२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यसरी भित्रिन्छ हरिया मकै

काठमाडौंका सडक किनार र चोकहरूमा मकै पोलेर बेच्नेहरू धेरै छन् । ती व्यापारीकहाँ आउने मकैका पारखी पनि कम छैनन् । ती व्यापारीले मकै कहाँबाट ल्याउँछन् त ? यसबारे धेरैलाई थाहा नहुन सक्छ । मकै पोलेर बेच्नेहरूसँग मकै पुग्न विभिन्न चरण पार गर्नुपर्छ । किसान, साना व्यापारी हुँदै ठूला व्यापारीबाट उपत्यकामा मकै भित्रिन्छ। 

तराईका रौतहट, बारा, पर्सा, चितवन र उपत्यका आसपासका धादिङ, काभ्रे, नुवाकोट जिल्लाबाट मकै ल्याउने गरेको व्यापारी सुनाउँछन् । २०५२ सालदेखि मकै व्यवसाय गर्दै आएका सुरेश श्रेष्ठ तराईमा उत्पादित मकै काठमाडौंसम्म ल्याउन सहज नभएको बताउँछन् । धादिङ घर भएका उनले मकै व्यवसायबाट पाँच जनाको परिवार चलाउँदै आएको सुनाए । उनी भन्छन्, ‘हामीले किसानसँग सम्झौता गरेका हुन्छौं, मकै पाक्ने बेला भएपछि उनीहरूले बोलाउँछन्, मकै पाकेपछि हामीले मकैको घोगा टिपेर ट्रकमा लोड गरेर ल्याउँछौं।’

उनका अनुसार किसानको बारीबाट ल्याएको मकै होलसेलरकहाँ राखिन्छ । त्यहीबाट व्यापारीले मकै किन्ने गरेका छन् । व्यापारीका अनुसार मकै ल्याउनका लागि ठाउँ–ठाउँमा कामदार पनि राखिएको छ।

‘काठमाडौंमा मकै व्यापार गर्ने होलसेलरहरू आठभन्दा बढी छन्, सबैका आ–आफ्नै ग्राहकहरू हुन्छन्,’ उनले भने, ‘सबैले ग्राहक बनाएरै व्यवसाय गरेकोले तराईबाट दुःख गरेर काठमाडौंमा ल्याएको मकै खेर जाँदैन ।’ उनले पछिल्लो समय काठमाडौमा मकै बेचेर गुजारा चलाउनेहरूको लहर नै चलेको बताए । उनले लगानी गर्न इच्छुक तर बीउ किन्न नसक्ने किसानलाई निःशुल्क बीउ वितरण गर्दै आएको जानकारी दिए । ‘बीउ किन्न नसक्ने किसानहरूलाई बीउ पनि उपलब्ध गराउँदै आएका छौं,’ उनले सुनाए, ‘बीउ पाउने भएपछि किसानहरू पनि खुसी भएर मकै खेती गर्दै आएका छन् ।’ पहिले गरिबले गर्ने पेशाको रूपमा चिनिएको मकै व्यवसायमा पछिल्लो समय आर्थिक अवस्था राम्रो भएका व्यक्तिहरू पनि संलग्न हुँदै आएको व्यावसायीको भनाई छ।

काठमाडौंमा दैनिक दुईदेखि चार ट्रकसम्म मकै खपत हुने गरेको धादिङकै अर्का मकै व्यवसायी रमेश श्रेष्ठको अनुभव छ । उनको अनुभवमा मकै व्यवसाय सजिलो छ । सामान्य ढंगले पनि यो व्यवसाय गर्न सकिने उनी बताउँछन् । ‘असारदेखि कात्तिकसम्म त्यति जाँदैन, अरु महिनामा खोसाखोस हुन्छ,’ उनले थपे, ‘झन्झटिलो भए पनि साना व्यापारीहरूले यसबाटै दैनिकी गुजारेका छन्।’

