अग्रगामी राजनीतिको अपहरण
२७ फागुन २०६६
•
१५ मिनेट पाठ
अग्रगामी राजनीतिको अपहरण
'विद्रोहका बेला जनताले आफ्नो बाटोका हरेक बाधा-व्यवधानलाई आफ्नो संख्याको बलले चकनाचुर पारेका थिए। तर आरम्भमा उनीहरूले जतिसुकै शक्ति आर्जन गरेका किन नहोऊन्, अन्ततः उनीहरू षड्यन्त्रकारी, चतुर, कुशल र धूर्त उच्चवर्गद्वारा पराजित भए। उच्चवर्गका शिक्षित र चतुर षड्यन्त्रकारीहरूले आरम्भमा निरंकुश शासकहरूको विरोध गरे, तर त्यो विरोध केबल जनसमुदायको विश्वास आर्जन गर्नका लागि थियो, जनसमुदायको शक्तिलाई उपयोग गरिसकेपछि उनीहरूकै विरुद्ध केन्द्रित हुनका लागि थियो। अनि, आफूलाई विशिष्टाधिकारको स्थितिमा पुर्‍याउनका लागिमात्रै थियो, जुन स्थितिबाट निरंकुश शासकलाई अधिकारच्यूत गरिएको थियो।'

'क्रान्ति समाजका ती तल्लोस्तरका जनता, मजदुर, कालीगढ, ससाना पसले, किसान, अकुलीन र अभागीहरूद्वारा सम्पन्न गरिन्छ, जसलाई निर्लज्ज धनीहरू 'भीड' भन्छन्, जसलाई रोमवासीहरू निर्लज्जतापूर्वक 'सर्वहारा' भन्दथे। तर, क्रान्तिका बारेमा उच्चवर्गद्वारा सधै-सधैँ एउटा तथ्य लुकाइने गरिन्छ, त्यो तथ्य हो : क्रान्तिलाई पूर्णतः भूस्वामीहरू, विधि-वेत्ताहरू र चालबाजहरूको लाभतिर मोड्ने गरिन्छ।'
यो भनाइ नेपालको जनआन्दोलन-०६३ पछि कुनै गरिखाने नेपालीले पोखेको तीतो सत्य होइन। यो भनाइ हो, सन् १७८९ मा भएको महान् फ्रान्सिसी क्रान्तिको नेतृत्व गरेका माराको, जो निर्धन श्रमिक वर्गका प्रवक्ता थिए। फ्रान्सिसी क्रान्तिद्वारा सामन्त वर्गको निरंकुश राजतन्त्रलाई ढालेपछि उच्चवर्गले क्रान्तिका उपलब्धिको अपहरण गर्न थालेकोमा मारा आक्रोश पोख्दै थिए। क्रान्तिपछि फ्रान्सको राजनीतिक शक्तिमाथि कब्जा जमाएको उच्चवर्गले चलाखी र षड्यन्त्रमार्फत् सबैजसो विशिष्टाधिकार हडपेपछि गरिखाने वर्गमा जुन निराशा, असन्तुष्टि र आक्रोश देखियो, त्यसलाई व्यक्त गरिरहेका थिए मारा।
फ्रान्समा क्रान्तिपछि सामन्ती शासनमा जन्मको आधारमा पाइने विशिष्टाधिकारलाई उद्योग र व्यापारको विशिष्टताले विस्थापित गर्‍यो। र, 'स्वतन्त्रता, समानता र भ्रातृत्व'जस्ता क्रान्तिकारी नारा उच्चवर्गले मात्रै उपभोग गर्‍यो। यही विषम स्थिति नेपालमा पनि नराम्ररी दोहोरिँदैछ। जनआन्दोलनको क्रममा सम्पूर्ण आफ्नो बल, बुद्धि र बर्कतले शाही राजतन्त्रलाई ढाल्ने गरिखाने वर्ग विनाउपलब्धि सडकमै पछारिने डर पैदा भएको छ। र, गरिखाने वर्गका जनताले लडेको युद्ध र संघर्षका नारा र उपलब्धिलाई उच्चवर्गद्वारा अनेक कुटिल चालद्वारा अपहरण गरिँदैछ, ती उपलब्धिलाई एकलौटी पार्ने नियतका साथ।
नेपालका गरिखाने वर्गका जनताले लोकतान्त्रिक गणतन्त्रको आन्दोलन भोको पेट र नांगो आङमा बोल्ने स्वतन्त्रता प्राप्तिका लागि मात्रै गरेका थिएनन्, वाक् स्वतन्त्रतासँगै खाना र नानाको अधिकार पाउन पनि गरेका थिए। उनीहरूले आर्थिक लोकतन्त्रको स्थापनाका लागि, सामाजिक न्याय, समानता र स्वतन्त्रताका लागि आन्दोलन गरेका थिए। प्रजातन्त्र स्वयम्लाई लोकतान्त्रीकरण गर्दै समावेशी र जनमुखी बनाउन उनीहरूले संघर्ष गरेका थिए। उनीहरू जातीय, धार्मिक, भाषिक, लिंगीय, क्षेत्रीय न्यायका लागि पनि भिडेका थिए। उनीहरूले देश र समाजलाई बस्न, बाँच्न र प्रगति गर्न योग्य स्थान बनाउन लडेका थिए। तर, ती 'आन्दोलनकारी चप्पले'हरूका चाहना, माग र लक्ष्यअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढ्न नदिन नेपाली राजनीतिकै अपहरण गरिँदैछ, उच्चवर्गका हित-स्वार्थ रक्षार्थ राजनीति गर्ने शक्तिहरूबाट।
