१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आँखाको भाका

म जिन्दगीको बीचमा छु ।अँध्यारो छिप्पिसकेपछि ढोका खोलेँ । तारासँगै चन्द्रमा मुस्कुराइरहेको थियो । त्यही चन्द्रमालाई हेरेँ ।सेतै फूलेको चन्द्रमाभित्र कालो धब्बा ! ‘किन पोतियो होला यो धब्बा ?’ लामो सास फेरेँ । यो लामो सास फेरेको होइन, आफैँ सुस्केरा बन्दै आउँछ र बाहिर जान्छ ।बुद्धले त्यसै भनेका होइनन्, ‘संसारमा दुःख छ, त्यसको कारण छ ।’

‘जिन्दगी जसरी जिउन खोज्यो, त्यसरी नै सकिने रहेछ । यो ऐयासी !’ आफैँलाई नियालेँ ।दुइटै हात आफ्नै टाउकोमा पुगेका छन् । आँखा चिम्लिएर गाउँबाट हिँड्दाको समय सम्झिएँ ।घाँस काट्दै गर्दा एसएलसीको रिजल्ट आएको थियो । सदरमुकाम गएका तल्लाघरे साइँलाले म पास भएको खबर ल्याए । हाम्रो परिवारमा एसएलसी पास गर्ने मनै पहिलो थिएँ।

बाले हर्षका आँसु झार्दै भन्नुभयो, ‘ठूले अब त साँच्चै कुलको दीप भइस ।’ एसएलसी पास भएपछि परिवारको आशा मप्रति अझै बढेको थियो ।दुई छाक खान पनि धौ–धौ हुने । बिहान, दिउँसो काम गरेर बेलुकाको छाक टार्नुपर्ने समय । धन्न ! बाले आफूले पढ्न नपाएको पिडा हामीलाई पढाएर भुल्न चाहनुहुन्थ्यो । बाले आमातिर हेर्दै भन्नुभयो, ‘ऋण खोजेरै भए पनि मेरो दीपलाई काठमाडौं नै पठाउँछु।’

बाको सपनाको संसार थियो, काठमाडौं । सानै हुँदा हजुरबासँग काठमाडौं गएको सुनाउनुहुन्थ्यो । विद्यालय र क्याम्पस पढ्ने चाहना त्यत्तिकै ओइलायो भन्नुहुन्थ्यो ।खेत बन्धकी राखेरै बाले मलाई पढाइ खर्चको जोहो गरिदिनुभयो ।‘दीप तँप्रति मेरो ठूलो आशा छ । आमाको भरोसा र भाइबहिनीको अविभावक बनेस् हैँ,’ बाका आँखा रसाए ।
१६ वर्षको अल्लारे उमेर । सपनाको सहर काठमाडौं हानिएँ।

कताकता सकस लागिरहेको थियो । तर हातमा प्रथम श्रेणीमा पास भएको सर्टिफिकेट, बाले खेतै बन्धकी राखेर दिएको पाँच हजार रुपैयाँ, हर्ष र उमंग पनि थियो ।क्याम्पस भर्ना भए पनि बाले खेतै बन्धकी राखेको कुरा बिर्सन सकिनँ ।आफ्ना लागि पढ्नु थियो । तर, बाआमाको आशा पनि पूरा गर्नुपर्ने जिम्मेवारी । पढाइसँगै काम पनि प्राथमिकतामा थियो।

आमा, बा, दुई बहिनी र तीनजना भाइहरूको सपना मेरो आँखामा थिए । खेत उकास्नु थियो । बाको काँधबाट हलो ओराल्नु थियो । आमाको एक सरो गहना लगाउने सपना पूरा गर्नु थियो । भाइबहिनीको पढाइको खर्च टार्नु थियो ।
त्यसका लागि कामको खोजी गरेँ । क्याम्पसकै दाइमार्फत काममा लागेँ । सहरमा बसेर गर्ने नगर्ने काम छुट्याउनै परेन । सबै ‘लाइन’ मिलाउने अरुनै थिए ।सुरु–सुरुमा कहाँ कसरी र के–के गर्ने अरुकै निर्देशन हुन्थ्यो । जम्मा त्यसलाई फत्ते गर्ने काम हाम्रो । न काम अघि योजना बनाउनु पथ्र्यो, न त पछिको जिम्मेवारी लिनुपथ्र्यो ।हामीले गरेको कामको जिम्मेवारी अरुले नै लिएको कुरा सञ्चार माध्यममार्फत थाहा पाउँथ्यौँ ।

