१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दुई हजार बाँसको प्यारापिट

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपका लागि इलामको ठूलो टुँडिखेलमा बाँसको प्यारापिट बनाइँदै। तस्बिरः नागरिक

इलाम – सदरमुकामको ठूलो टुँडिखेलमा बाँसका हजारौं खाँबाखुट्टी गाडिएका छन् । खाँबाखुट्टीमाथि अर्काे बाँस तेर्याएर नरिवलको डोरीले कसी–कसी बाँध्न भ्याइनभ्याइ छ कालिगढलाई । नजिकै बजारको ढलमा बगेको पानी प्रशोधन गरी मैदानको दुबोमा सिँचाइ गरिँदै छ । अनि, सामाजिक सञ्जाल प्रयोगकर्ता इलामेको ‘पेज’ रंगिएको छ गोल्डकपको टाइसिट र टुँडिखेलका तस्बिरहरूले।

वैशाख ६ मा सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको चाड लागेको छ यति बेला इलामलाई । इलाममा हरेक वर्ष महासंग्रामकै रूपमा आयोजना गरिने माइभ्याली गोल्डकपको तयारी धमाधम भइरहेको हो।

मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण भइरहेको छ । मैदानको माथिल्लो भागमा माटोको प्यारापिट भए पनि तीनतिरको भागमा बाँसको प्यारापिट निर्माण भइरहेको आयोजक माइभ्याली फुटबल क्लबले जनाएको छ । ‘मैदानमा प्यारापिट बनाउन २ हजार घना बाँस किनेका छौं,’ आयोजक क्लबका सचिव दिनेश काफ्लेले भने, ‘यो वर्ष मात्रै ८ लाख रुपैयाँ खर्चेर प्यारापिट निर्माण गरिँदै छ ।’ निर्माणको काम चैत मसान्तसम्ममा सक्ने लक्ष्य रहेको उनले जनाए।

प्यारापिट बनाउन १ लाख ९५ हजार रुपैयाँमा ठेक्का दिइएको हो । प्रतियोगितामा आउने दर्शकको सहजताका लागि मैदानको तीनैतिर प्यारापिट बनाइरहेको क्लबले जनाएको छ । ‘अहिलेसम्मका संस्करणमा फाइनलको दिन १० हजारसम्म दर्शक भेला भएकाले त्यही क्षमता हुने गरी प्यारापिट तयार गरिँदै  छ,’ क्लबका कोषाध्यक्ष कमल सुवेदीले भने, ‘फाइनलअघिका प्रतियोगितामा पनि ४ देखि ७ हजारसम्म दर्शक दिनहुँ आउने गरेका छन् ।’ उनले टिकट बिक्रीका आधारमा दर्शकको संख्या अनुमान गरिएको जानकारी दिए।

‘अहिलेसम्मका संस्करणमा फाइनलको दिन १० हजारसम्म दर्शक भेला भएकाले त्यही क्षमता हुने गरी प्यारापिट तयार गरिँदै  छ।’

माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार (प्रथम पुरस्कार नगद ५ लाख) को प्रतियोगिता हो । सदरमुकामको टुँडिखेलमा वर्षभर अन्य ठूला प्रतियोगिता सञ्चालन नभए  पनि माइभ्याली गोल्डकप हरेक वर्ष चाडझैं लाग्ने गरेको छ । आयोजक प्रतियोगिताको तयारीमा जुटेको छ भने जिल्लाबासीहरू त्यसको प्रचार र सहयोगमा।

यो पटकको प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ए–डिभिजनसहित १२ टिम सहभागी हुँदै छन् । ३ विभागीय टिम नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्री स्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघ प्रतियोगितामा भिड्दै छन् । आयोजकले वैशाख ६ देखि १५ सम्म हुने सेमिफाइनलसम्मका खेल र १७ गते हुने फाइनल खेलसहितको खेलतालिका सार्वजनिक गरिसकेको छ।

आयोजकले यस पटक सबैखाले पुरस्कार राशि बढाएको छ । गत वर्षसम्म रहेको प्रथम पुरस्कार राशि ४ लाखबाट अहिले ५ लाख बनाइएको छ । उपविजेताको पुरस्कार पनि अढाई लाखबाट ३ लाख नगद पुर्याइएको छ । प्रत्येक दिनका म्यान अफ दिन म्याच र प्रतियोगिताका विभिन्न विधामा वितरण गरिने पुरस्कार राशि पनि ५ हजारबाट बढाएर १० हजार पुर्याएको आयोजकले जनाएको छ। ‘प्रतियोगितामा बर्सेनि इलामबासीको आकर्षण बढेकाले पुरस्कार राशि परिमार्जन गरिएको हो,’ माइभ्याली फुटबल क्लब अध्यक्ष धीरेन चेम्जोङले भने, ‘प्रतियोगिताका लागि सय, २ सय र २ हजार रुपैयाँको टिकट व्यवस्था गरिनेछ।’

अध्यक्ष चेम्जोङका अनुसार यो पटकको प्रथम पुरस्कार राशि इलाम नगरपालिकाले प्रदान गर्ने जानकारी दिए । ‘यो पटकदेखि प्रथम पुरस्कारलाई मेयर प्राइजको नाम दिइनेछ र पुरस्कार राशि नगपालिकाले उपलब्ध गराउने छ,’ उनले भने, ‘बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ६० लाख अनुमान गरिएको छ, रकम जुटाउने काम आयोजक माइभ्याली र जिल्ला फुटबल संघले गर्नेछन् ।’ प्रतियोगितामा लाग्ने खर्च जुटाउन आयोजकले प्रयास गरिरहेको अध्यक्ष चेम्जोङले बताए । प्रतियोगिता हेर्न गाउँ–गाउँबाट दर्शकको भीड लाग्ने गरेको छ । जिल्लामा फुटबल एकेडेमी सञ्चालन गर्न हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिएको क्लबले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App