१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्गम गाउँमा अफिम खेती मौलायाे

जाजरकोट – नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ। 

कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन्। पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन्। 

चार÷पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका छन्। सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा अफिम खेती गरिएको छ। 

किसानले नलगाड नगरपालिका–२ को नहकुली, द्वावारे, ८ को मंसिरी, ९ को बाँसकोट, ताँत्र, घरङ्गा, १० को रावत गाउँ तथा १३ को सिउन, रूप, खाती गुर्ता, फुम्दालगायत क्षेत्रमा व्यावसायिक रुपमा अफिम खेती गरेका छन्। नलगाडका सयौँ किसानले अफिम खेती गरेका छन्। 

गत वर्ष प्रहरीले नलगाड नगरपालिकाको ६० रोपनी पाखोबारीमा लगाएको अवैध अफिम खेती नष्ट गरेको थियो। लागुऔषध कारोवारीले एक किलो अफिमको बारीमै आएर रु पाँच लाख मूल्य दिने गरेको खुल्न आएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। 

सिँचाइ अभावले दुर्गमको पाखोबारीमा गहुँ, जौ, आलुलगायत खेतीको तुलनामा अफिमबाट मनग्य आम्दानी हुने भएपछि उक्त खेती मौलाएको हो। एक रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने गरेको छ। स्थानीयवासीका अनुसार सोही पाखोमा अन्य खेतीबाट रु पाँच हजार पनि आम्दानी हुँदैन। दुर्गम गाउँमा लगाएको खेतीबाट अहिले अफिम निकाल्न थालिएको छ। असोजमा अफिमको खेती लगाउने, वैशाख र जेठमा निकाल्ने गरिन्छ। स्थानीयवासीले अफिमबाट प्रत्येक याममा रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्छन्। 

प्रकाशित: ७ जेष्ठ २०७५ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App