१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वैशाख १ मा ‘साझा पर्व’ मनाइने

इलाम – इलाम नगरपालिकाले प्रत्येक नयाँ वर्ष (वैशाख १) लाई साझा पर्वका रूपमा मनाउने भएको छ। इलाम सदरमुकाम खलंगा सरेको २ सय वर्ष पुगेको अवसरमा गत वैशाख १, २ र ३ मा इलाम महोत्सव आयोजना गरेको नगरले अब आउने प्रत्येक वैशाख १ लाई साझा वर्षको दिन बनाउने भएको हो।

नगर कार्यपालिकाको शनिबारको बैठकले प्रत्येक वैशाख १ मा विभिन्न कार्यक्रम, उत्सवलगायत आयोजना गरी त्यसलाई सबैको साझा चाड बनाउने निर्णय गरेको नगरका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। ‘सबै नगरबासीका आ–आफ्ना चाडपर्व छन् तर सबैको साझा चाड कुनै छैन,’ उनले भने, ‘यस्तो अवस्थामा सबैको साझा हुनेखालका कार्यक्रम गरी अब नयाँ वर्ष मनाइने छ।’

बैठकले नगरपालिकामा करारमा प्राविधिक र कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि पारित गरेको छ। राजस्व कानुनको विधेयक मस्यौदा नगरसभामा विधेयकका रूपमा लैजान कार्यपालिका बैठकले स्वीकृति प्रदान गरेको उनले बताए। ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत अनुमति कार्यविधिसमेत नगरले पारित गरेको छ।

नगरपालिकाका विभिन्न टोलमा सम्बन्धित वडाबाट वैशाख २० गतेदेखि टोलस्तरीय योजना छनौट थाल्ने, सरकारी तथा गैरसरकारी संस्थाले नगरपालिकामा सञ्चालन गर्ने कार्यक्रम नगरपालिकामा पेश गर्नुपर्ने निर्णय पनि गरिएको छ। इलाम सदरमुकाम स्थापना भएको २ सय वर्ष पूरा भएको अवसरमा धरान उपमहानगरपालिका र इलाम नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भइसकेकाले यो सम्बन्ध व्यवस्थित बनाउन आवसीय अवैतनिक प्रतिनिधिका रूपमा कृष्ण शाहलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ।

‘भगिनी सम्बन्ध अझ मजबुत बनाउन र विस्तार गर्न यही वैशाखमा धरानमा चिया महोत्सव आयोजना गर्ने, इलाम नगरपालिकाले गरेका क्रियाकलाप सर्वसाधारणसम्म पु¥याउन चौमासिक नगर बुलेटिन प्रकाशन गर्ने पनि निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘माइभ्याली फुटबल क्लब र इलाम नगरपालिकाबीच भएको सम्झौता पनि बैठकले पारित गर्ने निर्णय गरेको छ।’ नगरका विशिष्ट नागरिक युद्धप्रसाद वैद्यलाई नागरिक सम्मान गरिसकेकाले उनलाई नगरपालिकाले आयोजना गर्ने औपचारिक कार्यक्रममा नगरपालिकाको उपप्रमुखभन्दा पछाडिको मर्यादाक्रमको हैसियत दिने पनि बैठकले निर्णय गरेको श्रेष्ठले जनाए।

नगरले शनिबार नै एकीकृत सम्पत्ति कर सम्बन्धमा इलाम नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव र सामाजिक परिचालकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। अभिमुखीकरणमा नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, प्रशासकीय अधिकृत रामकुमार शाहलगायतले सहजीकरण गरेका थिए।

प्रकाशित: ८ वैशाख २०७५ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App