१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सकिनुपर्ने बेला सुरु नै भएन

बारपाक सडकअन्तर्गत भालुस्वाँरामा ‘कटिङ’ गर्दै डोजर । तस्बिर : नरहरि/नागरिक

गोरखा - ७१ करोड १८ लाखको चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको बारपाक सडक खण्डको कालोपत्रे सक्नुपर्ने समयमा सुरु समेत भएको छैन । ठेकेदारको आयोजना कार्यालयसँगको ‘सेटिङ’ र बहानाबाजीमा म्याद थप्ने स्वीकृत दिइरहँदा भूकम्पको केन्द्रबिन्दु बारपाक सडक अहिले पनि हिलाम्य र धुलाम्य छ । कालोपत्रे सकिए दुई घन्टामा बारपाक पुगिने सडक अहिले पाँच घन्टा समयमा पनि पुग्न मुस्किल पर्छ।

एघारकिलो छेवेटार–भालुस्वाँरा–बारपाक सडक आयोजना अन्तर्गत ११ किलोमिटर देखि ४६ किलोमिटर (बारपाक) सम्म सडक स्तरोन्नति (कालोपत्रे) को ठेक्का लागेको छ । पहिलो प्याकेज ९ किलोमिटरदेखि १७ किलोमिटरसम्मको जिम्मा लिएको नागार्जुन त्रिशूली जेभीले २०७२ मंसिर ३० सम्म काम सक्नुपर्ने थियो । २०७१ असारमा सम्झौता भएको उक्त ८ किलोमिटर सडक २०७३ मा म्याद थप भएको एक वर्षमा पनि पूरा भएन । भूकम्प, निर्माण सामग्री अभावको कारण देखाएर आयोजना कार्यालयले सजिलै म्याद थपिदियो । तर अहिलेसम्म ६५ प्रतिशत मात्रै सकिएको छ ।

थपिएको म्याद सकिँदासमेत ठेकेदारलाई कारबाही गर्ने आँट आयोजना कार्यालयको छैन । उल्टै मिलेमतोमा म्याद थप्ने तुजुक आयोजनाले सिकाउने गरेको छ । १० करोड ५९ लाखमा सम्झौता भएको सडकको ७ करोड ९५ लाख रुपैयाँ भुक्तानी निर्माण कम्पनीले पाइसकेको छ । एक मिटर पनि कालोपत्रे भने उक्त सडकको सुरु भएको छैन । आयोजनका इन्जिनियर शंकर पौडेलले भने, ‘नाला, पर्खाल लगायतको स्ट्रक्चरको काम भएकाले बिलअनुसार भुक्तानी भएको हो, तर कालोपत्रेको काम बाँकी छ।’

निर्माण कम्पनीले ठेक्का सम्झौता गर्दादेखि आयोजनालाई बुझाउने प्रोफेट कमिसन ‘पिसी’ को नाममा मोटो रकम लिएका कारण आयोजना प्रमुख निरीह भएर जे भन्छन् त्यही गर्न बाध्य हुन्छन् । आयोजनालाई बुझाउने पिसीकै कारण प्राविधिक पनि दबाबमा काम गर्नुपरेको बताउँछन् । ‘आयोजनाले सञ्चालन गरेको काममा हामी पनि सन्तुष्ट छैनौं,’ एक प्राविधिकले भने । भएको कामको भुक्तानी दिन आयोजनाले नै ठेकेदारलाई हतारो लगाउने गर्छ । ‘बिल दिएपछि आउने कमिसनको लोभमा भएको केही प्रतिशत धेरै बिल पनि भुक्तानी हुन्छन्’ ती प्राविधिकले भने ।

दोस्रो प्याकेजको १७ किमीदेखि २२ सम्मको पाँच किलोमिटर सडकको गत वर्षको असारमा ठेक्का सम्झौता भएको हो । यो खण्डमा अझै एक वर्ष काम गर्ने समय बाँकी छ तर पनि काम सन्तोषजनक देखिँदैन । १३ करोड ४८ लाखमा ठेक्का भएको उक्त दोस्रो ‘प्याकेज’को सडकको पाँच करोड रकम भुक्तानी कन्काई गोरखा जेभीले लिइसकेको छ ।
२२ देखि ३० किलोमिटर को सडक २०७२ असार ३१ गते लोहोनी ब्रदर्श कन्ट्रक्सनसँग ठेक्का भएको थियो ।

