१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन महिनामा आर्थिक समृद्धिको खाका कोर्ने

मुख्यमन्त्री त्रिलोचन भट्ट संसदमा जवाफ दिँदै। तस्बिर : दिलबहादुर/नागरिक

धनगढी – प्रदेश ७ मा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा उठेका कुराको जवाफ दिँदै  तीन माहिनाको छोटो अवधिमा सरकारले आर्थिक समृद्धिका लागि गर्नुपर्ने योजना र कामको खाका कोर्ने बताएका छन्।

‘अहिले आइरहेको यो छोटो बजेटले धेरै काम गर्न सकिने अवस्था हुँदैन, यो प्रदेशको आर्थिक समृद्धिका लागि कुन क्षेत्रमा केके काम र योजना लागूगर्ने भनेर अनुसन्धान र अध्ययन गर्नेछौं,’उनले भने,‘अहिले अध्ययन गरेर अगामी २०७५। २०७६ आर्थिक बर्षमा हामी परिणाममुखी काम थालनी गर्ने छौं।’

‘अहिले आइरहेको यो छोटो बजेटले धेरै काम गर्न सकिने अवस्था हुँदैन, यो प्रदेशको आर्थिक समृद्धिका लागि कुन क्षेत्रमा केके काम र योजना लागू गर्ने भनेर अनुसन्धान र अध्ययन गर्नेछौं।’

विगतमा केन्द्रीय सरकारले ल्याउने नीति र कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुने उल्लेख गर्दै त्यसबाट पाठ सिकेर सरकारले ल्याएको नीति र कार्यक्रम लागू गर्ने विश्वास उनले दिलाए। ‘यो प्रदेश सरकार अहिले नीति र कार्यक्रमलाई लागू गर्ने आँट राख्छ,’उनले भने। कतिपय अहिले जनताबीच तुरुन्तै जाने कुरा छन् भने धेरै जसो यो प्रदेशमा गर्नुपर्ने काम र योजनाको संकेत यो संक्षिप्त नीति र कार्यक्रममा छ। दूरदराजका सबै जनताले श्वास्थ्य सेवा र उपचार पाउन कुन ठाउँमा स्वास्थ्यचौकी राख्ने, कहाँ अस्पताल राख्ने र कहाँ चिकित्सक पठाउने अहिले अध्ययन गरिने उनले बताए। ‘दूरदराजका सबैले स्वास्थ्य सेवा पाएको अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गर्ने छ,’उनले भने । यसैगरी अहिलेको शिक्षा प्रणाली ठीक नभएको र अहिलेपनि दूरदराजका धेरैजना शिक्षावाट वञ्चित भएको उल्लेख गर्दै व्यवसायिक शिक्षा लागू गर्ने नीति सरकारले बनाउने उनले बताए। ‘व्यवसायमूलक शिक्षा दूरदराजका सबैले पाउने वातावरण सरकारले बनाउँछ,’उनले भने। यसैगरी जडिबुटीका उपयोगका लागि कुन ठाउँमा कस्तो उद्योग स्थापना गर्ने, कहाँ प्रशोधन केन्द्र खोल्ने भनेर यो ३ महिनामा अध्ययन र अनुसन्धान गर्ने उनले बताए।

‘अहिले अध्ययन गरेर अगामी आर्थिक वर्षमा जडिबुटी प्रशोधन केन्द्र र उद्योगका लागि योजना बनाई बजेट बिनियोजन गरिने छ,’ उनले भने। यस प्रदेशमा धेरै पर्यटकीयस्थल भएपनि सडक, होटल लगायतका भौतिक पूर्वाधार अभावल रहेको छ। धेरै पर्यटक आउन सक्ने केही पर्यटकीयस्थलको छनौट गरी त्याहाँ सडक,होटल लगायतकापूर्वाधार लागू गर्ने उनको भनाइ छ।  ‘कुन पर्यटकीयस्थलमा तत्काल केके काम गर्न सकिन्छ र के गर्नुपर्छ अहिले अध्ययन गरेर अगामी बृहत तथा नीती कार्यक्रममा योजना राखिने छ,’उनले भने।

