१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दश महिनामा पाँच बाघ मरे

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहानजिक आइतबार मृत भेटिएको बाघ। तस्बिर : नागरिक

चितवन – चालु आर्थिक वर्षमा चितवनमा पाँच बाघ मरेका छन्। तीन बाघ राष्ट्रिय वन क्षेत्रमा र दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरेको भेटिएको हो। पछिल्लो पटक आईतबार बिहान निकुञ्जको पूर्वी सेक्टर सौराहा नजिक पोथी बाघ मृत भेटिएको निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

गाईघाट क्षेत्रको राप्ती किनार नजिक बाघ भेटिएको हो। करीब ३ वर्ष उमेरको पोथी बाघको गर्धनमा चोट लागेको उनले बताए। ‘पोष्टमार्टम गर्दा गर्धनमा चोट लागेर भाँचिएको पाईयो’ उनले भने, ‘अर्को बाघसँग भएको लडाइँमा लागेको चोटले घाईते भएको थियो।’ त्यही चोटका कारण बाघ मरेको उनी बताउँछन्।

यसअघि चैत १० गते पुर्वी सेक्टरकै खोरसोर नजिक बाघ मृत भेटिएको थियो। करीब तीन वर्ष उमरेकै पोथी बाघको टाउको र पेटमा चोट लागेको पाईएको थियो। मरेको केही दिनपछि भेटिएको हुँदा शरीर गलिसकेको पाईएको सुचना अधिकृत अर्याल बताउँछन्।

वन क्षेत्रमा मरेका बाघ कालगतिले मरेको पाईएको जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल बताउँछन्। बैशाख ७ गते शुक्रबार रत्ननगर नगरपालिका वडा नम्बर ११ को पञ्चकन्या सामुदायिक वनमा बाघ मरेको भेटिएको थियो। करीब १२ वर्षको बाघ कालगतिले मरेको पाईएको उनले बताए। ‘बाघ देखियो भनेपछि आँफै पुगेर हेरेको थिएँ’ उनले भने, ‘पानीमा जाने र बाहिर निक्लेर बस्ने गरिरहेको थियो।’

बाघले बँदेल मारेर पनि खाएको भेटिएको उनले बताए। भोलि पल्ट मरेपछि पोष्टमार्टम गरेर हेर्दा शरीरमा चोट पाईएको उनले बताए। उनी भन्छन्, ‘घाँटीमा अर्को बाघले झम्टेको घाउ रहेको भेटिएको थियो।’ त्यसअघि चैत ७ गत टिकौली जंगलको खोल्सामा बाघ मरेको पाईएको थियो। वृद्ध अवस्था भएपछि नै सो बाघ मरेको प्रमुख पौडेलले जानकारी दिए।

मरेको धेरै दिनपछि भेटिएको बाघ करीब १२ वर्ष उमेरैकै रहेको उनले बताए। त्यसअघि गत साउनमा बरण्डाभार क्षेत्रको खगेरी खोलाको किनारमा वृद्ध बाघ मृत भेटिएको थियो। बाढी गएको केही दिनपछि बाघ मृत अवस्थामा फेला परेको पौडेलले बताए। बाघ बढीमा १५ वर्षसम्म बाँच्छ। औषतमा १२ देखी १३ वर्ष बाँच्ने बाघ बुढो भएपछि बासस्थान र आहाराको समस्यामा पर्ने पौडेल बताउँछन्।

निकुञ्ज भित्र मृत भेटिएका दुवै बाघ तीन वर्ष भन्दा कम उमेरका थिए । बाघ दुई वर्षको उमेरसम्म मात्र आमासँग बस्छ। त्यसर्पपछि उसलाई आँफैंले आफ्नो टेरीटोरी बनाउनुपर्ने बाध्यता हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद ढकाल बताउँछन्। ‘आमाको ठाउँ छोडेर नयाँ बासस्थामा जाँदा बच्चा बाघलाई बाँच्न धेरै चुनौती हुन्छ’ उनले भने, ‘भर्खर माउबाट छुट्एिको बच्चा वस्यक बाघको आक्रमणमा पर्ने डर धेरै रहन्छ।’

बाघ आफ्नो छुट्टै निश्चित क्षेत्रको पेरिफेरीमा बस्दछ। एउटा पेरिफेरीमा बस्ने बाघ भएको ठाउँमा अर्को बाघ आईपुग्दा लडाई हुन्छ। जसले जीत्छ त्यो क्षेत्र उसैको हुन्छ। बाघहरु एक आपसमा बासस्थान र आहाराका लागि लड्ने गर्छन्।  पोथी बाघ अरु बाघले मारेको शिकार खान पुग्दा पनि झगडा भएर लडाई भएको पाईन्छ। यसलै गर्दा लडाईमा लाग्ने चोट पटकका कारण पनि बिरामी भएर बाघ मर्छन्। पछिल्लो गणनामा नेपालमा नेपालमा १ सय ९८ बाघ पाईएकोमा चितवनमा मात्रै १ सय २० बाघ भेटिएको थियो।

प्रकाशित: १० वैशाख २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App