समय क्रमसँगै मेरो चाहना फेरियो पढ्नु, जान्नु र शिक्षार्जन गर्नु होइन, सर्टिफिकेट जम्मा गर्नुपर्छ भन्ने मात्र लाग्न थाल्यो । विद्यार्थी नेतालाई मिलायो, पैसा तिरेर परीक्षा दिने मान्छे राख्यो, सर्टिफिकेट मेरै नाममा आउँथ्यो । मेरो हातमा दुई विषयको डिग्री प्राप्त भइसकेको थियो । इच्छानुसार पैसाको कुनै कमी भएन ।प्रहरी अफिसर, वर्षौं लोकसेवा पढेर जागिर खाएका कर्मचारी, बिहान उज्यालो हुँदादेखि राति अबेरसम्म काम गर्ने व्यवसायी सबैले मान्ने भएँ ।बाआमाका दुःखका दिन गए।

गाउँ जिल्ला हुँदै सहरमा चिनेजानेका बीच मेरो चर्चा हुन्थ्यो । माइलाका छोराले धेरै कमायो रे । सहरमा गाडी छ, घर छ, दुःख परेकालाई खर्चबर्च सबै पु¥याउँछ । आफ्नो प्रशंसा खुबै सुनिन्थ्यो ।साथीहरु पनि मलाई हेर्दै भन्थे, ‘यार, आफूले त केही प्रगति नै गर्न सकिएन ।’ गाउँले तथा आफन्तले सोध्थे, ‘घरजग्गा कति जोडिस् ? सम्पत्ति कति छ ?’ साथीहरूले सोध्थे, ‘कुन कम्पनी र मोडलको कार चढ्छस् ? व्यवसाय कस्तो हँुदै छ ?’तर कसैले सोधेनन्, कस्तो र के काम गर्छस् भनेर ।मलाई देख्नेले भन्थे, यो व्यापारी हो, धनाढ्यको छोरो हो, नेताको आफन्त पर्छ । सबैले आ–आफ्नै बुझाइअनुसार लख काट्थे होलान्।

अरुले जसरी बुझे पनि चुपचाप हाँसेर टारिदिन्थेँ । र, मनमनमै भन्थे, ‘सुन्दरताभित्रको यथार्थ कसले खोजोस्  ? मूर्ख मान्छेहरू ?’नमिता विश्वविद्यालयकी विद्यार्थी । क्याम्पसमै चिनेको थिएँ । कहिलेकाहीँ एक्लै बस्दा अनायास उनको याद आउँथ्यो । त्यो याद तुरुन्तै हराउँदैनथ्यो । मेरै वरिपरि घुम्थ्यो र मलाई नै घुमाउँथ्यो ।नमिताको आभास मात्र पनि प्रिय लाग्थ्यो । तर, प्रायः हुने भेटहरुमा उनी मुखले होइन, आँखाले बोल्थिन्।

चिया खाइरहेका बेला एकजना साथीले जिस्कायो ‘नमितासँग लभ पर्यो कि के हो ?’‘हैन’, मैले उस कुरामा ध्यान नदिएजस्तै गरेँ । तर त्यसपछि मेरो छटपटी झन् बढ्न थाल्यो । उनलाई सम्झँदासाथ शरीर तातेर आउँथ्यो, छाती फुल्थ्यो, टाउको गह्रौँ हुन्थ्यो ।उनीसँग प्रेम गर्छु भनेर भएको होइन । हामीबीच नितान्त एकान्तमा कहिल्यै गफगाफ भएन ।भीडका बीचमा भेट हुन्थ्यो । मेरो कुरा चाख दिएर सुन्थिन् तर आफू भने एकदमै कम बोल्ने । साथीहरूसँग रमाइलो ख्याल–ठट्टा गरे पनि मसँगै हुँदा अन्तर्मुखी लाग्थिन्।

एक दिन ठूलै साहस गरेँ । उनलाई घरैमा बोलाएँ । साथीहरू नलिई आउन आग्रह पनि गरेँ । उनी भनेकै समयमा आइपुगिन् ।अचम्म ! उनलाई देख्दासाथ आफैँ झस्किएँ । यत्तिकै हडबडाएँछु । उनलाई सिटिङ रुममा राखेर म किचन छिरेँ ।आफैँ सम्हालिएँ । उनलाई पानी दिएँ, हार्दिकताका साथ । मलाई हेरेर थोरै मुस्कुराइन् । ‘तपाईंको यो रूपको मैले कल्पना नैै गरेकी थिइन्।’

