१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कम्पनी जस्तो एमाले लोकतन्त्रका लागि खतरा : गगन थापा

मकवानपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपा एमाले लोकतन्त्रका लागि खतरा भएको गम्भीर आरोप लगाएका छन्। उनले एमाले पार्टी प्राइभेट कम्पनी जस्तो भएको भन्दै यस्तो पार्टी भएको देशमा प्रजातन्त्रले कहिल्यै फस्टाउन नपाउने दाबी गरे।

नेपाली काँग्रेस मकवानपुरको जिल्ला सम्मेलनको सोमबार हेटौंडामा उद्घाटन गरेपछि उनले एमाले पार्टी जस्तो कम्पनीमा १० लाख मानिसले काम गरिरहेको भन्दै ब्यङ्ग्य गरे। ‘अन्यथा नलिनुहोला भन्नैपर्छ, प्रत्येक कार्यकर्ताको जिविकोपार्जन एमालेसँग जोडिएको छ,’ उनले थपे ‘तर एमाले सरकारमा भएन भने एमालेको दशौं लाख कार्यकर्ताको बिल्लीबास हुन्छ, किनभने विद्यालय व्यवस्थापन समिति पनि उसैले चलाएको छ, एनजिओ, रेडियो, वन समूह, बैक÷वित्तीय संस्था जहाँ पनि उही छ।’

‘के सबै जादुगर जस्तो भएर भएको हो?’ प्रश्न गर्दै उनले थपे ‘त्यो बनाईएको हो, दश लाख जति मान्छेको कम्पनी बनाएको छ, प्रत्येकको जिविकोपार्जन एमालेसँग जोडिएर चलिरहेको छ, तर काँग्रेस त्यो बाटोमा कहिल्यै थिएन र जाँदैन।’

एमाले र माओवादी पार्टी एकता प्रकृयाबारे पनि केन्द्रीय सदस्य थापाले आक्रोश पोखे। ‘एमाले र माओवादी मिलेर सरकार बनाउनुभएको छ, एकता चाँडो होस् शुभकामना छ,’ उनले भने ‘को अध्यक्ष बन्ने को प्रधानमन्त्री बन्ने हिसाबकिताब मिलाउन सक्नुहुन्न, अनि विदेशीलाई दोष दिने? हिम्मत छ भने केपी र प्रचण्डलाई भन्छु, नेपालमा कम्युनिष्ट पार्टी मिल्न नदिने को हो भन्नुस् हैन भने नक्कली कुरा नगर्नुस्।’

संघीयता कार्यान्वयन सफल बनाउन सत्तारुढ एमाले, माओवादीले नै नचाहेको पनि उनले जिकिर गरे। ‘संघीय संसदीय व्यवस्था असफल हुँदा प्रचण्ड र केपी ओली खुसी हुनुहुन्छ, किनभने चल्छ भन्नेमा उहाँहरुलाई विश्वास नै छैन, तर हामी दुईवटै चलाउनै पर्छ भन्नेमा छौं,’ उनले भने।

बाम गठबन्धन सरकारसँग परिणाममुखी विकास गर्नुको बिकल्प नरहेको भन्दै उनले परराष्ट्र सम्बन्धबारे सरकारको आलोचना गरे। ‘वर्तमान सरकारले विदेश नीतिलाई उत्ताउलो र बचपन तरिकाले सम्मालिरहेको छ,’ उनले सुझाव दिदै भने ‘नेपाल सार्वभौम छ, नेपालका थुप्रै संवेदशनशील विषय छन्, हतारमा अपरिपक्व ढंगले योपनि गर्छु त्योपनि गर्छु भनेर निष्कर्षमा पुग्न सकिँदैन।’

नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी र मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीतर्फ संकेत गर्दै शान्तिपूर्ण राजनीतिमा आउन चेतावनीपूर्वक अनुरोध गरे। उनले भने ‘हिंसाको माध्यमबाट देशमा परिवर्तन ल्याउँछु भन्नेलाई अनुरोध छ, संविधानभन्दा बाहिर कोही छैन, संविधानले सबैलाई अधिकार दिएको छ, सबै कुरालाई छाडेर प्रतिस्पर्धाको राजनीतिमा आउन आग्रह गर्दछु, आग्रहलाई कमजोरी नठानियोस्।’ जात र धर्मको नाममा हुने कुनैपनि अतिवाद काँग्रेसलाई स्वीकार्य नभएको भन्दै उनले नेपाल सबैको साझा भएको र काँग्रेस सबैको सम्मानको लागि लड्ने बताए।

प्रकाशित: १७ वैशाख २०७५ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App