१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकार बनाउन नपाए कांग्रेस र जेडी (एस) सांसद धर्ना बस्ने

नयाँ दिल्ली– भारतको दक्षिणी राज्य कर्नाटकमा आफ्नो बहुमत पुष्टि गर्न गभर्नर भाजुभाइ रुदाभाइ भालाले कांग्रेस र जनता दल (सेकुलर) (जेडी–एस)लाई आमन्त्रण नगरे दुवै दलका एमएलए र सांसदले राज भवन बाहिर बिहीबार प्रदर्शन गर्ने भएका छन्।

कर्नाटक प्रदेश कांग्रेस कमिटी (केपिसिसी) कार्यायलमा बुधबार बिहान भएको कांग्रेसको संसदीय बैठकमा १२ कांग्रेसी सांसद अनुपस्थित रहेको भन्ने विवरण बाहिरिएको केही घण्टापछि यस्तो विज्ञप्ति सार्वजनिक भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

बाहिरिएको रिपोर्टअनुसार बुधबार बिहान कर्नाटक प्रदेश कांग्रेस कमिटीको कार्यालयमा भएको कांग्रेसको संसदीय दलको बैठकमा कुल ७८ सांसदमध्ये ६६ सांसद मात्रै सहभागी भएका थिए । कर्नाटक राज्यमा भएको निर्वाचनको अन्तिम मतपरिणामपछि त्यहाँको राजनीति झनै जटिल भएको छ । निर्वाचन मत परिणामअनुसार कसैले पनि सरकार बनाउनका लागि आवश्यक पर्ने बहुमत अर्थात् एक सय १३ सिट प्राप्त गर्न सकेका छैनन् ।

सरकार गठनबारे कर्नाटकमा अब गभर्नरले अन्तिम निर्णय लिनेछन् । मंगलबार साँझ सार्वजनिक भएको कर्नाटक विधान सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार भारतको केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता दल (भाजपा)ले एक सय चार सिट जितेको थियो । नतिजासँगै भाजपा कर्नाटकको ठूलो दल बन्न सफल भएको छ । त्यसैगरी कर्नाटक राज्यमा सरकार सञ्चालन गरिरहेको कांग्रेसले ७८ र क्षेत्रीय दल जेडी (एस)ले ३७ सिटमा जित हासिल गरेका थिए । कुल दुई सय २२ सिटमा निर्वाचन भएको थियो भने दुई सिटमा निर्वाचन हुन बाँकी नै रहेको छ । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि कंग्रेसले जेडी (एस)लाई सरकार बनाउन समर्थन गर्ने घोषणा गरेको थियो । कंग्रेस र जेडी (एस) मिल्दा एक सय ३७ सिट हुन्छ, जुन कर्नाटकमा सरकार बनाउनका लागि पर्याप्त हुनेछ ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App