मुख्य आयश्रोत कृषि हुन सक्छ
सधैं कृषिप्रधान भनिएपनि त्यसो हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले परम्परागत रूपमा अधिकांशले कृषि गर्नाले यसको विकास हुन नसकेको बताए। ‘बाजेले कोदो लगाएको ठाउँमा आज पनि कोदो लगाइँदैछ,’उनले भने,‘हिमाल, पहाड र तराई रहेको यो प्रदेशमा सबै खेती गर्न सकिन्छ।’ प्रदेश सरकारले सबै जिल्लामा माटो परीक्षण केन्द्र राखेर वैज्ञानिक कृषिप्रणाली लागू गर्ने उनको भनाइ छ।‘ बैज्ञानिक कृषी प्रणाली लागू गरेमा यो प्रदेशको मुख्य आयस्रोत कृषि हुनसक्छ।’

यो प्रदेशमा रहेका पश्चिमसेती जलबिद्युत आयोजना, पंचेश्वर जलविद्युत् आयोजना, कर्णाली जलविद्युत् अयोजना सधंै चर्चा मात्र हुने लागू नहुने उल्लेख गर्दै यी आयोजना केन्द्रीय सरकारको मातहतमा रहेकाले प्रदेशले साना जलविद्युत् आयोजना को अध्ययन गरेर निर्माण गर्ने बताए। प्रदेश सरकारले बाहिरी लगानी भित्र्याउन केन्द्रीय सरकारसँग समन्वय गर्ने उनको भनाइ छ। जमिन, बिजुली र सुरक्षा भएमा वाहिरी लगानी भित्रिने उनले बताए। तीनचार दशकअघि बनेका साँघुरा सडकमा अहिले क्षमता नपुग्ने भन्दै यसलाई पनि व्यवस्थान गरिने उनले बताए । महिलामाथि हुने हिंसा अन्त्य गर्न कानुनको कडा कार्यान्वयन गरिने र साथै जनप्रतिनिधिले अभियान थाल्ने कार्यक्रम लागू गर्ने उनले बताए। ‘जनताले चुनेका जनप्रतिनिधिका कुरा सबैले मान्छन्,’ उनले भने,‘जनप्रतिनिधिले  घरेलु वा समाजिक हिंसा, कुरीति, कुप्रथा अन्त्य गर्न अभियान थाल्नु आवश्यक देखिएको छ।’

केही कडा कानुन बनाउन आवश्यक रहेको र कतिपय कानुन भएर पनि कार्यान्वयन नभएकाले त्यसमा जोड प्रदेश सरकारले दिने उनको भनाइ छ।  ‘कडा कानुन बनाउने र लागू गर्नेमा प्रदेश सरकारको मुख्य जोड रहन्छ,’उनले भने । कानुन भएर पनि जंगल बचाउन काठ तस्करी रोक्न नसकिएको उनले बताए। ‘कडा कानुन बनाएर मात्र हुदो रहेन छ,’उनले भने, ‘कानुन कडा रुपमा लागू गरेर हरियाली प्रदेश बनाउन चाहान्छु।’

प्रदेशको आर्थिक समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष एक भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। ‘आर्थिक समृद्धिका लागि हामी सबै एक भएर अगाडि बढौं,’ उनले भने,‘प्रदेश सरकार प्रतिपक्षको भावनामा चोट नपुग्नेगरी एक भएर जाने वातावरण बनाउन प्रतिबद्ध छ।’

बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले गत चैत २८ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार सर्वसम्मत पारित भएको छ। प्रदेश सरकारले बिहीबार चालु आवको प्रदेश सरकारको १८ बुँदे नीति तथा कार्यक्रमप्रस्तुत गरेको थियो।

तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याउने तयारी स्वरूप प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। केही दिनमै बजेट ल्याइने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताएका छन्।

प्रकाशित: ४ वैशाख २०७५ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App