१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

रत्ननगर – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन्। 

बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ।” 

यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उनले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने उनको भनाइ थियो । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी भएका उनले साँझ भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राखे। 

मुठ्ठिभरका मान्छेमात्र समृद्ध हुने अरु चाहीँ दरिद्र हुने अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए। गृहमन्त्री थापाले छुट्टै किसिमको सुरक्षा नीति बनाउन लागेको समेत जानकारी दिए। उनले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत बताए। 

उनले गृहमन्त्रालयले गुनासो सुन्ने व्यवस्था मिलाउन लागेको समेत बताउँदै सुरक्षा निकायलाई शान्ति सुरक्षामा चुस्त भएर काम गर्न निर्देशन पनि दिए। 

प्रहरी कार्यालयको भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य राख्दै प्रहरीले पुरानो शैलीबाट नभई समुदायसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए। 

सो क्रममा चितवनका प्रहरी प्रमुख दीपक थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। कालिका नगरपालिकाको रु १४ लाख सहयोगमा निर्माण शुरु गरिएको प्रहरीको भवन पूरा हुँदा करीब रु दुई करोड खर्च हुने अनुमान गरिएको छ। 

प्रकाशित: ६ वैशाख २०७५ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App