आफ्नो आत्मकथा ‘महको म’मा यशोदासँग आफ्नो भेट २०२६ सालमा भएको उल्लेख गरेका छन् । ‘सञ्चय कोषमा भर्ना भएका चारमध्ये एउटी केटी एकदम राम्री, उज्याली, हँसिली, लजालु, अड्कलेर बोल्ने र नम्र स्वभावकी थिइन्।

तिनको नाम यशोदा सुवेदी रहेछ भन्ने पत्तो पाइहालें । उनको घर कुपण्डोल रहेछ । र, उनी न्यायाधीश बाबुराम उपाध्याय सुवेदीकी छोरी रहिछिन्,’ उनले लेखेका छन्, ‘पहिलो भेटपछि नै यस्ती राम्री केटीसँग बोल्न पाए नि हुन्थ्यो, कुरा गर्न पाए नि हुन्थ्यो, मैले काम गर्ने शाखामै सरुवा गरेर पठाइदिए नि हुन्थ्यो भन्ने लाग्न थाल्याे।

नभन्दै एकाध दिनपछि मै काम गर्ने कोठामा, अझ मैले नै काम गर्ने शाखामै पो उनी खटिएर आइन् । आफ्नै सामुन्नेको टेबलमा बसेर तिनले काम गर्नुपर्ने थाहा पाएपछि झनै मन उज्यालो भयो ।’मदनकृष्णले पुस्तकमा ‘सुटिङ हो कि साँच्चैको बिहे ?’ शीर्षकमा आफ्नो विवाह प्रसंगलाई पनि उल्लेख गरेका छन्।

‘हामी सँगसँगै हिँड्न थालेको तीन वर्ष नाघिसकेको थियो । अब कति दिनसम्म यसरी गुपचुपगुपचुप भएर हिँडिरहने त ? के जिन्दगीभर त्यसरी हिँडी मात्रै रहने ? घरबाट हामीलाई बिहे गरिदिने सम्भावना छँदै थिएन । हामी दुवै निष्कर्षमा पुग्यौं, अब हामी आफैं तात्नुप¥यो,’ आफ्नो साथीहरुसँग विवाहका विषयमा छलफल गरिएको जनाउँदै मदनकृष्णले लेखेका छन् पुस्तकमा मदनकृष्णले सूर्यविनायक मन्दिरमा केही साथी लगेर यशोदासँग विवाह गरेको उल्लेख गरेका छन्।

मदनकृष्ण नेवार र यशोदा बाहुन भएका कारण दुवै परिवारले सम्बन्ध नस्वीकार्ने देखेपछि दुवैले सुटुक्क विवाह गरेका थिए । यशोदाको माइतीले धेरै वर्षसम्म पनि मदनकृष्णसँगको विवाहमा चित्त नबुझाएको मदनकृष्णले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्।

यशोदालाई श्रद्धाञ्जली दिन मंगलबार अन्तिम बिदाइ गर्न आर्यघाटमा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति थियो । मदनकृष्णका सहपाठी हरिवंश मदनसँगै अस्पतालबाट शव लिएर आर्यघाट आएका थिए । श्रद्धाञ्जली दिन शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, पल शाह, अशोक शर्मा, वसन्त श्रेष्ठ, स्वेता खड्का, ऋषि लामिछाने, सरिता लामिछानेलगायतका कलाकार आर्यघाट पुगेका थिए।

प्रकाशित: २१ चैत्र २०७४ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App