म आफैँ पित्तुङ डीडी
११ फागुन २०६६
•
१२ मिनेट पाठ
म आफैँ पित्तुङ डीडी
म इस्कुले विद्यार्थी छँदा नवनिर्मित 'पित्तुङ' शब्द खुबै चल्तीमा थियो। कक्षामा गुणवत्ता क्रममा जो अन्तिम भएर पास हुन्थ्यो, माथि परेर पास हुनेहरू उसलाई 'पित्तुङ' भनेर होच्याउँथे। रोल नम्बर एक भएर पास हुने पनि आखिर पासभन्दा माथि त होइन। तब बरा पित्तुङलाई त्यसरी किन होच्याउनु? पित्तुङबारे चिनियाँ लेखक लु स्यूनको मौलिक विचार थियो। उनी दौडमा पित्तुङ हुनेलाई सहानुभूति, स्नेह र आदरको दृष्टिले हेर्थे। र, भन्थे - जुन दिन यो पित्तुङ निरन्तर यत्न, साधना र साहसद्वारा नम्बर एक बन्छ, त्यो दिन चीन धेरैमाथि उठ्नेछ।




गत साता यस पत्रमा प्रकाशित आफ्नो लेखमा मैले नवनिर्मित 'डीडी' शब्द प्रयोग गरेको थिएँ। अर्थ थियो - दाँत देखाएर नागरिक आन्दोलनमा ऐक्यबद्धता जनाउनु। लेखमा त्यसरी ऐक्यबद्धता जनाउने केही असल नागरिकका नाम मैले पुकारेको थिएँ। यो डीडी कटाक्षको अर्थमा त परै जाओस्, व्यङ्ग्यको अर्थमा पनि प्रयोग भएको थिएन। डीडी वास्तवमा भन्ने कुरोलाई रुचिकर बनाउन मैले कथेको एक भाषिक उपकरणमात्र थियो। तर, कतिपय नागरिकलाई यो डीडी बिझेछ। हाम्रो हार्दिक र दृढ समर्थनयुक्त सहभागितालाई नाथे डीडीको तहमा राखेर घोर अवमूल्यन गरिदिने? कतैकतैबाट यस्तो दुखेसो पोखिएछ। मिर्मिरे बिहानीमा आज्ञाकारी कौवाले बिजुलीको लठ्ठामा बसेर मलाई सुनायो। म स्तब्ध भएँ। सोचेँ, मेरो अभिप्राय र अभिव्यक्तिबीच तालमेल भएन कि? र नै त सम्प्रेषण गडबड हुन गयो। दोष बु‰नेको होइन, दोष ढङ्ग पुर्‍याएर भन्न नजान्ने मै लठुवाको हो। सानो कक्षामा पढेको गाईको प्रबन्ध सम्झेँ। त्यहाँ सबै कुरा सोझो अर्थ लाग्ने अभिधामा भनिएका छन्। लक्षणा र व्यञ्जनाको प्रयोग त्यहाँ छैन। अभिव्यक्तिले लुखुरलुखुर सरल रेखामा यात्रा गरेको छ। अभिप्राय, अभिव्यक्ति र सम्प्रेषणबीच हुनसक्ने अन्तर्विरोधबाट जोखिन अब मैले त्यसैगरी लेख्ने पो हो कि? तर, सीके लालको डर लाग्यो। तिनले भन्लान् - यो खुट्टा अगाडि र टाउको पछाडि फर्केको अतीतमुखी मनुवाको अति सरलीकृत एवं पत्रु लेखन भयो। मेरी आमा! मलाई कत्रो फसाद?

