१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भ्रष्टाचारको दलदलमा विश्वका नेता

काठमाडौँ – विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खबर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खबरहरू बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो । 

विश्व बैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब अमेरिकी डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ। अझ जर्मनीको पसाओ विश्वविद्यालयको तथ्यांकले यस अवस्थालाई थप भयावह रहेको देखाएको छ। सो विश्वविद्यालयका अनुसार हरेक वर्ष संसारको कुल ग्राहस्थ्र उत्पादनको १२ प्रतिशत अर्थात चार खर्ब डलर भ्रष्टाचारको कारण अपचलन भइरहेको छ । त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार संसारका सरकारको सार्वजनिक खरिदको प्रक्रियामा हरेक वर्ष चार सय विलियन अमेरिकी डलर भ्रष्टाचार भइरहेको छ। 

यसरी भ्रष्टाचार बढ्दै जानुको पछि परिवार तथा नातेदार र आफ्नो व्यवसायको प्रभाव, देशको राज्य संयन्त्रको अवस्था, राजनीतिक प्रतिशोध र सामाजिक मूल्य मान्यताका कारण शक्तिशाली हुने गरेको पाइएको छ। दण्ड सजाय भोगेका अधिकांश विशिष्ट वास्तवमै दोषी होलान् भने केही व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको पनि हुनसक्ने देखिन्छ। 

भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ हुनेमा अधिकांश अल्पविकसित तथा विकासशील देश रहेका छन्। भ्रष्टाचारी मानिएका विश्वका सबै शक्तिशाली व्यक्तिको विवरण पेश गर्न सम्भव नभएपनि पछिल्ला केही वर्षमा भ्रष्टाचारको अभियोगमा जेलजीवन बिताउन वा पदत्याग्न बाध्य केही शक्तिशाली पात्रको यहाँ चर्चा गरिएको छ। 

पहिलो महिला राष्ट्रपतिलाई २४ वर्ष जेल, अर्का पनि अभियुक्त 
दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतले दोषी ठहर गर्दै २४ वर्षको जेल सजाय भएको छ। केही दिन अगाडिदेखि उनको अहिले २४ वर्षे जेल जीवन सुरु भएको छ । ६५ वर्षीया पार्कलाई अदालतले दोषी ठहर गरेपछि गत सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो । 

अदालतले पार्कमाथि लागेका १८ मध्ये घुसखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सुचना चुहावटलगायत १६ वटा अभियोगमा दोषी ठहर गरेको छ । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ । तर उनले भने अदालत पुर्वाग्राही भएको भन्दै सुनुवाई बहिस्कार गर्दै आफूमाथि लागेका सबै आरोप अस्विकार गर्दै आएकी छिन्। 

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भएपनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उनी तेस्रो राष्ट्रपति हुन। उनीपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । यस विषयमा अनुसन्धान सुरु भएको छ। 

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिद्वारा पदत्याग 

सन् २००९ देखि भ्रष्टाचारको आरोप खेपिरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले अन्तः सन् २०१८ मा पद त्याग गर्नुपरेको छ। छ जनासँगको विवाह गरी २१ छोराछोरीका पितासमेत रहेका जुमाले १४ फेब्रुअरी २०१८ मा राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेस (एनएसी)ले भ्रष्टाचारको आरोप लागेपछि पद छाड्न वा अविश्वासको प्रस्ताव सामना गर्न दवाव दिएपछि उनले पद त्याग्नुपरेको थियो। 

आफ्नै कार्यकालका उपराष्ट्रपति सिरिल रामाफोसालाई राष्ट्रपति बनाउन आफ्नै दलका नेताहरुले आफूलाई भ्रष्टाचारको आरोप लगाएर पद त्याग्न बाध्य पारेको जुमाले बताउदै आउनुभएको छ । ७५ वर्षीय जुमाले आफू भ्रष्टाचारी नभएको दाबी भने गरिरहेका छन्। 

भ्रष्टाचार विरोधी भनिएका सरिफ नै अभियोग खेप्दै 

झण्डै चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ आफै भ्रष्टाचारको आरोपमा निकालिएका छन्। 

