१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोनोरेलको सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं – उपत्यकामा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ। उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भावना अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरसन (सिआरसिसी) र काठमाडौं महानगरपालिकाबीच समझदारी भएको छ। समझदारीपत्रमा शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीका महाप्रबन्धक लि होङ्कीले हस्ताक्षर गरे।

सम्झौताअनुसार सात महिनाभित्र अध्ययन गरिसक्नुपर्नेछ। पहिलो महिना अध्ययनको आधार तयार र बाँकी ६ महिनामा काम सकेर सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन बुझाउनुपर्नेछ। कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपनाजस्ता पक्षमा अध्ययन गरी प्राप्त सम्भावनाका उपयुक्त विकल्पबारे सुझाउनेछ।

महानगरले मोनोरेल सञ्चालनसम्बन्धी आशयपत्र प्रकाशन गरेपछि कम्पनीले वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सोही इच्छापत्रनुसार वैशाख २४ गतेको महानगर बैठकले कम्पनीसँग सम्झौता गर्ने निर्णय गरेको थियो।

सम्झौताअनुसार सात महिनाभित्र अध्ययन गरिसक्नुपर्नेछ। पहिलो महिना अध्ययनको आधार तयार र बाँकी ६ महिनामा काम सकेर सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन बुझाउनुपर्नेछ।

हस्ताक्षरपछि महाप्रबन्धक होङ्कीले तोकेको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘मोनो रेल चलाउन महानगरपालिका लागेको गत सालबाटै हो,’ मेयर शाक्यले भने, ‘आजको सम्झौतालाई नै त्यसको सुरुवात मान्न सकिन्छ।’ काम थालेपछि मोनोरेल सञ्चालनमा धेरै समय नलाग्ने बताउँदै आफ्नै पालामा मोनोेरेल सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

सो अवसरमा सहभागी ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन भने, ‘महानगरवासीलाई सरल जीवन यापन गर्ने सुविधाका लागि मोनोरेल बनाउनु आवश्यक छ। अहिले मोनोरेल अध्ययनको चक्रपथमध्ये १० किलोमिटर खण्ड हाम्रो महानगरमा पर्छ। त्यसैले मोनोरेल सञ्चालनका लागि आवश्यक वातावरण तयार पार्न लाग्नेछु।’

मोनोरेल निर्माण, व्यवस्थापन तथा सञ्चालनमा काठमाडौं महानगरपालिकासँगै ललितपुर महानगरपालिकाले पनि उत्तिकै सम्बन्ध राख्ने भएकाले सम्भाव्यता अध्ययनबाट प्राप्त सूचना र प्रगतिका हरेक सवालमा ललितपुर महानगरसँग सहकार्य गरिने काठमाडौं महानगरको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले बताए।

अघिल्लो वर्ष भएको स्थानीय तह चुनाव ताका मेयर शाक्यले तीन वर्षभित्र मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए। सोही अनुरुप काम थालिएको काठमाडौं महानगरले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App