१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सर्जक एक, नाट्यकृति चार

काठमाडौं – ७९ वर्ष टेकि सके पनि उनको लेखन सक्रियता लोभलाग्दो छ । विभिन्न साहित्यिक तथा सामाजिक कार्यक्रममा उनको सहभागिता घटेको छैन। कतिपय साहित्यकार तथा पाठकले उनलाई ‘जाँगरिला  सर्जक’  भन्ने गर्छन्। ‘पहिले संस्मरण, कथा, उपन्यासमा बढी कलम चलाएको थिएँ, केही समययता ‘नाटक’लेखनमा क्रियाशील भएँ,’ उनी भन्छन्।

कथा, उपन्यास, कविता र यात्रा संस्मरणमा कलम चलाउँदै आएका साहित्यकार सूब सेन एकैचोटि चार नाटक कृति लिएर आएका छन्  । ‘शहीद कृष्णलाल’, ‘शहीदसभा’, ‘मैनाबहादुर खण्डमान’ र ‘लखन थापा जयसिंह चुमी’ उनका पछिल्ला नाटक कृति हुन् । केही समयअघि दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा यी कृति सार्वजनिक गरिएको थियो ।  पछिल्लो समय सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित ऐतिहासिक नाटक लेखनमा केन्द्रित भएको उनी बताउँछन्।

दुई वर्षअघि उनको ‘शहीदको रगत’ नाटककृति पनि प्रकाशित भइरहेको छ । २०४७ सालसम्म सरकारको प्रशासनिक सेवामा रहेर काम गरेका उनी पछिल्लो समय साहित्य सिर्जना तथा अनुसन्धानमा संलग्न छन् । उनका चार दर्जनजति साहित्यिक कृति प्रकाशित भइसकेका छन्।  

गाउँका निमुखा, उत्पीडित र विपन्न किसानले न्याय पाउनुपर्छ भन्ने सन्देश बोेकेको ‘मकैको खेती’ नामक किताब लेखेका थिए  सुब्बा कृष्णलाल अधिकारीले । कृष्णलाललाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा जेलमा राखी कठोर सजाय दिएकै कारणले उनको मृत्यु भयो । ‘शहीद कृष्णलाल’ नाटक संग्रह यही कथाको सेरोफेरोमा घुमेको छ । नाटककारले मुख्य पात्र कृष्णलाललाई दृढ निश्चयी चेतनशील नायकका रूपमा उभ्याएका समाचालोक प्राध्यापक गोपीकृष्ण शर्माको मूल्यांकन छ । ‘कृष्णलाल आफ्नो निर्णयबाट विचलित हुँदैनन्, राणा शासकका सामु माफी माग्दैनन्, बरु मृत्युवरण गर्न तयार हुन्छन्,’ शर्माले उल्लेख गरेका छन्।

सेनको ‘शहीदसभा’ नाटकले देशको लागि प्राण आहुति दिने शहीदहरूको योगदानको कदर नभएसम्म देश अगाडि बढ्न नसक्ने सन्देश दिएको छ ।  देशमा बढिरहेको बेथिति, अनियमितता र  कुशासन चित्त नबुझेर स्वर्गमा नेपालका शहीदहरुको सभा बसेर राजनीतिकर्मी तथा अभियन्तालाई घच्घच्याएको दृश्य नाटकमा देखाइएको छ । यसैगरी, ‘मैनाबहादुर खण्डमान’ र ‘लखन थापा जयसिंह चुमी’ नाटककृति पनि शहीदको बलिदानीको सेरोफेरामै रचिएका हुन् । राणाकालीन समयमा ‘प्रचण्ड गोर्खा’ नामक संस्था खोलेर जनताको हितका लागि काम गर्दा क्रूर यातनाको सिकार भएका युवाहरूको कथा सेमटिएको छ । यसैगरी, शासकहरुको अन्याय तथा अत्याचारको विरुद्घ सहादत हुने सपूतहरुको गाथा उल्लेख गरिएको ट–‘ लखन थापा जयसिंह चुमी’ नाट्यकृतिमा। 

सूब सेनले ऐतिहासिक पृष्ठभूमिमा आधारित नाटक लेखे पनि यस्ता खालका अन्य नाटकभन्दा फरक प्रस्तुति रहेको वरिष्ठ नाटककार अशेष मल्लको भनाइ छ । ‘एक पात्रको नायकत्व मात्र होइन, विभिन्न समयमा छुट्टाछुट्टै पात्रहरूले खेलेको भूमिकालाई समेत नाटकमा समेटिनु फरक प्रवृत्ति हो,’ मल्लले उल्लेख गरेका छन्।  

२०३३ सालमा देशदर्शन प्रथमखण्ड (यात्रा संस्मरण) प्रकाशित गरेर साहित्यिक यात्रा सुरु गरेका सेनले त्यसयता निरन्तर लेख्दै आएका छन्  । ‘आफूले देखेभोगेका घटना समेटेर दुःखी, गरिब र पीडितको समस्या चित्रण गर्नका लागि मैले लेख्दै आएको छु,’ उनी भन्छन् ।  १४ वर्षअघि प्रकाशित उनको चर्चित ‘मेरो कथाहरूको कथा’ संस्मरणात्मक कृतिले पञ्चायतकालमा भएका बेथिति, भ्रष्टाचार, नातावाद, कृपावादजस्ता विसंगत पक्ष उजागर गरेको थियो । पञ्चायतकालमै पोखरामा भएको ‘नमिता–सुनिता हत्याकाण्ड’को भित्री पाटाहरूसमेत उक्त किताबमा उल्लेख गरिएको थियो। 

प्रकाशित: २१ वैशाख २०७५ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App