१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सरकारले प्राथमिकता दिँदैन

मकवानपुर – मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्। मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भएपनि सरकारले कम प्राथमिकता दिदै आएकोमा उनले गुनासो पनि पोखिन्।

गृहनगर हेटौंडा आएकी उनले पत्रकारसँग कुरा गर्दै खेलाडीहरुलाई जस्तै सरकारले मिस नेपाललाई पनि सहयोग गर्नुपर्नेमा जोड दिईन् । ‘मिस वर्ल्डमा शृङ्खला भनेर बोलाईदैन, मिस नेपाल भनेरै चिनिन्छ,’ उनले भनिन् ‘त्यसलाई बुझेर सरकारले महत्व दिए विश्वभरै राम्रो सन्देश जान्थ्यो र हामीलाई उत्साह मिल्थ्यो।’

प्रायः सबै मिस नेपाल उपाधी बिजेताहरु फिल्मी क्षेत्रमा छन्, तपाईको योजना के छ ? भन्ने पत्रकारको प्रश्नमा उनले फिल्मी क्षेत्रमा कुनै रुची नभएको बताईन् । ‘मेरो रुची नै आर्किटेक्टमा रहेको छ,’ उनले भावी योजनाबारे सुनाउँदै भनिन् ‘मेरो अभिनय र नृत्य राम्रो छैन, त्यसैले रुची, दक्षता नभएको फिल्मी क्षेत्रमा आउँने सम्भावना छैन।’

आमा मुनु र बाबु बिरोध खतिवडा राजनीतिकर्मी भएपनि राजनीतिमा आउनेबारे स्पष्ट बताईनन् । उनले राजनीति बुझ्नुपर्ने भन्दै युवामा बितृष्णा भएपनि बुझाईको कमी रहेको बताईन् । राजनीति नबुझी हालेको भोट विकास र प्रगतिको बाधक हुने भन्दै उनले राजनीतिमा लाग्ने खासै रुची नभएको तर्क गरिन्।

‘मिस वर्ल्डमा बालिका बलात्कार, बालबालिका शिक्षा, महिला शिक्षालगायतका धेरै बिषय छन्,’ उनले भनिन् ‘दीर्घकालिन प्रभाव पार्ने बिषयलाई छनौट गरेर मिस वल्र्डमा प्रस्तुत गर्नेछु ।’ पूर्व मिस नेपाल ईशानी श्रेष्ठले मिस वल्र्डको हालसम्मको ब्यूटी विथ प्रपर्स उपाधीसहित उत्कृष्ट ५ मा पर्न सफल रहेको भन्दै आफुले पनि राम्रो उपलब्धी हासिल गर्न पहल गर्ने बताईन् । मिस नेपाल भएपछि केही उदाहरणीय काम गृह जिल्लामै गर्ने पनि खुलासा गरिन्।

यसैबिच, मिस नेपाल खतिवडाले मंगलबार गृहनगर हेटौंडामा मानवसेवा आश्रममा आश्रित ७५ जना बृद्धबृद्धा र बालबालिकालाई खाना खुवाईन् । आमा मुनु सिग्देल र बाबु बिरोध खतिवडासहित आश्रम पुगेकी उनले बृद्धबृद्धालाई चकलेट बाँडेर खुशी पनि साटिन्। मिस नेपाल खतिवडाको आमा सिग्देल एमाले जिल्ला अध्यक्ष एवम् प्रदेशसभा सदस्य हुन् भने बाबु खतिवडा प्रतिनिधि सभाका साँसद एवम् एमालेका केन्द्रिय सदस्य हुन्।

त्यस्तै, मिस नेपाल खतिवडालाई जिल्ला युवा समिति, प्याब्सन, लायन्स क्लबहरु, सम्पूर्ण जेसिजहरु, लियो क्लबहरु र राष्ट्रिय सौन्दर्यकर्मी संघले हेटौंडामा मंगलबार सम्मानित गरेको छ । उनलाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सम्मान पत्र र खादा ओडाएर सम्मान गरेकी हुन् । सम्मानपछि बोल्दै प्रदेश प्रमुख कोईरालाले मिस नेपालले नेपालको महिला, बालिका र उनीहरुको शिक्षालगायत सामाजिक मुद्धालाई उठान गर्नुपर्नेमा जोड दिईन्।

प्रकाशित: १२ वैशाख २०७५ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App