नागरिक आन्दोलनमा डीडी लर्तरो कुरा होइन। वास्तवमा यो आन्दोलन नै डीडी आन्दोलन हो। नागरिक आन्दोलनमा त्याग र आत्मबलिदानका कुरा कहिल्यै गरिँदैन। घरधन्दा, जागिर र अरू सबै निजी लहनतहन मिलाएरमात्र नागरिक आन्दोलनमा डीडी गर्न गइन्छ। यथार्थ के हो भने डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी पनि नागरिक आन्दोलनका डीडी नै हुन्। अरू हेरी अलि ठूला डीडी। र, म हुँ नागरिक आन्दोलनको पित्तुङ डीडी। पित्तुङ ठट्टा होइन। यो पित्तुङमाथि मलाई भारी गर्व छ। मेरो बौद्धिक सामर्थ्य, अग्रसरता र नैतिक निष्ठाको हैसियतले निर्माण गरिदिएको मेरो स्थान यही हो - यही पित्तुङ डीडी!

नागरिक आन्दोलन सामाजिक दायित्वबोध गर्ने सचेत नागरिकको राजीखुसीको रोजाइबाट निसृत सामूहिक कर्म हो। कर्म गर्ने नागरिकका लागि यो निष्काम कर्म हो। तर, समाजका लागि भने यो निश्चयमै सकाम कर्म हो। नागरिक आन्दोलनसँग कसैलाई पद, पगरी वा मान-सम्मान प्रदान गर्ने हैसियत छैन। न त आन्दोलनकर्मी कतै कसैको कृपाबाट पद, पगरी र मान-सम्मान पाउने लालसाले नै नागरिक आन्दोलनमा डीडी गर्न आउँछ। उर्ध्वमुखी चेतना, यथार्थमाथि हस्तक्षेप गर्ने आँट र नैतिक निष्ठा नै नागरिक आन्दोलनको सबलताको जग हो। लोकले नागरिक आन्दोलनलाई पत्याएको पनि त यही कारणले हो। नागरिक आन्दोलनमा निर्माण गरेको छवि कतै भँजाएर केही पाउँला र केही खाउँला भन्ने अभिप्रायसँग यस आन्दोलनको कठोर विमति छ। नागरिक आन्दोलनमा न कोही आदेशदाता छ, न यसको लिखित संहिता छ न त छ दण्डविधान नै। प्रत्येक नागरिक आफ्नो विवेकको आदेशमा कर्म गर्छ, आफ्नो संहिता र दण्डविधान आफै निर्धारण गर्छ। कर्म गर्ने एजेन्डा चित्त बुझे ऊ जुलुस, धर्ना वा सभामा सामेल हुन्छ। चित्त नबुझे हात बाँधेर बस्छ। जो आउँछ, आन्दोलनले उसलाई सहर्ष स्वागत गर्छ। जो आउँदैन, आन्दोलनले उसको नाटीकुटी गर्दैन। सबै कुरा स्वेच्छिक, सबै स्वनिर्णित, सबै चित्त प्रसन्नतामा।

अलिकता विषयान्तर गरुँ। राजनीतिक प्रक्रिया जाम भएको छ। मुलुक अनिश्चय, अराजकता र अन्धकारतिर धकेलिने खतरा बढ्दो छ। त्यत्रो सङ्घर्ष र बलिदानबाट उदय भएका गणतन्त्र र सङ्घीयताका सपना संस्थागत हुनै नपाई द्वन्द्वको चपेटामा परेर सतचूर्ण हुने अनिष्ट लक्षण यत्रतत्र दृष्टिगोचर हुन थालेका छन्। लाग्छ, सेना समायोजन नगर्न सेना समायोजनका कुरा गरिँदैछ। संविधान नबनाउन संविधान बनाउने गफ गरिँदैछ। राजनीतिका कर्ता दुर्मति र अधोगतिको दोष अर्कोमाथि खन्याएर आफू पानीमाथि आभानो हुन खोजिरहेका छन्। संविधानसभा नायक सुवास नेम्बाङ भन्छन् - दलहरूबीच सहमति नभए संविधान बन्दैन। तर, असहमतिका मुद्दाको फर्स्यौट संसदीय प्रक्रियाबाट गर भनेर उनी भन्न सक्दैनन्। भने उनलाई पद दिने पार्टीका बोसहरू रिसाउँछन्। संवैधानिक समितिका नायक नीलाम्बर आचार्य उही रट लाउँछन् - दलहरूबीच सहमति नभए संविधान बन्दैन। तर, संसदीय विद्याका यी आचार्य पनि असहमतिको छिनोफानो संसद्बाट गर भन्दैछन्। भने उनलाई पद टक्य्राउने बोसहरू गोसा हुन्छन्। प्रधानमन्त्री माधव गँजडी मुद्रामा सबै जटिल समस्याका हावादारी समाधान बाँड्दै हिँडेका छन्। र, यिनले त जेठ १४ पछिको मंसिरमा आफ्नै नेतृत्वमा चुनाव गराउने दिव्य वाणी पनि फर्माइसके। जो असहमति र अवरोधको कारण बनेको छ, उसैले सहमति र सुलहका भाषण ठोक्दै हिँड्नु गोर्खे राजनीतिको विद्रूप नौटङकी हो। माओवादीका कुरा धेरै टाढाको कुनै टापुबाट आएजस्तो लाग्छ। उसका कुरासँग उसैका कुरा घरिघरि बा‰छन्। र, कुरो ठ्याम्मै बुझिँदैन।

