१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निःशुल्क तालिममा नाम मात्रको आवेदन

काठमाडौं– वैदेशिक रोजगारीमा जाने युवायुवती दक्ष होऊन् भनेर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पटकपटक सूचना प्रकाशित गर्दा पनि लक्षित वर्गले चासो नदेखाउँदा कार्यक्रम नै अन्योलमा परेको छ।

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने क्रम बढेका बेला बोर्डले सहयोग गर्न खोज्दा त्यस्तो तालिममा चासो राख्नेको संख्या निकै न्यून भएपछि अब कसरी कार्यक्रम अघि बढाउने भन्दै बोर्डका कर्मचारी अलमलमा परेका हुन् ।बोर्डले वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउन एकवर्षे पेसागत सीपमा  दुई सय र तीनवर्षे प्राविधिक शिक्षामा एक सय २० जना छनोट गर्ने योजना बनाएको थियो ।

सोही योजना अनुसार दुईपटक सार्वजनिक सूचना जारी गर्दा एकवर्षे पेसागत तालिमका लागि दुई जनाको र तीनवर्षे व्यावसायिक सीपका लागि ३० जनाको आवेदन परेको  छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले तीन तालिमबारे राष्ट्रिय र स्थानीय तहका सञ्चार माध्यम प्रयोग गर्दा पनि सरोकार राख्नेको चासो नदेखिएको बताए ।बोर्डले रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका तथा अंगभंग भएका व्यक्तिका सन्तान वा पत्नीलाई पहिलोपटक निःशुल्क प्राविधिक शिक्षा दिलाउन खोजेको हो।

वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भई बोर्डबाट आर्थिक सहायता लिएका व्यक्तिका आफन्तलाई लक्षित गरी पहिलोपटक एक सय २० जनालाई प्राविधिक शिक्षा दिने तयारी गरिएकोमा ३० जना मात्र रहेको बोर्डकी अधिकृत उर्मिला खतिवडाले बताइन् । ‘वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने र अंगभंग हुनेको संख्या वृद्धि हुँदै गइरहेकाले ठूलो संख्याको निवेदन पर्ने अनुमान गरेका थियौं,’ उनले भनिन्।

बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन र अंगभंग भएका व्यक्तिका परिवारलाई सघाउ पुर्याउने उद्देश्यले आवाससहितको निःशुल्क प्राविधिक शिक्षा दिने निर्णय गरेको थियो । बोर्डले तीनवर्षे नर्सिङ, बाली विज्ञान र मेकानिकल ओभरसियर अध्ययन गर्न चाहनेका लागि सूचना जारी गरेको थियो।

बोर्डले वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउन एकवर्षे पेसागत सीपमा दुई सय र तीनवर्षे प्राविधिक सीपमा एक सय २० जना छनोट गर्ने योजना बनाएको थियो

हालसम्म निवेदन दिनेमा १५ जना नर्सिङ र ५–५ जना कृषि र मेकानिकल ओभरसियर अध्ययन गर्न चाहने छन् । जबकि बोर्डले तीनवटा विषयमा ४० जनाका दरले एक सय २० जना पीडितका सन्तान या पत्नीलाई आवासहितको निःशुल्क शिक्षा दिने तयारी गरेको थियो।

तीनवटै विषय अध्ययनका लागि एसएलसी उत्तीर्ण भए हुन्छ । बोर्डले छनोट गरेका विद्यार्थीलाई सिटिइभिटीबाट मान्यताप्राप्त शिक्षण संस्थामा अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ । आफ्नै रकम खर्च गरेर अध्ययन गर्ने हो भने आवाससहित करिब पाँच लाख रुपैयाँ लाग्ने बताइने ती कोर्ष अध्ययनका लागि निकै कमको चासो हुनुलाई कतिपयले सम्बन्धित व्यक्तिसमक्ष सूचना नपुगेको ठानेका छन्।

‘वैदेशिक रोजगारीको क्रममा पीडित भएका धेरैजसो गाउँमा बस्ने र उनीहरूले बोर्डद्वारा जारी गरिएको सूचना थाहा नपाएको हुन सक्ने हाम्रो अनुमान छ,’ कार्यकारी निर्देशक काफ्लेले भने ।  बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने, अंगभंग र बिरामी पर्नेको संख्या करिब १० हजार हाराहारी पुगेको छ । तीमध्ये बोर्डबाट ६ हजार बढीले आर्थिक सहायता लिएका छन्।
पेसागत सीपमा दुईजनाको आवेदन
पहिलोपटक एक सय २० जनालाई आवाससहित निःशुल्क तीनवर्षे प्राविधिक शिक्षा दिने तयारी गरेको बोर्डले दुई सयजनालाई पेसागत तालिम दिने योजना बनाएको थियो ।  प्राविधिक शिक्षाका लागि एसएलसी उत्तीर्ण भएको हुनुपर्ने छ भने पेसागत तालिममा सहभागी हुन सामान्य लेखपढ गर्न सक्ने भए हुन्छ । एकवर्षे पेसागत तालिमका लागि मोटरसाइकल मेकानिक्स, वेल्डर, प्लम्बर, कुक र आलमुनियम कार्पेन्टर तोकिएको छ।

उक्त तालिमका लागि दुईजनाले मात्र आवेदन दिएको काफ्लेले बताए । बोर्डका अधिकारीले प्राविधिक शिक्षा र पेसागत तालिमको माध्यमबाट वैदेशिक रोजगारीको क्रममा पीडित हुनेका सन्तानलाई सीप सिकेर गुजारा चलाउन सहज हुने ठानेका छन् । हाल वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार सीप नसिकेका हुने र त्यसकै कारण उनीहरू समस्यामा पर्ने गरेको पाइन्छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७५ प्रतिशत अदक्ष हुन्छन् । हाल श्रम स्वीकृति लिएर बर्सेनि सरदर चार–पाँच लाख युवायुवती विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष नयाँ श्रम स्वीकृति लिएर चार लाख १८ हजार र पुनः श्रम स्वीकृतिसहित साढे ६ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका थिए ।वैदेशिक रोजगारीमा गएकामध्ये कतिपय एसी चलाउन नजान्ने, ट्राफिक नियम थाहा नपाउने जस्ता सामान्य जानकारीको अभावमा ज्यान गुमाउन बाध्य हुने गरेको पाइन्छ।

 

प्रकाशित: २२ चैत्र २०७४ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App