जनआन्दोलनको राप र ताप सेलाउँदै गएपछि हिजोका एकसेएक यथास्थितिवादी शक्तिहरू आज लोकतन्त्रवादी र परिवर्तनवादीको खोल ओढ्न सफल भएका छन्, जुन अश्लील राजनीतिक दृश्यको प्रतिविम्बन हो। उनीहरूले लोकतन्त्र र परिवर्तनका एजेन्डालाई जनता र जनताका शक्तिहरूबाट खोस्ने, उल्टै जनता र जनताका शक्तिहरूलाई लोकतन्त्र र परिवर्तनविरोधी ठहर गर्ने तथा जनआन्दोलनका उपलब्धि र परिवर्तनको कार्यसूचीलाई अपहरण गरी उच्चवर्गको हितमा दुरुपयोग गर्ने प्रयासलाई तीव्र गरेका छन्। बाघको छालामा स्यालको रजाइँ गर्ने उनीहरूको शैली सरकारदेखि संविधानसभा, संविधानसभाकै व्यवस्थापिका-संसद् र समग्र नेपाली राजनीतिमा हावी हुन खोजेको दक्षिणपन्थी व्यवहारमा देखिएको छ। अतः वर्गीय र राजनीतिक ध्रुवीकरण र द्वन्द्व पनि तीव्र एवं व्यापक भएको छ, जसको वाम ध्रुवमा गरिखाने जनता छन्।
यही ध्रुवीकरण र द्वन्द्वको क्रममा, जनआन्दोलनपछि दस हात उफ्रेर दस वर्षसम्म सहमतिको राजनीति र संयुक्त सरकारको नारा लगाउनेहरूले संविधानसभाको चुनावमा आफूहरू दोस्रो र तेस्रो स्थानमा सीमित भएकाले असहमतीय राजनीति र बहुमतीय सरकारको नीति अँगाले। यही सिलसिलामा, संविधानसभाबाट नयाँ संविधान लेखन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थानीकरणको माग उठाउने र चुनावमा पहिलो स्थानमा आउने माओवादीलाई उनीहरूले मूलतः सेना, राष्ट्रपति र विदेशी शक्तिको बलमा सरकारको कुर्सीबाट झारेर प्रतिपक्षमा पुर्‍याए। अनि आफूहरू नै लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधानसभाबाट नयाँ संविधान लेखन तथा जनमुखी र समावेशी दिशामा राज्यको पुनर्संरचनाजस्ता अग्रगामी एजेन्डाका च्याम्पियन ठहर्‍याउने धृष्टता गर्न थाले। माधव नेपालको नेतृत्वमा गठित सरकारले दक्षिणी मुलुकको आशीर्वाद, दक्षिणपन्थी शक्तिहरूसँगको सहकार्य र दक्षिणपन्थी एजेन्डासहितका नीति र कार्यक्रमका साथ गरिखाने वर्गको हितमा हुनुपर्ने अग्रगमनको बाटो छेकिरहेको छ।
जनआन्दोलनसँगै विकास भएको अग्रगामी र जनमुखी राजनीतिलाई अपहरण गर्ने र अनेक निहुँ र नारामा दक्षिणपन्थी एजेन्डा नै थोपर्ने चालको सिकार सरकार मात्रै होइन संविधानसभा पनि हुन थालेको छ। संविधानसभा त गरिखाने वर्ग र उच्चवर्गबीच, यथास्थितिवादी शक्ति र अग्रगामी शक्तिबीच विभिन्न राष्ट्रिय मुद्दामा वैचारिक द्वन्द्व गर्ने, ती द्वन्द्वको तार्किक निरुपण गर्ने र केही कालखण्डका लागि पुँजीवादी लोकतान्त्रिक अभ्यास गर्ने उच्चतम डबली हो। यस्तो महत्वपूर्ण डबलीलाई पनि एकलौटी पार्ने चालअनुसार संविधानसभालाई पनि एउटा सामान्य वेस्टमिन्स्टर नमुनाको संसद्मा झार्ने काम भएको छ, जसमा अग्रगामी शक्ति पनि घुलमिल हुन थालेको छ। संवैधानिक समितिका सभापति पदमा ०४७ सालको संविधानका एक मस्यौदाकारलाई छान्नु, राज्य, सेना, न्यायालय, प्रशासनको पुनर्संरचना र लोकतान्त्रीकरणलाई पूरै बेवास्ता गर्नु अनि भूमिसुधारको क्रममा हदबन्दीभन्दा बेसी भएको जमिन बिनामुआब्जा जोताहा किसानलाई वितरण गर्ने नीतिमा सहमति नहुनु पक्कै पनि अग्रगामी र जनमुखी व्यवहार होइनन्।
