२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आयोजनाको काममा वडाप्रतिनिधीको निगरानी

नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित जुनसुकै आयोजनाको सम्बन्धित वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका छन्। नेपालगन्जमा एशियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा सञ्चालित (आरयुडिपी) आयोजनाको कामको गुणस्तरप्रति स्थानीय स्तरबाट व्यापक रुपले जनगुनासो बढ्न थालेपछि वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका हुन् । 

आरयुडिपी आयोजना अन्तर्गत स्थानीय सितलनगर रोडमा साताभित्रै कालोपत्रे भत्किएको घटना केहीदिन अघि सार्वजनिक भएको थियो। उपमहानगरका अन्य स्थानमा पनि सञ्चालित आयोजनाको काम गुणस्तर नभएको सर्वसाधारणले गुनासो गर्न थालेपछि अबदेखि सम्पूर्ण ठूला साना निर्माणको काममा अनुगमन र रिर्पोटिङ गर्ने अधिकार नगर कार्यपालिका बैठकले दिएको हो ।  

‘हाम्रै वडामा एडिबीको काम सञ्चालन भइरहेको स्थितिमा पनि कामको गुणस्तर, लागत स्टिमेट जस्ता विषयमा अनविज्ञ थियौं,’ वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले भने ‘बोर्ड बैठकको निर्णय पश्चात अब सम्बन्धित वडामा सञ्चालित कामको अनुगमन गर्ने र कामको मुल्यांकनसहित प्रतिवेदन बनाउने जिम्मा हामीले पाएका छौं।’ आयोजनाको कामको गुणस्तरबारे अहिलेपनि वडास्तरमा टिका टिप्पणी भइरहेको उनले सुनाए। यसअघि उपमहानगरपालिकाका मेयर, उपमेर तथा प्राविधिकले मात्र वडामा सञ्चालित ठूला आयोजनाको कामको अनुगमन र मूल्यांकन गर्दै आएका थिए । 

बोर्ड बैठकको निर्णय अनुसार अबदेखि वडामा सञ्चालित आयोजनाको काम गुणस्तरहीन भएमा र लागत स्टिमेट अनुसार काम नगरेको पाइएमा वडा कार्यालयले ठेकेदारको भुक्तानी समेत रोक्न सक्नेछ। ‘वडामा सञ्चालित ठूला आयोजनाको काम चित्तबुझ्दो भएमा वडा कार्यालयले स्वीकृति दिन्छ, तर गुणस्तरहीन र चित्त नबुझ्दो कामलाई हामीले दबाब आएपनि स्वीकृति दिनेछैनौं,’ उनले भने। वडामा सञ्चालित ठूला आयोजनाबारे वडाअध्यक्षलाई भूमिका नदिइएको र कामको गुणस्तर खस्किँदा जनताले वडाअध्यक्षमाथि दोष थुपार्ने काम गरेको भन्दै उनीहरूले असन्तुष्टी जनाउँदै आएका थिए । 

वडामा सञ्चालित ठूलासाना आयोजनाको अपनत्व वडा कार्यालयले लिने र कामको एक÷एक गरेर निगरानी गरिने वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमालले बताए। ‘वडामा सञ्चालित एडिबीको काम कसरी चलिरहेको छ, कति बजेट खर्च भएको छ, ठेकेदारले कस्तो काम गरिरहेको छ, यसबारे हामीसँग कुनै समन्वय थिएन,’ उनले भने ‘जब सडक बिग्रियो, नाला भत्कियो, तब मात्र जनताले हामीसँग गुनासो गर्ने काम हुन्थ्यो, अबदेखि गुनासो सुन्न मात्र नभएर अनुगमन गर्ने र ठेकेदारको कामको मूल्यांकन गर्नेछौं,’ हमालले भने। यसबाट ठेकेदारलाई आफ्नो कामप्रति जिम्मेवार र सजग गराउने तथा वडा कार्यालय पनि आफ्नो वडाभित्रको कामबारे जवाफदेही बनाउने उनको विश्वास छ । नेपालगञ्जको विभिन्न वडामा सञ्चालित आरयुडिपी आयोजना अन्तर्गत सडक र नाला निर्माणको गुणस्तरबारे स्थानीय बासिन्दाले दिनहुँ गुनासो गर्न थालेको बताए ।

संविधानले वडापालिकालाई अधिकार दिएपनि उपमहानगरपालिकाले कतिपय काममा वडालाई बाइपास गरेको उनको आरोप छ । ‘जनताले हामीसँग गुनासो पोख्छन्, जनताका गुनासो सुन्ने हामी, तर उपमहानगरपालिकाले सञ्चालन गर्ने कतिपय ठूला योजनाबारे हामीलाई नै जानकारी नहुनुले आफैँ अन्यौलमा पर्छौ,’ हमालले थपे । उपमहानगरपालिकाले विकास निर्माणको काममा ठेक्का दिँदा वडा कार्यालयसँग समन्वय नगर्ने र काममा भएको कमी, कमजोरीको दोष मात्र जनताले आफूहरूलाई थुपार्ने काम अहिलेसम्म हुँदै आएको वडाका जनप्रतिनिधिहरूले बताएका छन्।

उपमहानगरपालिकाको नगरकार्यपालिकाले गरेको उक्त निर्णय कार्यान्वयनको प्रक्रियामा रहेको बताइएको छ । आरयुडिपी आयोजना अन्तर्गत नेपालगन्जमा कालोपत्रे र नाला निर्माणका लागि ठेकेदार ‘कालिका जेट.टि.एस.जे. जेभी’ ले जिम्मा लिएको छ । ठेकेदारले दु्रत गतिमा काम गरेपनि गुणस्तरमा सुधार गर्न नसकेको वडाका जनप्रतिनिधिले ठहर गरेका छन् । 

प्रकाशित: ७ वैशाख २०७५ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App