१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

महिला जनजागरण

अछामको मेल्लेख–७ स्थित नन्देगडाबाट स्थानीय महिलाले छाउपठी गोठ भत्काउने जुन अभियान सुरु गरेका छन्, त्यो सलामयोग्य छ । स्थानीय महिलामा आएको जागरणका कारण मात्रै यो अभियान सम्भव भएको हो । त्यसैले त महिलाकै सक्रियतामा यस्ता छाउपठी गोठ भत्काउन थालिएको हो । महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ बनाउने चलन थियो, जसलाई अहिले आएर महिलाहरुले नै चुनौती दिएका छन् । महिनावारी भएका बेला घरदेखि टाढा बस्ने होइन, बरु बढी हेरविचार आवश्यक पर्छ । तर अन्धविश्वासका कारण महिनावारीको समय घरदेखि टाढा छाउगोठमा बस्नुपर्ने चलन चलाएकै कारण कतिपय महिलाको सर्पको टोकाइले त कतिपयले त्यसमा निसास्सिएर मृत्यु भएको समाचार सार्वजनिक हुँदै आएका छन्। 

विगतमा महिनावारीका बेला छाउपडी गोठमा बस्दा एक वर्षयता तीनजनाको ज्यान गएको छ । तुर्माखादकी गौरी बुढा, गाज्राकी १५ वर्षीया रोशनी तिरुवा, तिमिल्सेनकी २६ वर्षीया डम्बरा उपाध्याय छाउपडी गोठमा मृत अवस्थामा भेटिएका थिए । महिला तथा बालबालिका कार्यालय अछामको रेकर्डअनुसार पछिल्लो दशकमा १२ जनाले छाउपडी गोठमा ज्यान गुमाएका छन् । गाउँगाउँमा खोजी पस्ने हो भन्ने यसरी मर्नेको संख्या अझै धेरै हुनसक्ने सम्भावना पनि उत्तिकै छ । अझ महिनावारी हुँदा पोषिला खानेकुरा खानु हुँदैन, घरमा बस्नु हुँदैन भन्ने अन्धविश्वासका कारण महिलामात्र नभई दूधेबालक समेत कुपोषण र निमोनियाको सिकार हुने गरेका छन् । राम्रोसँग हावा नछिर्ने, खुट्टा तानेर राम्ररी सुत्न नमिल्ने सानो गोठमा आमासँगै बस्नुपर्दा दूधेबालक कुपोषित हुनुका साथै चिसोका कारण निमोनियाको सिकार हुने गरेका हुन् । महिला र बालबालिकाले यस किसिमको समस्या आफैंले भोग्दै आएका हुन् । तर, बिस्तारै स्थानीय महिलामा आएको जनचेतना र जागरणका कारण अहिले उनीहरु आफैं छाउपडी गोठरुपी ‘मृत्युका घर’ भत्काउन अग्रसर भएका हुन् । यस हिसाबले पनि अछामका महिलाले सुरु गरेको यो अभियान प्रशंसायोग्य छ। 

बिस्तारै स्थानीय महिलामा आएको जनचेतना र जागरणका कारण अहिले उनीहरु आफंै छाउपडी गोठरूपी ‘मृत्युका घर’ भत्काउन अग्रसर भएका हुन् । यस हिसाबले पनि अछामका महिलाले सुरु गरेको यो अभियान प्रशंसायोग्य छ ।

स्थानीय महिलाको अग्रसरतामा जिल्लाका कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय स्थानमा भत्काउन मतो मिलाउने काम भइरहेको छ ।  महिनावारी भएका बेला घरदेखि टाढा होइन, घरपरिवारसँगै बस्नुपर्ने निष्कर्ष निकाल्दै मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुपाल्त टोलका महिलाले छाउगोठ भत्काउन सुरु गरेका हुन् । अहिले यो अभियान अन्य स्थानतिर पनि सुरु भएको छ । महिनावारीका बेला छाउगोठमा बस्दा महिलाको स्याहारसुसार नहुने समस्या त छँदैछ, विभिन्न खाले हिंसा भोग्नुपर्ने बाध्यतादेखि ज्यानै जाने घटनासमेत भएका कारण पनि छाउगोठ भत्काउने यो अभियान आफंैमा स्वागतयोग्य विषय हो । गाउँका यस्ता गोठ भत्काएर महिलाहरु महिनावारीको समयमा घरमै बस्न थालेका छन् । यसअघि नबुझेर र अन्धविश्वासमा परेर गोठमा बसिरहेका महिलामा अहिले आएको जागरणकै कारण यो अभियान सुरु गर्ने आत्मविश्वास आएको हो । गाउँका सबै महिला र पुरुषमा महिनावारी ‘पाप होइन चक्र’ हो भन्ने चेतनाकै कारण यो अभियान सम्भव भएको हो। 

त्यसो त सरकारले छाउपडी प्रथालाई कुप्रथा घोषित गरी फौजदारी अपराध मानेर कानुन निर्माण गरिसकेको छ । सरकारको यो कदमबाट उत्साहित भएर पनि महिला स्वयं छाउपडी गोठ भत्काउन जुटेका हुन् । महिनावारीका बेला महिलालाई छाउपडी गोठमा बस्न पठाउने घरपरिवारलाई गाउँपालिका र वडाबाट प्रदान गरिने सेवा रोक्ने निर्णय पनि भएको छ जुन स्थानीय तहको स्वागतयोग्य निर्णय हो । स्थानीय तहले छाउपडी प्रथा अन्त्य गर्न गोठमा बस्न लगाउने घरपरिवारलाई सेवासुविधा रोक्ने भनी जुन निर्णय गरेको छ, त्यसले पनि यो अभियानमा ठूलो सहयोग मिलेको हो । त्यसो त समाजमा अहिले पनि अन्धविश्वास नभएको होइन । महिनावारीका बेला घरमै बस्दा देवीदेउता रिसाउँछन् भन्ने मान्यता बोकेका स्थानीयले गोठ भत्काएपछि देउतालाई खुसी पार्न पुज्ने काम गरेका छन्। तैपनि महिलाले यो विद्रोहको विरोध गर्न सकेका छैनन् । यसले पनि समाजमा अनुदारवादी सोच भएका व्यक्तिसमेत बिस्तारै रुपान्तरित हुँदै गएको देखाउँछ । त्यसैले पनि महिलारुले यो अभियानलाई निरन्तर अघि बढाएर यस किसिमको कुप्रथाको अन्त्य गर्नैपर्छ । र, महिलाको यो अभियानमा स्थानीय बासिन्दादेखि स्थानीय सरकारको साथ पनि उत्तिकै हुनुपर्छ। र, मुख्य कुरा सरकारले नै यस किसिमको कुप्रथालाई दण्डनीय बनाएर यसको अन्त्य गर्ने कुरामा ध्यान दिन जरुरी छ। 

प्रकाशित: २२ चैत्र २०७४ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App