यस्तै गैरअग्रगामी र गैरजनमुखी व्यवहारका कारण संविधानसभाका बारेमा दुवै वैचारिक-राजनीतिक कोणबाट एकसाथ प्रश्न प्रश्न उठ्न थालेको छ : संविधानसभा पनि सरकारजस्तै पुँजीवादी लोकतान्त्रिक गणतन्त्र संस्थागत र अग्रगामी परिवर्तनको सघनीकरणका लागि साधक हुने कि बाधक हुने हो? यसैबीच संविधानसभालाई सकेसम्म यथास्थितिवादको हतियार बनाउने, नसके तोकिएको समयसीमाभित्र संविधान लेख्न नसकेको अभियोग लगाई विघटन गर्ने षड्यन्त्र सुरु भइसकेको छ। र, थालनी भइसकेको छ, संविधानसभाको अर्काे निर्वाचन गर्ने वा राष्ट्रपति शासन थोपर्ने गृहकार्य। यस्ता गृहकार्य प्रकट हुन थालेको बेला सरकार र सरकारमा आसीन दलहरूले चर्काे स्वरमा जसरी पनि संविधान निर्माण गरिछाड्ने कटिबद्धता प्रकट गरेर आफ्नो गृहकार्यलाई छोपछाप पार्ने कोसिस गरेका छन्, तर ती कोसिसले उनीहरूको अश्लील हाउभाउलाई छोप्न सकेका छैनन्।
विडम्बनाको कुरा, आफूलाई अग्रगामी जनमुखी शक्ति र संविधानसभाकी आमा ठान्ने प्रतिपक्षी माओवादी दलले पनि संविधानसभाको अपहरण र दुरुपयोगलाई छेकथुन गर्न गम्भीर पहल गर्न सकेको छैन, न त त्यस दलका अगुवाहरूले अग्रगामी र जनमुखी संविधान लेखनकार्यलाई नेतृत्व दिने प्रयास नै गरेका छन्। उनीहरूको ध्यान-ध्याउन्ना पनि सरकार गुमेको पीडा र सरकार पुनःप्राप्तिकै सेरोफेरोमा केन्द्रित रहेको छ। तर उनीहरूले बुझ्नुपर्छ, देशको उच्चवर्ग र विदेशका शक्तिराष्ट्रले माओवादीको 'एमालेकरण'बिना उसलाई सहजै सरकार-आरोहण गर्न दिँदैनन्। र, माधव नेपालको सरकार छिटै ढले पनि 'अर्काे माधव नेपाल' खडा गर्नेछन्, चाहे त्यो बुँख्याःचा एमालेकै होस् या नेपाली कांग्रेसको। जुनसुकै मार्का र रुपरंगको बुँख्याःचा सरकार बनाइए पनि देशका उच्चवर्ग र विदेशका शक्तिराष्ट्रले उसलाई दिने कार्यभार भनेको नेपाली राजनीतिको अग्रगामी र जनमुखी यात्रामा बाधा-व्यवधान खडा गर्नु नै हुनेछ। र, उसलाई दिने एजेन्डा भनेको गरिखाने वर्गलाई आन्दोलनको बेलाका जनताजस्तै 'नागरिक'मा रूपान्तरण हुनबाट रोक्नु नै हुनेछ।
यतिखेर दक्षिणपन्थी दल र शक्तिले नेपाली राजनीतिको अपहरण गरिरहेकाले राजनीतिक दलहरू, बाइसदलीय सरकार र संविधानसभाको सुस्त संविधान-लेखनदेखि गरिखाने जनता निराश र आक्रोशित देखिनु अनौठो होइन। यिनै निराशा र आक्रोशका कारण उनीहरूभित्रको 'नागरिक' खुम्चिएर जनतामा सीमित हुँदै गएको छ, जुन उच्चवर्गको शासनको दीघार्युका लागि जरुरी अचुक औषधि हो। आफूले अग्रगामी राजनीतिको ठेक्का दिएका सबै दल र नेतालाई सत्तोसराप गर्दैमा हामी जनताको मनमस्तिष्कमा रहेको 'नागरिक' जागेको ठहरिँदैन। के हामी जनता आफ्नै सपनाको हत्या हुँदा पनि मूकदर्शक मात्रै बन्न र आफ्नै सपनाको मलामी जान अभिशप्त भइसकेकै हौँ त?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस