१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहरमा घुम्ने ठाउँ अभाव छ’

आँचल शर्मा, नायिका

तपाईँलाई मन पर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै प्यारो लाग्छ । मेरो जन्म पनि काठमाडौं भएको हो । जन्म र कर्मको हिसाबले यो ठाउँ आफ्नैजस्तो लाग्छ । मैले आफ्नो करिअर नै यहीँबाट सुरु गरेको हुँ । मेरो मन मिल्ने साथी र आफन्त पनि काठमाडौंमै छन्। भीडभाड भए पनि यहाँ सबैखाले सुविधाहरू पाइन्छ। देशैभरका मानिसको भीड लागेकाले काठमाडौं अस्तव्यस्त भएको हो।

यहाँको अस्तव्यस्तता कम गर्न के गर्नुपर्ला ?
यहाँ भएको सेवा–सुविधा अन्तका सहरमा विकेन्द्रीकरण गर्नुपर्‍यो । सडक निर्माण छिटो सक्नुपर्‍यो। विकासका काम गर्ने सरकारी निकायहरूबीच समन्वय हुनुपर्‍यो। जनप्रतिनिधिहरूले चुनावताका गरेका अजेन्डाहरू समयमै सक्ने हो भने समस्या समाधान हुन्छ जस्तो लाग्छ। 

उपत्यका बाहिर मन पर्ने सहर कुन हो ?
मलाई पोखरा, मुस्ताङ, धरान, बुटवल, चितवनलगायत सहर राम्रो लाग्छ। यी सहर नेपालभित्रका सुन्दर सहरमध्ये पर्छन्। पोखरालाई प्रकृतिले नै सजाएको छ। यहाँ घुम्न र आनन्द लिने ठाउँ धेरै छन्। धरान नेपालको ऐतिहासिक सहर हो। यसलाई लाहुरेले सिंगारेको हो । मुस्ताङ पनि धेरैको सपनाको ठाउँ हो । यहाँ अनौठा–अनौठा प्राकृतिक दृश्य देख्न पाइन्छ। 

तपाईँको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर भन्नेबित्तिकै सफा–सुन्दर, मनमोहक र सुविधायुक्त हुनुपर्छ । सहरवासीले सहरमा छु भन्ने अनुभूति लिने खालको हुनुपर्छ। सहरका हरेक क्षेत्र व्यवस्थित देखिनुपर्छ। सहरवासीबीचमा वैरभाव हुनुहुँदैन। परेको बेला एक–अर्कालाई सहयोग गर्ने भावना हुनुपर्छ। अर्को कुरा सहरका समस्याका विषयमा नागरिकले सरकारलाई घच्घच्याइरहन सक्नुपर्छ। हाम्रा सहरमा यी कुरा पाउन मुस्किल छ। सहरमा खुट्टा तान्नेहरू धेरै छन्। 

सहरवासीको प्रवृत्ति कस्तो लाग्छ ?
सहरवासी सहरको विषयमा त्यति गम्भीर छैनन्। धेरैले आफ्नो मात्रै हेर्छन्। सहर सपार्नुपर्छ भन्ने भावना पटक्कै छैन। सहरमा बस्ने एकले अर्कालाई वास्तै गर्दैनन्। सबै आ–आफ्नो स्वार्थ सिद्धमा लागिपर्छन्। कसैले पनि आफ्ना कारणले छिमेकीलाई मर्का परेको छ भनेर हेक्का राख्दैनन्। 

सहरको विकासका लागि सहरवासीले कस्तो दायित्व वहन गर्नुपर्ला ?  
सहरमा बस्ने एक भएर सरकारी तहमा काम गर्नेलाई खबरदारी गर्ने। यति गर्दा सहर भद्रगोलु हुँदैन। अहिले हामी नागरिक नै जाग्न नसक्दा सरकारमा बस्नेले सुन्दर सहरको सपना बाड्दै ठूलो फाइदा लिएका छन्। तर, सहरको समस्या ज्यूँका त्यूँ छ । कसैले पनि सहरको विकासबारे ध्यान दिएनन्। 

तपाईँ कुन–कुन देशका सहर घुम्नुभएको छ ?
खासै घुमेकी छैन भन्दा नै हुन्छ । केही समयअघि हङकङ पुगेकी थिएँ। अरु देशका सहर घुम्ने योजनामा छु। 