‘जिन्दगी कल्पना गरेजस्तो मात्र कहाँ हुन्छ र ?’ आफैँले बनाएको कफी दिँदै भनेँ‘तपाईं भावुक पनि हुनुहुन्छ ?’ जिस्काउँदै बोलिन् ।मसँग उत्तर थिएन, उनलाई हेरेँ मात्र ।‘आज त खुब गम्भीर देखिनुभएको छ । यत्रो वर्षपछि पहिलोपटक यो रूपमा देख्दै छु ।’‘जिन्दगी एकैनासको कहाँ हुन्छ र ? आजसम्म बाबुआमा र आफूले चाहेको कुरा पूरा गरेको छु । बाँकी एउटा इच्छा पनि पूरा गर्नुपर्नेछ ।’उनले भनिन्, ‘किन ढिला गर्नुहुन्छ ? त्यो पनि पूरा गर्नुस् ।’

नमिताले समर्थन दिएपछि साहस बढेको थियो । तर बीचबीचमा बोली अड्किएझैँ । कताकता अप्ठेरो लागिरह्यो । शरीर तातो भएको अनुभव गरँे । जुरुक्क उठेर झ्यालको छेउमा गएँ ।फेरि एकपटक ऐनानजिकै पुगेर आफ्नो अनुहार नियालेँ, रातो भएको थियो । उनीतिर हेरेँ । उनी कफी पिउन मस्त थिइन् । लामो सास फेरेँ र आँट गरेर भनेँ, ‘हामी जीवनको सहयात्री बन्नुपर्छ ।’मैले बोलेको सुन्नासाथ उनी केही हतास देखिइन् । जुरुक्क उठिन् ।‘तपाईंसँग विवाह गर्न सक्दिनँ । विवाह त परको कुरा, दोहोरो प्रेम गर्न पनि सक्दिनँ ।’ सर्दै–सर्दै ढोकासम्म पुगिन् ।
सोधेँ, ‘किन ?’

‘म एउटा अपराधीसँग विवाह गर्न सक्दिनँ,’ सीधा मेरा आँखामा हेर्दै ठूलो स्वरमा उनले भनिन्, ‘एकान्तमा जे सोच आयो र गयो । अब त्यसलाई मलजल गर्दिनँ ।’आजसम्म कसैले कहिल्यै नभनेको कुरा भनिन् ।मैले भने, ‘कसरी त्यस्तो भन्न सक्छ्यौ ?’‘मलाई थाहा छ, हप्ते उठाएको, चोरी डकैती र गुन्डा गर्दी गर्दै हिँडेको । पहुँचकै आधारमा अपराधलाई ढाकछोप गरेको । तिमीले मान्छे मारेको पनि थाहा छ । म तिम्रो आँखा राम्ररी पढ्न सक्छु । त्यसैले म तिमीसँग... ।’उनी चुपचाप ढोकाबाट बाहिर निस्किन् ।प्रहरी, प्रशासन तथा पीडितको नजरमा पनि म दोषी थिइनँ।

आजसम्म कसैले मप्रति औँलो उठाएनन्, यो मुलुकको जिम्मेवारी लिएकै मान्छेको निर्देशनमा काम गरिरहेको छु ।जसलाई अधिकांशले स्वीकार गरेका छन् । त्यसमध्ये कसैले पनि गल्ती गरिस्सम्म भनेनन् ।आफैँले बताउन नचाहेको यथार्थ थाहा रहेछ । सत्यता लुकेको रहेनछ । अव्यक्त रूपमै जिन्दगी मानेकी मान्छे हुन् उनी । सात वर्षदेखि देख्दै आएको थिएँ, प्रेम गरेँ । सहयात्री बनाउने सपना साँचेको थिएँ । उनकै प्रतीक्षामा थिएँ । तर, सबैलाई ढाँटे पनि आफैँलाई ढाँट्न सकिनछु । मेरो आँखा पढ्न सक्ने उनी ? एकैछिनमा स्वाँस्वाँ हुन थालेँ ।मूलगेट पनि खोलिन्, मनले रोक्न खोज्दै थियो, खुट्टा एक पाइला पनि अघि बढेनन् । मैले हेरिरहेँ उनी नफर्की गइन् ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App