१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आरोपी खोज्न डिफ्युजन नोटिस

काठमाडौं – दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार प्रकरणका फरार ३ जनाविरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई डिफ्युजन नोटिस जारी गर्न पत्रचार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अभियुक्त शैलेश कार्कीलाई अदालतमा बुझाएपछि फरार रहेका तीन जनालाई डिफ्युजन नोटिसका लागि पत्रचार गरेको हो।

सो प्रकरणमा संलग्न अन्य प्रतिवादी विकास गौतम, दीपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो । गत माघ पहिलो साता होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन्। प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई काठमााडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।

फरार अपराधीको अन्तर्राष्ट्रिय खोजीका लागि डिफ्युजन नोटिस जारी गर्ने गरिन्छ। अदालतले वारेन्ट जारी गरिएका विरुद्ध रेडकर्नर नोटिस जारी हुन्छ भने अदालतमा मुद्दा दायर भएर वारेन्ट जारी नभएका अयिभुक्तको हकमा डिफ्युजन नोटिस जारी हुन्छ । यस्तो नोटिस जारी भएपछि सम्बन्धित देशका प्रहरीले ती अभियुक्तलाई पक्राउ गरी निष्कासन गर्छ। नेपालको कुनै देशसँग पनि सुपुदर्गी सन्धि नभएकाले अपराधी हस्तान्तरण गर्ने प्रचलन नभएकाले इन्टरपोलमार्फत सहयोग माग्न यस्तो नोटिस जारी गरिन्छ। नेपाल प्रहरीको अनुरोधमा १७ नेपालीसहित १९ जना विदेशी अभियुक्तविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले खोजेको व्यक्ति सम्पर्कमा नआएर देशबाहिर भागेमा उसलाई प्रहरी सम्पर्कमा ल्याउनका लागि इन्टरपोल सदस्य राष्ट्रलाई उक्त व्यक्तिको सम्पूर्ण विवरण र अनुसन्धानको विषय भरेर निगरानी तथा भेटिएमा खबर गरिदिन भन्दै इनटरपोललाई अनुरोध गरिन्छ। १ सय ९२ वटा देश यसको सदस्य रहेकाले ती सबै देशका प्रहरीले खोजी तथा निगरानी राखेर नेपाल प्रहरीलाई जानकारी गराउँछन् तर पक्राउ गर्नुपर्छ भन्ने अनिवार्यता भने हँुदैन।

नेपाली युवतीहरुलाई कुवेतमा बिक्री गरेको अभियोगमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका सिन्धुपाल्चोक ठूलोपाखरका श्यामकुमार लामालाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएका छ। बिहीबार उनलाई नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनकी श्रीमती मिना लामालाई जेठ ६ गते प्रहरीले नेपाल ल्याएको थियो। उनीहरु दुवै जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी भएको थियो। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुले वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवतीहरुलाई कुवेतमा लगेर बिक्री गरेका थिए। पीडित महिलाले गत भदौमा महानगरीय अपराध महाशाखामा उजुरी दिएकी थिइन्। सुरुमा प्रहरीले विजय तामाङलाई पक्राउ गरेकोमा अनुसन्धानका क्रममा श्याम र मिनाले कुवेतमै बसेर धेरैलाई बिक्री गरेको खुलेपछि उनीहरुलाई प्रहरीले फरार अभियुक्तका रुपमा अदालत पेश गरेको थियो। सोही आधारमा प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेपछि कुवेत प्रहरीले उनीहरुलाई नेपाल डिपोर्ट गरेको थियो। उनीहरुलाई नेपाल डिपोर्ट गरेपछि प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरी अदालतमा बुझाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App