१२ करोड सात लाख रुपैयाँमा ठेक्का भएको उक्त सडकको काम २०७४ असार १५ अर्थात झन्डै १० महिना अघि सक्नुपर्ने थियो । निर्माण पूरा नभएपछि गोरखास्थित सडक आयोजनाको सिफारिसमा २०७५ जेठ १५ सम्मका लागि म्याद थपियो । थपिएको म्याद सकिन दुई साता बाँकी छँदा कामको प्रगति भने २५ प्रतिशत मात्रै छ । निर्माण सामग्री अभाव देखाएर ठेकेदारले काम नगर्दा सडक आयोजना उल्टै थरिथरिको बहाना खोजेर म्याद थप्न निर्माण कम्पनीलाई उद्यत पारिरहेको देखिन्छ । एक करोड ५० लाख रुपैयाँ सडकले भुक्तानी पनि दिइसकेको छ । कालोपत्रे एक वर्षअघि सकिनुपर्ने सडकमा अहिलेसम्म सुरुसमेत भएको छैन ।

३० किलोमिटरदेखि ४६ किलोमिटर सात सय मिटरको बारपाकसम्म पुग्ने सडक कालोपत्रे गर्न ३५ करोड ४ लाख ६१ हजार रुपैयाँमा रसुवा इलाइट सूर्य जेभीले २०७३ असार ३० गते जिम्मा लिएको थियो । अबको दुई महिना अर्थात २०७५ असार ३० गतेभित्र उसले १६ किलोमिटरको उक्त सडक कालोपत्रे सकेर बुझाउनुपर्छ । अन्तिम चरणमा हुनुपर्ने सडक स्तरोन्नतिको काम पनि ३० प्रतिशत मात्रै भएको छ।

नाली निर्माण र टेवा पर्खालबाहेक कुनै पनि काम भएको छैन । उक्त काम तोकिएको समयमा सम्पन्न हुने सम्भावना नरहेको एघारकिलो छेवेटार–भालुस्वाराँ–बारपाक सडक आयोजनाका इन्जिनियर शंकर पौडेलले बताए । निर्माण जिम्मा लिएको कम्पनी रसुवा इलाइट सूर्य जेभीका इन्जिनियर सौगात डिसीले स्थानीयको असहयोग, निर्माण सामग्री अभाव, उत्खनन्मा विरोध जस्ता कारणले काम समयमा नभएको दाबी गरेका छन् । उनले भने, ‘म्याद थपको प्रक्रियामा छौं।’

आयोजना प्रमुख अमृतमणि रिमाल ठेकेदारको पक्षपोषण गर्दै सबै काम समयमै सकिएको भए कार्यालयसँग भुक्तानी गर्ने बजेट नै नहुने तर्क गर्छन् । निर्माण कम्पनीको कमजोरी छोप्दै उनले भने, ‘सबै काम एकैपटक सकिएको भए कसरी भुक्तानी दिने भन्ने समस्या हुन्थ्यो ।’ निर्माण कम्पनीसँगको ‘सेटिङ’ मा ठेक्का समय थपिदिने, कालोसूचीमा राख्न सिफारिस गर्नुपर्ने समयमा पनि मिलेमतोमा काम नगर्नेलाई सघाउने गरेको अरोप उनलाई लाग्ने गरेको छ ।

निर्माण प्रक्रिया र ठेक्का समय नै थोरै भएको भन्दै उनले स्टमेट र ठेक्का प्रणाली नै गलत भएको दाबीसमेत गरे । निर्वाचन, निर्माण सामग्री अभाव, कामदार अभाव जस्ता कारण देखाएर आयोजना प्रमुखकै ‘डिजाइन’मा म्याद थपिने गरेको छ । निर्माण कम्पनीले आयोजना प्रमुखलाई आफ्नो पहुँचमा लिएर जे चाह्यो त्यो गर्न सकेका कारण काममा तदारुकता देखिएको छैन ।

 

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App