उपत्यकाको धुवाँधुलो र अस्तव्यस्तता कसरी हट्ला ? 
यसबारे जिम्मेवार निकायले सोच्नुपर्ने हो। तर, ती निकायले सोचेनन्। अहिले उपत्यकावासीलाई सहरको धुवाँधुलोले सताएको छ । काठमाडौं बिग्रनुको मुख्य कारण यहाँ बस्नेले काठमाडौंलाई माध्यम मात्रै बनाए। सहर बनाउँछु भनेर कोही पनि लागेन । ट्राफिक जाम र धुवाँधुलो रोकथामको कामलाई चाँडै सक्ने हो भने सहर केही व्यवस्थित हुन्थ्यो।

तपार्इँको सपनाको सहर कस्तो हुनुपर्छ ? 
सहरमा हरेक सेवा पाइयोस् । सबैले एकैखाले सुविधा उपभोग गर्न पाउन्। बिदाको बेला घुम्न जाने प्रशस्त ठाउँहरु होऔन् । सहर हेर्दै मनमोहक लागोस् । स्वच्छ वातावरण होस् । कतै पनि प्रदूषण नदेखियोस् र सरकारी सुविधा होस्। यति भयो भने सहर सुन्दर लाग्छ होला। 

विदेश र हाम्रो देशका सहरबीच के भिन्नता पाउनुभयो ?
आधुनिकता र सफा सुग्घरको कसीमा विदेशका सहर धेरै राम्रा छन् । मैले घुमेका सहर प्रकृतिले भन्दा पनि मानिसबाट सजिएका थिए । मानिसकै सक्रियताले आज अरु देशका मरुभूमि पनि चर्चित सहर बनेका छन्। तर, प्रकृतिले सजिएका हाम्रा सहर पछि परेका छन्। हाम्रा सहर मौलिक, प्राकृतिक र ऐतिहासिक छन् । प्रकृतिले नै हाम्रा सहरलाई सुन्दर बनाएको छ। सहर व्यवस्थित गर्ने निकायले वास्ता गरेन। यहाँको सरकारले सहर बनाउने विषयमा चासो दिएको छैन । सहरमा बसेर राजनीति गर्नेहरूले नै सहरलाई बिगारेका छन्। 

उपत्यकाको मन नपर्ने पक्ष के–के हुन् ?
यहाँको प्रदूषण, ट्राफिक जाम, धुलोधुवाँ मन पर्दैन। 

यहाँका मन पर्ने पक्ष ? 
मलाई यहाँको मौसम मनपर्छ । उपत्यकाको मौसम सदावहार छ । यहाँ ऐतिहासिक मठ–मन्दिर पनि पाइन्छ।

फुर्सदको बेला सहरमा घुम्ने बानी कतिको छ ?
त्यति घुम्ने बानी छैन । फेरि हाम्रो सहरमा घुम्न र आराम गर्ने ठाउँको अभाव नै छ । सबैतिर धुवाँधुलो मात्रै छ । त्यसैले पनि त्यति घुम्न र रमाइलो गर्न हिँड्दिनँ । सुटिङकै क्रममा धेरै ठाउँ पुगेकी हुन्छु। 

सपिङ गर्न कता जानुहुन्छ ?
चावहिल र दरबारमार्ग जान्छु । त्यहाँ कुनै सामान नपाइने भन्ने हुँदैन। 

मन भएर पनि घुम्न नपाएको सहर ?
मेरो आफन्त अमेरिका हुनुहुन्छ । सकेसम्म छिट्टै त्यहाँ पुग्ने मन छ। 

पछिल्लो समय पुगेको सहर कुन हो ?
केही समय अघि सिमरा पुगेकी थिएँ । सिमरा सहर राम्रो लाग्यो । त्यहाँ उद्योग र अन्य व्यवसायहरू राम्रो रहेछ। 

सहरको फेसनलाई कतिको पछ्याउनुहुन्छ ? 
ठिकै ठिकै । आफूलाई सहज र मनपर्ने फेसन प्रयोग गर्छु। 

सहरको मनपर्ने खान्की के हो ? 
मलाई बाहिरको खाना र खाजा त्यति रुच्दैन । घरमै बनाएको दाल, भात र तरकारी खान्छु।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १० वैशाख २०७५ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App