२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘ बौद्ध सर्किट बनाउँछु’

हितमान तामाङ
वडाध्यक्ष, शंखरापुर नगरपालिका–८

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तह अव्यस्थित ढंगले सञ्चालन हुँदै आइराखेको थियो।

निर्वाचित भएर आएसँगै वडा कार्यालयले दिने सेवाप्रवाहमा धेरै सुधार ल्याएका छौं । नगरपालिकामा भूकम्पपीडितहरू नक्सा पास गराउनको लागि भीड लाग्ने गथ्र्याे । नगर कार्यपालिकाको बैंठकबाट ‘घ’ वर्गमा पर्ने भवन निर्माणको नक्सा पास गर्ने जिम्मेवारी वडा कार्यालयलाई प्रत्यायोजन गरेको छ । वडा कार्यालयबाटै नक्सा पास हुने व्यवस्था गरेसँगै स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भइराखेका छन् । एक महिनाकै अवधिमा वडा कार्यालयले ३० भन्दा धेरै नक्सा पास गरिसकेको छ । वडा कार्यालयले आधा दर्जनभन्दा धेरै ८ फिटे र १० फिटे गोरेटो बाटोलाई १० मिटर चौडा कायम गरेर विस्तार गरिरहेको छ ।

तपाईँको वडामा खानेपानीको चरम हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
वडामा पर्याप्त खानेपानीका स्रोत छैनन् । भएका खानेपानीका स्रोत समेत सुक्दै गइराखेका छन् । जसको कारणले वर्षेनी वडामा खानेपानीको समस्या बढ्दै गइराखेको छ । जनसंख्या वृद्धिसँगै खानेपानीको स्रोत बढाउन नसक्दा खानेपानीको हाहाकार भएको छ।

घुमार चोकको तल्लो भेग, भुल्भु, कार्कीगाउँलगायत स्थानमा खानेपानीको विकराल समस्या देखिँदै आइराखेको छ । वडामा खानेपानी व्यवस्थापनको लागि मनिचुड बृहत् खानेपानी आयोजनाअन्तर्गत काम अगाडि बढाइरहेका छौं । पानीको मुहानमा इन्टेकको साथसाथै दुई लाख २० हजार क्षमताको रिजभार्यर टयाङ्की निर्माण गरिरहेका छौं । त्यसको साथसाथै रिजर्भायर टयाङ्कीदेखि स्थानीय जनताको घरदैलोसम्म पाइप बिछ्याउनको लागि योजना बनाइरहेका छौं । अबको तीन वर्षभित्र प्रत्येक वडावासीको घरदैलोमा धारासहितको खानेपानी वितरण गर्नेछौं । उक्त खानेपानी आयोजनाबाट करिव आठ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौं ।

तपार्इँको वडामा थुप्रै ऐतिहासिक सम्पदा भूकम्पले क्षतिग्रस्त भएका छन्, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
मेरो वडा साँखुको विकट एरियामा पर्छ, जहाँ बज्रयोगिनी, मनिच्यूड, मनि लिंग्रेश्वरलगायत ऐतिहासिक सम्पदा छन् । जुन २०७२ सालको भूकम्पले तीनवटै सम्पदा जगदेखि नै क्षति पु¥याएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले बज्रयोगिनी मन्दिर लामो समयदेखि अल्झियो।

वडा कार्यालयले पुरातत्व विभाग, ठेकेदार कम्पनीलाई बारम्बार तोकेता गरेकाले भर्खरै निर्माण सुरु भइरहेको छ । मिनच्यूडको गुम्बाको प्रारम्भिक अध्ययन भए पनि हालसम्म पुननिर्माण हुन सकेको छैन । भूकम्पले भत्काएका ऐतिहासिक सम्पदा पुनर्निर्माणको लागि वडा कार्यालयले पुराताŒव विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर काम गरिरहेको छ । अबको पाँच वर्षभित्र क्षतिग्रस्त सम्पूर्ण ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य राखेका छौं।

भूकम्पपीडित कहिलेसम्म टहरामै बस्नुपर्ने होला ?

सरकारले नै सम्पूर्ण भूकम्पपीडितको घर निर्माण गरिदिने भन्ने जनतामा भ्रम देखिएको रहेछ । जसको कारणले भूकम्पपीडितले आफ्नो घर निर्माणमा अग्रसरता नै देखाएका छैनन् । सबै काम सरकारले नै गरिदिन्छ, हामीले केही गर्नुपर्दैन भन्ने भ्रमले गर्दा अधिकांश भूकम्पपीडितको घर ठडिन सकेको छैन।