किसानहरूका अनुसार अहिले मकैमा घाटा छ । हावाहुरीले बोट ढलेपछि उत्पादन राम्रो नहुने उनीहरूको गुनासो छ । ‘हावा चल्यो भने पूरै बारी नै खाली हुन्छ,’ व्यवसायी श्रेष्ठले सुनाए, ‘मलको पनि समस्या छ । पछिल्लो समय किसानहरूले  गाईवस्तु पाल्न छाडेका छन्, जसले गर्दा रासायनिक मल प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार अहिले चितवन मकैका लागि उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादित मकै काठमाडौंलगायत अन्य जिल्लामा पठाइन्छ।

उनका मकै किन्ने ग्राहक १ सय २० छन् । उनी ठूलो घोगाको ११ र सानोको ५ रूपैयाँमा मकै बेच्छन् । उनका अनुसार व्यावसायीले किसानलाई प्रतिक्विन्टल मकैको पाँच हजार रूपैयाँ दिने गरेका छन् । यसमा नाफा–घाटा जे भए पनि बीचकोले नै बेहोर्छन् । तराईबाट लोड भएको एक ट्रकमा एक लाख रूपैयाँको मकै अट्छ । उक्त रकम १६ ठाउँमा भाग लगाइन्छ।

अर्का व्यावसायी सुन्दर श्रेष्ठका अनुसार पछिल्लो समय स्ट्रिट व्यापारीहरूलाई नगरपालिकाले तनाव दिन थालेको छ । जसका कारण तराईमा उत्पादन भएको मकैमा पनि असर पर्छ । ‘हामीले ११ मा दिएको मकै फुटपाथ व्यापारीहरूले पोलेर २५ रूपैयाँसम्ममा बेच्छन्,’ उनले भने, ‘वार्षिक एक जनाको भागमा दुई लाख ५० हजारसम्म नाफा हुने गरेको छ ।’ उनका अनुसार विभिन्न ठाउँबाट काठमाडौं आएको मकैको ढुवानी पनि महँगो नै छ।

चितवनबाट काठमाडौं ल्याएको ढुवानी २० हजार लाग्छ भने बारा, पर्सा, रौतहटलगायत जिल्लाको ढुवानी खर्च ३० हजारभन्दा माथि पर्छ । उनले २०५३ सालसम्म राम्रो व्यापार रहेको बताए । त्यसपछि भने नगरपालिकाले खेद्न थालेको र मकै व्यवसाय पनि खस्कँदै गएको उनको भनाई छ । ‘नगरपालिकाले हामीलाई पनि कुनै क्षेत्र तोकिदिएको छैन, त्यसैले ठाउँ तोकिदिएको भए राम्रो हुन्थ्यो,’ उनले थपे, ‘अहिले धानमाभन्दा मकैमा राम्रो आम्दानी छ । तर, सरकारले यसबारे कुनै योजना ल्याएको छैन ।’ किसानहरुको अनुसार मकै ६० भन्दा बढी प्रजातिका हुन्छन् । तीमध्ये पोलेर खानको लागि ‘सिप्रियाम’, ‘शंकर’ र ‘श्रेष्ठ’ जातको मकै नै प्रयोग हुन्छ।

मकै कम बिक्री हुँदा पनि गुजारा चलाउन गाह्रो नभएको फुटपाथमा मकै बेच्नेहरू सुनाउँछन् । मकै बेचेर धेरैको गुजारा चलेको उनको भनाइ छ । ‘आफैले तराईबाट मकै ल्याएर बेच्न सक्दैनौं,’ काठमाडौंको सुन्धारामा  पाँच वर्षदेखि मकै बेच्दै आएकी सानुमाया श्रेष्ठले सुनाइन्, ‘तराईबाट आएका मकैले काठमाडौंमा कैयौंले आफ्नो दैनिकी चलाएका छन् ।’ उनले दैनिक २० देखि ५० घोगासम्म मकै बिक्री हुने गरेको बताइन् । ‘मकै रुचाउनेहरूको संख्या बढेको छ,’ उनले भनिन्, ‘सुगरका बिरामीहरूले त झन् दैनिक रूपमा मकै खोज्दै आउँछन्।’

प्रकाशित: २१ वैशाख २०७५ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App