अब भन्ने के र गर्ने के? भन्ने कुरो सहमतिको सरकार बनाऊ हो। भन्ने कुरो पहिले गरेका बाचाकबोलबमोजिम सेना समायोजन गर हो। भन्ने कुरो न्यायोचित आधारमा सबै नेपालीका आकाङ्क्षा प्रतिविम्बित हुने संविधान बनाऊ हो। र भन्ने कुरा हो - छ सय एकजना सदभासद्को काम-कर्तव्य नागरिकका रगत-पसिनाको तलब-भत्ता खानु, समय बियाँल्नु र तिनै नागरिकका भाग्यमा खेलबाड गर्नु होइन। र, भन्ने कुरो हो - युद्धस्तरमा काम गर। भनेको बेला भनेजस्तो संविधान बनाओ। समय थपेर अर्को छ महिना खाने कुरा किमार्थ नगर। नागरिकका इच्छामाथि खेडबाड गर्दा गति के हुन्छ पूर्वमहाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई हेर।

राजनीतिक डबलीका बुद्धि सुस्त, दृष्टि शुष्क र कान भुत्ते हुनेलाई एक्लाएक्लै साना स्वरमा भनेर सुनुवाइ हुने छाँटै छैन। तसर्थ नागरिक आन्दोलनले सामूहिक उपस्थिति र एकमुष्ट आवाजले संविधानसभाका सुस्त, शुष्क र भुत्तेहरूलाई झकझक्याउन अठचालीस घन्टे धर्नामा नारिन खुट्टा उचालेको छ। ठाउँ ऐजन, दिन भोलि बिहीबार, समय बिहान ८ बजे। तपाईँलाई दिगो शान्ति चाहिएको छ? छ भने आउनोस्, सँगै धर्नामा डटौँ। तपाईँलाई राम्रो नेपाल बनाउने राम्रो संविधानको मुख देख्न रहर छ? छ भने पाउकष्ट गर्नोस्, हातेमालो गरेर सत्याग्रह गरौँ। तपाईँमा हिजोको जस्तो द्वन्द्व, रक्तपात, चित्कार, कोलाहल र जनधनको विनाश नदाहोरियोस् भन्ने मङ्गलकामना छ? छ भने आउनोस्, संविधानसभामा चेत, स्पन्दन र दायित्व सञ्चार गर्न बुद्ध मुद्रामा पलेँटी मारेर बसौँ। थोरै छ तैपनि समय अझै बाँकी छ। समय घर्किसकेपछि गर्न सकिने एकमात्र कुरा पश्चात्ताप हो। पश्चात्ताप मुर्दावाद!
ऐन मौकामा प्रदान गरिने डीडी ठूलो कुरा हो। नागरिक आन्दोलनको म पित्तुङ डीडी नयाँ वानेश्वर जान बाटो लागेँ। फुर्सद भए ए हजुर भेटौँ बिहीबार।

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस