१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

टिपटपमा भीड

न्युरोड, विशाल बजारबाट पछाडि मोडिएपछि एउटा सानो गल्ली आउँछ । गल्लीभित्र छिरेपछि देखिन्छ, सौगात स्विट्स ।गत बुधबार त्यहाँ पुग्दा ग्राहक खचाखच भरिएका थिए । रातो टिसर्ट र सेतो तथा लाम्चो टोपी लगाएका कर्मचारीहरू ग्राहकलाई रोजाइअनुसार समोसा, पानीपुरी, मिठाइ, जेरीलगायत परिकार ‘सर्भ’ गर्दै थिए।

पसलको एक कुनामा समोसा खानेहरूको हुल देखिन्थ्यो । केही ग्राहकहरू हातमा टपरी लिएर समोसा खान मस्त थिए त केही अर्डरको प्रतीक्षा गरिरहेका थिए । पसलमा उभिएर खानेहरू पनि थिए । हेर्दा लाग्थ्यो– त्यहाँ बस्ने ठाउँको उचित व्यवस्थापन छैन । सौगात स्विट्स ‘टिपटप’को नामले चिनिन्छ।

समोसा भारतीय परिकार हो । मुछिएको मैदाको पिठोलाई त्रिकोणात्मक आकार बनाई त्यसमा उसिनेको आलुलगायत मरमसला मिसाएर तेलमा तारी समोसा तयार गरिन्छ । आलुको सट्टा मासु राखेर पनि समोसा बनाउन सकिन्छ । नेपालमा भने आलु राखेर मात्रै समोसा बनाउने चलन छ । समोसालाई विशेष गरेर खाजाका रूपमा खाइन्छ । समोसामा आलु र तेलको प्रयोग बढी हुनाले सुगर तथा कोलस्टोरका बिरामीले नखानु उपयुक्त हुने चिकित्सक बताउँछन् ।  

आलुको सट्टा मासु राखेर पनि समोसा बनाउन सकिन्छ । नेपालमा भने आलु राखेर मात्रै समोसा बनाउने चलन छ । समोसालाई विशेष गरेर खाजाका रूपमा खाइन्छ । समोसामा आलु र तेलको प्रयोग बढी हुनाले सुगर तथा कोलस्टोरका बिरामीले नखानु उपयुक्त हुने चिकित्सक बताउँछन्।

सौगात स्विट्स ‘टिपटप’को नामले चर्चित भए पनि टिपटप सौगात स्विट्सकै अगाडि रहेको टेलरको नाम हो । ग्राहकले नै पसलको नाम ‘टिपटप’ राखेको शर्मा बताउँछन् । उनी भन्छन्, ‘यो पसलको नाम एकले अर्कालाई भनेर नै टिपटप रहन गएको हो ।’सौगात स्विटस्मा विभिन्न प्रकारका मिठाइ, ड्राइ फुड, दही पाइन्छन्।

बुधबार मात्रै होइन, सौगात स्विट्समा दिनहुँ भीडभाड हुने गरेको छ । समोसा भन्नेबित्तिकै हर कोहीको मुखमा टिपटप आउने बताउँछन्, म्यानेजर शैलेन्द्र शर्मा।दिनको ११ः३० मा पसल खोल्नेबित्तिकै मानिसको भीड बढ्न सुरु हुने उनले बताए । उनी भन्छन्, ‘दिउँसो ११ः३० बजेदेखि साँझ ७ बजेसम्म मानिसको भीड थामिनसक्नु हुन्छ, त्यसपछि पसल बन्द गर्छौं ।’

शैलेन्द्रका काका सुरेन्द्रले ४० वर्षअघि पसल सञ्चालन गरेका हुन् । उनले बर्माबाट भारतको राजस्थान हुँदै काठमाडौंमा चिया पसल सञ्चालन गरेको शैलेन्द्र बताउँछन् । त्यही चिया पसल अहिले सौगात स्विट्सका रूपमा परिचित छ । अहिले सुरेन्द्र घरमै बस्ने गरेका छन् ।
काठमाडौंको लगनखेल र महाराजगन्जमा पनि पसलका शाखा रहेको शैलेन्द्र बताउँछन् ।
अहिले यो पसल समोसाका पारखीको मनपर्ने ठाउँ बनेको छ ।

एउटा समोसाको २५ रूपैयाँ पर्ने उनी बताउँछन् । अफिसको समयमा भीडभाड बढी हुने उनले बताए । उनी भन्छन्, ‘अफिस टाइममा निकै भीड हुन्छ ।’ पछिल्लो समय समोसाप्रति मोह बढेको उनले बताए । आफ्नो पसलको समोसाको स्वाद ग्राहकहरूले निकै रुचाएको उनको दाबी छ।समोसा बनाउँदा निकै ध्यान दिएको उनी बताउँछन् । भान्सा घरको सरसफाइमा पनि ध्यान दिएको उनले बताए । उनी भन्छन्, ‘ध्यान दिँदादिँदै पनि कहिलेकाहीँ दुर्घटना हुन्छ, तर, पनि हामी यो सब कुरामा सचेत छौं।’

उनले समोसा बेच्न सुरु गर्दा प्रतिगोटाको तीन मोर रूपैयाँ थियो । त्योबेलादेखि अहिलेसम्म समोसामा राखिने मरमसलामा कुनै परिवर्तन नभएको उनी बताउँछन्।ग्राहकको सन्तुष्ठिलाई कतिको ध्यान दिनुहुन्छ ? ‘यहाँको भीडले नै ग्राहक सन्तुष्ठ भएको देखाउँछ,’ उनले हास्दै भने।उनी पसलमा समोसाकै पारखी बढी आउने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘यहाँको ९० प्रतिशत व्यापार समोसाकै हुन्छ।’

सातदोबाटो बस्ने सन्दीप सदा समोसा र जेरी खान टिपटपमा पुग्ने गर्छन् । उनी आफूलाई समोसा र जेरीको पारखी नै भन्छन् । उनी भन्छन्, ‘म समोसा खान प्रायः टिपटपमै आउँछु । खोजेजस्तो स्वाद भएकाले समोसा खान यही आउने गरेको उनले बताए । ‘लाइनमा उभिएर पनि समोसा खाने गरेको छु,’ उनले हास्दै भने।  

वसन्तपुर बस्ने देवीराम लामिछाने समोसा खान टिपटप नै पुग्छन् । टिपटपको समोसा र सस उनलाई निकै मन पर्छ । कलेजबाट फर्कँदा उनी टिपटपमा पुग्ने गरेका छन् । मिठो स्वाद भएकाले नै समोसा खान जाने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ बनाइएको समोसा निकै मन पर्छ, समोसामा मिसाइएको मसला पनि मन पर्छ ।’ टिपटपमा समोसासँग दिइने सस आफूलाई निकै मनपर्ने उनको भनाइ छ।

बानेश्वरका अनिल शर्मालाई टिपटपको जेरी निकै मन पर्छ । उनी टिपटपमा जेरी खान जान सुरु गरेको सात वर्षभन्दा बढी भइसक्यो । सात वर्षअगाडि प्रतिगोटा जेरी १० रूपैयाँमा खान सुरु गरेको उनी बताउँछन् । अहिले प्रतिगोटा जेरीको मूल्य २३ रूपैयाँ पर्छ । उनी भन्छन्, ‘सुरुदेखि नै टिपटपमा नै खान थालेको हुँ,’ उनले भने । टिपटपमा तात्तातो जेरी पाइने भएकाले त्यही जाने गरेको उनले सुनाए।

प्रकाशित: १४ वैशाख २०७५ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App