१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एकै दिन ५० बिन्दुले बढ्यो नेप्से

काठमाडौं – केही दिनदेखि बढिरहेको सेयर परिसूचक (नेप्से) आइतबार एकै दिन ५० भन्दा बढी बिन्दुले माथि उक्लेको छ।

विगतमा पनि आर्थिक वर्षको अन्त्यतिर सेयर परिसूचक बढ्ने गथ्र्यो । खासगरी वैशाखदेखि असारसम्म सधैं सेयर परिसूचक बढ्छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो दिन आइतबार लघुबित्त, बिमा र जलविद्युत् समूहको उपसूचक उल्लेख्य बढ्दा नेप्से ५०.१८ बिन्दुले बढेको हो । परिसूचकसँगै कारोबार संख्या र रकम समेत बढेको छ।

नेप्सेका अनुसार परिसूचक ५०.१८ बिन्दुले बढेर एक हजार चार सय ३८.४९ मा पुगेको छ । नेप्सेले ११ बजे कारोबार खोलेको १५ मिनेटमै परिसूचक १७ बिन्दुले बढ्यो। त्यसपछि कारोबारमा केही सिथिलता आउँदा १२ बिन्दुले तल झरेको नेप्से साढे १२ बजेतिर पुग्दा २३ बिन्दुले माथि गयो। त्यसपछिको कारोबारमा केही समय शिथिलता आए पनि ३ बजे कारोबार बन्द हुँदा नेप्से ५० बिन्दुले बढ्न पुगेको हो। आइतबारको कारोबारमा सेयर बजारमा धेरै उतारचढाव नआए पनि सामान्य रुपमा तलमाथि भने भइरह्यो।

यो वृद्धिसँगै नेप्से करिब पाँच महिनाको अगाडिको अवस्थामा फर्केको छ। पछिल्ला केही दिनमा नेप्से डेढ सयभन्दा बढी बिन्दुले उक्लेको छ। गत चैत २७ देखि बजार निरन्तर बढिरहेको छ।

नेप्सेका अनुसार आइतबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.०८  बिन्दुले बढेर ३०४.११ मा पुगेको छ।

आइतबार एक सय ६७ कम्पनीको २८ लाख ८९ हजार कित्ता सेयर एक अर्ब २३ करोड रुपैयाँमा किनबेच भयो। सबैभन्दा बढी कुमारी बैंकको पाँच करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

उपसूचक पनि सबै बढेका छन्। सबैभन्दा बढी लघुवित्त समूह ५.८९ प्रतिशतले बढेको छ। जलविद्युत् ५.२६, बिमा ५०.३, विकास बैंक ३.७९, फाइनान्स ३.३७, बैंक ३.२६, होटल ३.१४, उत्पादनमूलक १.७१ र अन्य १.६२ प्रतिशतले बढेका छन्।

आइतबार कारोबार भएका एक सय ६७ कम्पनीमा एक सय ५६ कम्पनीको मूल्य बढेको छ। ११ कम्पनीको घटेको छ। यसमध्ये २१ कम्पनीको सेयर धेरै बढेका कारण सर्किट ब्रेकर लागेको छ। तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

प्रकाशित: १० वैशाख २०७५ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App