१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उपचारको नाममा जथाभावी औषधी

काठमाडौं - तपाईं होमियोप्याथी उपचारमा जाँदै हुनुहुन्छ ? गलत उपचारमा पुग्नु त भएन ? सचेत हुनुहोस् है । नेपालमा पछिल्लो समयमा होमियोप्याथी उपचारमा विकृति बढ्दै गएको होमयिोप्याथी चिकित्सकहरुले बताएका छन्।

अस्वस्थ व्यक्तिलाई भावानात्मक, शारिरीक तथा मानसिक स्वस्थतातिर लैजाने बिधी हो होमियोप्याथी उपचार पद्धति । होमियोप्याथी उपचार पद्धतिले अस्वस्थ व्यक्तिलाई एक पटकमा, एउटा नामबाट बनेको, एउटा औषधी दिइने सैद्धान्तिक मान्यता राख्छ । बजारमा भने होमियोप्याथी उपचारका नाममा धेरै नामका धेरै औषधी दिने विकृति बढेको होमियोपेथिक चिकित्सकहरुले औंल्याएका छन्।

‘बिरामीलाई जाँचिसकेपछि एक पदार्थको औषधी एक पटकमा लेखेर दिने हो, यहाँ होमियपेथिकको नाममा टुथ पेस्ट, पाउडर, क्रिम, झोल मिसाएको औषधी बिक्री बितरण भइरहेको छ,’ हिज होलिनेस बुद्ध मैत्रिय ट्रिटमेन्ट एन्ड हिलिङ सेन्टरका चिकित्सक राजेश प्राधानाङ्गले भने।

काठमाडौं उपत्यका र तराईमा बढ्दै गएका कतिपय होमियाप्याथी क्लिनिकले सिद्धान्त विपरीत औषधी सिफारिस गर्ने गरेको पाइएको डा. प्राधानाङ्गले आंैल्याए । ‘परीक्षण शुल्कको दश प्रतिशत मूल्य पर्ने मात्र औषधी दिइनुपर्नेमा तेब्बरभन्दा बढी मूल्यको औषधी दिइएको देखिन्छ,’ उनले भने ।होमियोप्याथी उपचारमा पछिल्लो समय आवश्यकताभन्दा बढी औषधी बिक्री गर्ने, सरकारको मापदण्ड विपरीत क्लिनिक खोल्ने जस्ता अनियमितता बढ्दै गएको होमोपिप्याथी चिकित्सक डा. अम्बिका ज्ञवालीले बताए ।

सिद्धान्तविपरीत बढी औषधी दिँदा बिरामी निको हुनुको सट्टा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने उनले बताए । ‘स्वस्थ हुनुको सट्टा प्रतिरोधात्मक क्षमता कमजोर भएर उल्टै रोग थपिन सक्छ,’ उनले भने । चिकित्सकका अनुसार होमियोप्याथी चिकित्सा पद्धति अपनाएर उपचार गर्ने स्वास्थ्य संस्थाहरु औंलामा गन्न मिल्ने मात्र छन्।

सरकारले यो चिकित्सालाई उपेक्षा गरेको कारण उपचार पद्धति र सेवा दुवैमा विकृति आएको उनीहरुले बताए । ‘जनतामा यो चिकित्सा पद्धतिप्रति आकर्षण छ, सरकारले भने सधैं उपेक्षा गरेको छ,’ उनले भने । नेपालमा हाल २ सयभन्दा बढी होमियोप्याथी चिकित्सक छन् । सरकारले होमियोप्याथी चिकित्सकहरुको परिषद् गठन गरेमा मात्र विकृति हटाउन सकिने डा. ज्ञवालीले बताए । ‘हामीले नेपाल होमियोपेथिक चिकित्सा काउन्सिलको माग गरेका छौं तर सरकारले सधैं उपेक्षा गरेको छ,’ उनले भने।

सन् १७९६ मा  जर्मनीका स्यामल हेनिमनले होमियोप्याथी उपचारको अविष्कार गरेका थिए । उनको जन्म सन् १७५५, अप्रिल १० मा भएको थियो । उनकै जन्मदिनमा मनाइने विश्व होमियोपेथिक दिवस मंगलबार नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइयो । अन्य उपचार पद्धतिको नाममा अस्वस्थ व्यक्तिलाई अनावश्यक रसायनिक औषधी दिएर मानिसहरुमा प्रतिरोधात्मक क्षमतामा ह्रास आउँदै गएकाले यो उपचार पद्धतिको आजको समयमा औचित्य रहेको चिकित्सकहरु औल्याउँछन्।

यो चिकित्सा पद्धतिले व्यक्ति मानसिक, शारिरीक तथा भावानात्मक कारणले प्रतिरोधात्मक क्षमतामा कमी आउँछ र रोगले आक्रमण गर्छ भन्ने मान्यता राख्छ । त्यही मान्यताको आधारमा अस्वस्थ व्यक्तिलाई लक्षणअनुसार उपचार गरिन्छ । जुन उपचारको एउटै मात्र उद्देश्य हुन्छ कि प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु।

‘रोग निको हुने औषधी दिन्नौं । शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न लक्षण अनुसारको औषधी दिन्छौ,’ डा. प्राधानाङ्गले भने ।मन, मस्तिष्क र शरीरको स्थिति हेरी तीनै अवस्थालाई व्यवस्थापन गर्न औषधी, इनर्जी हिलिङ जस्ता उपचार गरिने गरेको डा. प्रधानाङ्गले बताए।

‘पछिल्लो समय होमियोपेथिक औषधीले जुनसुकै रोग निको हुने भ्रम छरिन्छ, त्यो गलत हो,’ उनले भने । यी तिनै अवस्था स्वस्थ पार्नको लागि एउटा बिरामीलाई कम्तीमा एक घण्टा समय दिनुपर्ने नियम छ । तर शारिरीक रुपमा बहुक्षति भएको हकमा भने यो उपचार पद्धतिको भर पर्न नहुने मान्यता छ । ‘यो उपचार पूरै अंग नष्ट भएको अवस्थामा सम्भव हुँदैन,’ डा.प्रधानाङ्गले भने।

प्रकाशित: २८ चैत्र २०७४ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App