१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वागमतीका पुल पूरा नहुँदा रौतहट र सर्लाहीबासीलाई सास्ती

रौतहट – रौतहट र सर्लाहीलाई जोड्ने वागमती नदीका विभिन्न ठाउँमा बनाउन थालिएका पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ। वागमती नदीमा एकैचोटि चारवटा पुल निर्माणाधीन छन्। तर यी पुल समयमा सम्पन्न नहुँदा दुवै जिल्ला हजारौं बासिन्दा लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य भएका हुन्।

रौतहटतिरबाट आधार मानेर हेर्दा दुर्गा भगवती गाउँपािलकाको बडहर्वा र पिपरा, गढीमाई नगरपालिकाका सिङारमन र समनपुरमा गरी वागमती पुलमा चारवटा पुल निर्माणाधीन छन्। २०६७ जेठ ३१ मा निर्माण सम्झौता भएर २०७० जेठ ३० सम्म बनाइ सक्नुपर्ने बडहर्वाको पुल अधुरै छ। उक्त पुलभन्दा आठ सय मिटर पूर्वबाट वागमती नदी बग्न थालेपछि निर्माण रोकिएको हो। वागमतीले धार परिवर्तन गरेपछि पुल निर्माण रोकिएको हुलाकी सडक आयोजनाले जनाएको छ। पुल एकातिर र खोला अर्कातिर हुने भएपछि आयोजनाले नै काम रोकेको आयोजना निर्देशनालयका कायम मुकायम निर्देशक श्यामप्रसाद खरेलको भनाइ छ।

दुर्गा भगवती गाउँपालिका प्रमुख अरुण साहका अनुसार पुल नबन्दा दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा, दैनिक आवतजावत गनुपर्र्ने छिमेकी जिल्ला सर्लाही जान, भारतको बाटो प्रयोग गर्न बाध्य छन्। बडहर्वामा पुल निर्माण रोकिएको पाँच वर्षभन्दा बढी भइसक्दा पनि सरकारले काम अघि नबढाएको उनी गुनासो गर्छन् । तर आयोजना प्रमुख खरेलले अब केही महिनाभित्रै ठेकेदारलाई बोलाएर पुल निर्माण पुनः सुरु गरिने दाबी गरेका छन्। पुल निर्माण पुनः सुरु गर्ने विषयमा अब केही हप्ताभित्रै गरिने खरेलको भनाइ छ। बडहर्वाभन्दा करिब पाँच किलोमिटर उत्तर पिपरा बजार नजिक पनि वागमतीमा पुल बन्न थालेको छ। तर पुल निर्माणको गति सुस्त रहेको बडहर्वा गाउँपालिका प्रमुख साह बताउँछन्। त्यसैले निर्माण व्यावसायीलाई भेटेर समयमा पुल निर्माण सक्न आग्रह र दबाब दिने काम भइरहेको उनले जानकारी दिए।

यसैगरी पिपरा बजारभन्दा करिब आठ किलोमिटर उत्तर गढीमाई नगरपालिका–७, सिङारमनमा निर्माणाधीन पुलको काम पनि सुस्त देखिएको छ। समयमा पुल सक्न निरन्तर दबाब दिइरहेको नगर प्रमुख श्याप्रसाद यादव बताउँछन्। समनपुरमा निर्माण भइरहेको पुलभन्दा सिङारमनको पुल निर्माण केही सन्तोषजनक रहेको उनको भनाइ छ। गढीमाई नगरपालिकाकै समनपुरमा निर्माण भइरहेको वागमतीको अर्को ठूलो पुल पनि अधुरै छ। सम्झौताअनुसार पुल बनाइसक्नुपर्ने पहिलो म्याद चैतमै सकिएको छ तर पुनः म्याद थप गरेर २०७५ फागुनसम्म पु-याइएको निर्माण कम्पनीका सुपर भाइजर हरि उपाध्यायले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कर्मैयास्थित वागमती नदीमा एउटा मात्र पुल छ। कर्मैयाको पुलदेखि भारतको सिमानासम्म करिब ४० किलोमिटर लामो वागमती नदीमा अन्त कतै पनि पुल नहुँदा रौतहट र सर्लाही दुवै जिल्लाका हजारौं बासिन्दा सवारी साधनमार्फत यात्रा गर्दा भारत पुगेर नदी वारपार गर्न बाध्य छन्।

भारतको बैरगनियास्थित वागमती नदीमा पुल भएकाले नेपालका नागरिक जम्मा तीन किलोमिटरको बाटोका लागि झन्डै ४० किलोमिटर टाढा पुग्न बाध्य भएका हुन्। वागमती नदीमा निर्माणाधीन पुलहरू समयमै पूरा नहुँदा हजारौँ नागरिकले सास्ती पाउनुका साथै लाखौं खर्चसमेत भइरहेको रौतहट बडहर्वाका वीरेन्द्र साह गुनासो गर्छन्। पुल नभएकै कारण वर्षायामका बेला चार महिनासम्म दुई जिल्लाबासीको सम्पर्क विच्छेद हुने गरेको उनी बताउँछन्।

प्रकाशित: ३० वैशाख २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App