भूकम्पपीडितले घर बनाउनको लागि अग्रसरता लिएर सरकारबाट आउने राहत रकमको उचित सदुपयोग गरेर घर निर्माण गर्न जरुरी देखिन्छ । वडा कार्यालयले लालपूर्जा नहुने भूकम्पपीडितको लागि फिल्डबुककै आधारमा गर्न सक्ने, मोहियानी हकवालालाई पनि घर बनाउनको लागि सहजीकरण गरेका छौं । तर, जनता नै नतातेपछि हाम्रो पहलले मात्रै गराउन नमिल्दो रहेछ । वडामा करिब आठ सय भूकम्पपीडित रहेका छन्, तीमध्ये दुई सय जनाले भवन बनाइरहेका छन् । अन्यले निर्माणलाई अघि बढाउन सकेका छैनन्।

करिब एक सयभन्दा धेरै भूकम्पपीडित अझै टहराकै सहारामा गुजारा टारिरहेका छन् । राष्ट्रिय पुनर्निर्माणको लम्बेतान प्रक्रियाका कारण भूकम्पपीडितले पहिलो किस्ताबापतको रकमसमेत पाएका छैनन् । त्यसैले समस्या भइराखेको छ । यसको समाधानका लागि हामीले पहलकदमी गरिरहेका छौं । नगरपालिकाले सम्पदा क्षेत्रमा भवन बनाउने भूकम्पपीडितका लागि एक लाख रूपैयाँ अनुदान दिइरहेको छ । नक्सा पासलगायत अन्य सेवा पनि निःशुल्क दिइरहेका छौं ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी, शिक्षा स्वास्थ्य, भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।

तपार्इँको वडामा अधिकांश सडक गोरेटो बाटो छन्, कहिले गाडी गुड्ने बनाउनुहुन्छ ?

वडाध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै वडामा रहेका गोरेटो सडकलाई विस्तार गर्ने अभियान चलाएको छु । साँखु बज्रयोगिनी हुँदै सामुदायिक भवनसम्मको आठ फिटे सडकलाई १० मिटरको चौडाई भएको ट्रयाक खोलेको छु।

त्यस्तैगरी मानेडाडाँदेखि मनिचुडसम्म १० फिटे गोरेटो सडकलाई चार किलोमिटर क्षेत्रसम्म विस्तार गरेर पर्खाल लगाउने र ह्युमपाइप राख्ने काम गरिरहेका छौं । कार्कीगाउँ–नयाँगाउँ–वनदेवी सडक, साँखु भुल्भु कार्कीगाउँलगायत सडक विस्तार अभियानलाई तीव्र गतिमा बढाइरहेको छु ।

तपार्इँको वडामा सर्वसाधारण सेवाबाट वञ्चित छन्,कहिलेदेखि यातायात सेवा सुचारु गर्नुहुन्छ ?
काठमाडौं जिल्लाकै अति विकट एरियामा मेरो वडा पर्छ, जहाँ अझै यातायातको सेवासमेत पुगेको छैन । मेरो वडाबाट साँखु बसपार्क आउनको लागि दुई घन्टाभन्दा धेरै समय पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ । वर्खायाममा हिलाम्मे सडक भएकाले हिँडडुल गर्न समेत मुस्किल हुने गर्छ।

वडा कार्यालयले आधा दर्जनभन्दा धेरै गोरेटो सडकमा ट्रयाक खोलेर १० मिटर चौडा भएको सडक बनाएका छौं । आगामी दसैंसम्म वडामा यातायात सेवा सुचारु गर्ने लक्ष्य राखेका छौं । हाम्रो वडामा अधिकांश कच्ची छ । मेरो कार्यकालसम्म वडामा रहेका कच्ची सडकलाई ग्राभेलिङ गर्ने योजना बनाएको छु।

तपाईँको वडामा रहेका सामुदायिक विद्यालयको स्तर खस्किँदै गइराखेको छ नि ?
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ । सामुदायिक विद्यालयको गुणस्तर कायम राख्न नसक्दा वर्षेनी विद्यार्थी घटिरहेका छन्।

अभिभावक र विद्यार्थीले अंग्रेजी माध्यमको शिक्षा माग गरिरहेका छन् । तर, हामीले नेपाली माध्यममा अध्ययन गराएकाले नै विद्यार्थी घटेका हुन् । त्यसैले वडामा एक माध्यामिक र दुई वटा आधारभूत प्रावि रहेका छन् । त्यसैले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनेतर्फ अघि बढिरहेका छौं । अर्काे वर्षदेखि शिशु कक्षामा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरेका छौं ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
मेरो वडामा बज्रयोगिनी, मनिचुड, मनी लिङ्गेश्वरलगायत तीन वटा ऐतिहासिक मन्दिर छन् । बज्रयोगिनी हिन्दू र बौद्ध धर्मावलम्बीको प्रशिद्ध धार्मिकस्थल हो । बज्रयोगिनीलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गरेर पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य सहित अघि बढिरहेको छु । त्यसको साथसाथै स्वयम्भूनाथ, बौद्धस्तुपा र मनिचुडलाई समेटेर बौद्ध सर्किट बनाउने लक्ष्य राखेका छौं ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ३१ वैशाख २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App