१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

साना- यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन्। यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। 

“अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जना हताहत भएका छन्,” एक जना उच्च स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्ह्वासँग टेलिफोनमार्फत भने। उनले थपे, “तीमध्ये केहीको मृत्यु र केही घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।” एकजना सुरक्षा अधिकारीका अनुसार लडाकू विमानबाट वैवाहिक समारोहमा दुई वटा बम खसालिएको थियो। घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो। 

बम विस्फोटनमा परी वैवाहिक समारोहनजिकै रहेका घर, सवारी साधनलगायत नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्।  यमनमा गत तीन वर्षदेखि हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा भिडन्त हुँदै आएको छ। 

गठबन्धन सेनाले गत शुक्रबार पनि दक्षिणपश्चिमी ताइज प्रान्तमा हवाई आक्रमण गरेको थियो। घटनामा परी कम्तीमा १७ जना मारिएका थिए । चर्चित स्थानीय बजारबाट घर फर्किँदै गरेका यात्रु चढेको सार्वजनिक दुईवटा सवारी साधनमा आक्रमण हुँदा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन्।

यमनमा अहिले चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म झण्डै दश हजार यमनी नागरिक मारिएका छन्, भने लाखाैं विस्थापित भएका छन्। मानवीय संकटको दृष्टिकोणले अहिले यमन विश्वकै द्वन्द्वग्रस्त क्षेत्रमा देशहरुको सूचीमा रहेको छ।

प्रकाशित: १० वैशाख २०७५ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App