आर्थिकरूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरागर्न ‘भ्रष्टाचार’मुख्य बाधक रहेको बताउने सरिफ आफै भ्रष्टाचारको महाअभियोगमा परे। पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोग गर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो। पानामा पेपर्स् नामक एक विश्वचर्चित भ्रष्टाचारसम्वन्धी खोजीले उनलाई पनि दोषी देखाएको थियो। पछि अदालतले नै उनलाई दोषी ठहर्याएपछि उनले सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिए। ६७ वर्षीय सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले केहीदिन अगाडि मात्रै आजिवन निर्वाचन लड्न नपाउने फैसला सुनाएको छ। 

बङलादेशमा जियालाई पाँच वर्ष काराबास 

बंगलादेशमा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ। ७२ वर्षीया जियाले अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकम मध्ये झन्डै साढे दुई करोड रूपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ। उनले आफूविरुद्धका आरोपहरु राजनीतिकरुपमा प्रेरित रहेको दाबी गरेका छन्। उनलाई यहीवर्ष हुने संसदीय चुनावमा लड्न प्रतिबन्ध लागेको छ। प्रधानमन्त्री शेख हसिना वाजेदसँग दशकौंदेखि राजनीतिक प्रतिद्वन्द्वीका रुपमा रहेकी जिया सन् १९९१ देखि १९९६ र २००१देखि २००६ सम्म गरी दश वर्ष बंगलादेशको प्रधानमन्त्री बनेका थिए। अहिले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी जियालाई अदालतको फैसलालगत्तै पक्राउ गरी जेल चलान गरिएको छ। 

ब्राजिलका लोकप्रिय नेता नै जेलमा 

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइन इनासियो लुला दा सिल्भालाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैँद सजाय फैसला सुनाएको छ। लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमा नबस्ने दलिल पेस गरेका छन्। अदालतको फैसलाले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई नै प्रभावित पारेको छ । चुनावबाट बञ्चित गर्न आफूविरुद्ध राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको ७२ वर्षीय लुलाले दाबी गर्दै आएका छन्। ब्राजिलमा उनको सहभागीता वा सहमति बिना निर्वाचन असंभव जस्तै रहेको बताउने गरिएको छ। 

पेरुका पूर्वराष्ट्रपतिलाई देश छोड्न बन्देज 

पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा १८ महिना देश छोड्न प्रतिबन्ध लगाइएको छ। भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको हो। 

ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पूर्वराष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै नजरबन्द गरिएको छ। पेरुको संसद्मा आफूविरुद्धको महाअभियोग प्रस्तावमा मतदान हुन लागेपछि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिएका थिए। 

अरु कैयौँ नेता पनि भ्रष्टाचारी ठहर 

अरु धेरै देशमा पनि शक्तिशाली पात्र भ्रष्टाचारको आरोप लगेर राजनीतिक जीवनबाट हात धुनुपरेको छ। क्रोएसियामा सन् २००३ देखि २००९ सम्म प्रधानमन्त्री बनेका इभो सानाडर सन् २०१० मा भ्रष्टाचारको आरोपमा गिरफ्तार भए। सन् २००५ देखि २०११ सम्म प्रधानमन्त्री बनेका पोर्चुगलका समाजवादी नेता जोसे सोक्रेट पनि जीवनको अन्तिम समयमा आएर भ्रष्टाचारी कहलिनुपर्‍यो। लामो समयको अनुसन्धानपछि सन् २०१७ को अक्टोबरमा उनीविरुद्ध अपराध, सम्पत्तिको अपचलन, कर छली, कागजपत्रहरुको दुरुपयोगलगायतका ३१ ओटा मुद्दा लगाइयो। रोमानियाका पूर्वप्रधानमन्त्री अड्रिन नास्तासलाई सन् २०१२ मा साढे चार वर्षको जेल सजाय तोकिएको थियो । उनी सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री बनेका थिए। त्यसैगरी पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इहुड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोग्नु भएको छ। सर्बिया, मन्टेनेग्रो, मोल्डोभा, ग्वाटेमाला लगायतका देशका पूर्वप्रधानमन्त्री वा राष्ट्रपति पनि भ्रष्टाचारको सजायमा छन्। जीवन भण्डारी /रासस

प्रकाशित: ८ वैशाख २०७५ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App