१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेयर चिरिबाबुको आठौं विदेश भ्रमण

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौं विदेश भ्रमणमा गएका छन्। महानगरपालिकाको प्रमुख पदमा निवार्चित भएयता यसबाहेक उनी सातपटक विदेश भ्रमण गरिसकेका छन्। आठौं विदेश भ्रमणको शिलशीलामा उनी यो पटक चीन सरकारले मकाउमा आयोजना गरेको भ्रमण कार्यक्रममा सहभागी भएका हुन्।

उनको भ्रमण टोलीमा महानगरपालिकाकै–१९ का वडाअध्यक्ष विनोद ताम्राकार, वडा ७ का वडाध्यक्ष कुल बहादुर महर्जन र स्वकीय सचिव राजु महर्जन रहेकोे महानगर श्रोतले जनाएको छ। श्रोतका अनुसार उनी चीन सरकारको निमन्त्रणमा त्यहाँ प्रस्थान गर्न गरेका हुन्। ‘चीनसँग सिमाना जोडिएका देशका महानगरपालिकाका मेयरहरुलाई चीनले डाकेका छ,’ श्रोतले भन्यो, ‘मेयरसाप पनि त्यही भेटघाटमा सामेल हुन लाग्नुभएको हो।’ 

उनी स्थानीय तहमा निर्वाचिर्त जनप्रतिनिधिहरूमध्ये सबैभन्दा बढी विदेश भ्रमण गर्ने मेयरमध्ये पर्छन। यसअघि उनले यसअघि वर्मा, श्रीलंका, कोरिया, थाइल्याण, जापानलगायत देशको भ्रमण गरिसकेका छन्। स्थानीय तहको निर्वाचन भएको १ वर्ष बित्नै लाग्दा जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका काम गर्न नसकेका मेयर नगरवासीको गुनासोलाई वेवास्ता गर्दै उनी विदेश भ्रमणमा सामेल भएका हुन्। 

विदेश प्रस्थान गर्नुअघि नागरिकसँग कुरा गर्दै मेयर महर्जनले मित्र राष्ट्र चीनको विशेष निमन्त्रणालाई स्वीकार गर्दै त्यहाँ सहभागी हुन लागेको बताए। उनले अप्रिल १९ देखि २३ तारिकसम्म मकाउमा हुने ‘एसएआर’ सम्मेलनमा सहभागी हुन लागेको बताए। ‘उक्त कार्यक्रममा चीनले छिमेकी २३ भन्दा बढी देशका मेयरलाई निमन्त्रणा गरेको छ,’ उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै म त्यहाँ जान लागेको हुँ।’ उनले चीनले आयोजना गरेको उक्त कार्यक्रम मकाउमा हुने जनाए।  

कार्यान्वयनन् हुँदैनन् निर्णय 
गत असोज १ गते महर्जनले ललितपुरलाई जाममुक्त घोषणा गरे। त्यसै दिन पुल्चोकदेखि हरिहरभवनसम्म सोलारबत्ती जडान गर्ने योजना पनि सार्वजनिक गरे। अहिले भने सबैभन्दा बढी जाम ललितपुरमै देखिन्छ । सडकमा सोलार बत्ती पनि जडान गरिएको छैन।

सस्तो लोकप्रियताका लागि आवश्यक पूर्वाधारविनै जाममुक्त घोषणा गर्दा धेरैले आपत्ति जनाएका थिए। तर, महर्जनले जबर्जस्ती घोषणा गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन। गत माघ २३ गते मंगलबजार प्रहरी प्रभागले गरेको सार्वजनिक सुनुवाइमा धेरैले त्यसको विरोध गरेका थिए।

मेयर महर्जनले घोषणा गरेका पाटन अस्पतालअगाडि र लगनखेल चोकमा दुई अकासेपुल बनाउने, पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर बनाउने, सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना सुरु हुन सकेका छैनन्।

प्रकाशित: ६ वैशाख २०७५ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App