प्रिय ज्ञानमित्र अच्युतानन्द,
नागरिकमा तपाईँको विचार पढेपछि लाग्यो, 'रूपमा' हिन्दू राष्ट्र पक्षधर देखिए पनि 'सारमा' तपाई धर्म निरपेक्षतावादी हुनुहुन्छ। हो, संसारमा निरपेक्ष केही हुन सक्दैन। तपाईँले भनेजस्तै निरपेक्ष छु भन्नु आधुनिक विज्ञानलाई नबुझ्नु हो। तर, धर्म निरपेक्षताको अर्थ देशै निरपेक्ष भयो भन्ने कदापि होइन। धर्म निरपेक्ष हुनु लोकतन्त्र सापेक्ष हुनु हो।
लोकतान्त्रिक देशले कुनै पक्षलाई काखी च्यापेर अर्को पक्षलाई दुत्कार्न सक्दैन। धर्म कसरी यसबाट अछुतो रहन सक्छ? लोकतन्त्रमा राष्ट्रको आफ्नै धर्म हुँदैन र यसले कुनै पनि धर्मलाई भेदभाव गर्दैन। धर्म निरपेक्षता र लोकतन्त्र एक-अर्काका पर्याय हुन्। त्यसैले धर्म सापेक्षता (तपाईँको आशयमा हिन्दू राष्ट्र) र सापेक्षता सुन्दा उस्तै लागे पनि यी एक सय ८० डिग्रीले फरक कुरा हुन्। त सापेक्षतावादी तपाईँ कसरी धर्म निरपेक्षताविरोधी हुनुभयो?
तपाईँले भन्नुभएको छ, धर्म जीवनलाई संयमित, मर्यादित, आचरित बनाउने विधि हो। सहिष्णुता, प्रेम, करुणा र क्षमा धर्मका निधि हुन्। कति सुन्दर कुरा! तपाईँको संकेत पक्कै यी गुण हिन्दू धर्मका हुन् भन्ने हो। अरू धर्मले पनि यही भन्छन्। तर, यी सब भन्ने कुरा हुन्। धर्मका नाममा भएका असहिष्णुता, घृणा र क्रूरताका कैयन् घटनाले तपाईँको मतलाई खण्डन गर्छन्। बुद्ध दर्शन (धर्म होइन) मात्र अपवाद हो जसमा तपाईँले भनेजस्तै धर्मका सम्पूर्ण मानवीय गुण छन्। (विडम्बना, संसारकै सबैभन्दा नास्तिक बुद्धलाई 'भगवान्' बनाएर तिनका अनुचरले महान् बुद्ध दर्शनको धज्जी उडाएका छन्।)
हिन्दू समाजका तथाकथित आदर्शले पनि तपाईँका यी कुराको खण्डन गर्छन्। हिन्दू समाज कानुनले होइन, धर्मशास्त्रले चलेको छ। नहुँदो हो त कानुनले जातिभेद अन्त्य गरेको यत्रो समय भइसक्दा दलित, जनजाति र महिला सामाजिक जीवनमा पीडित हुने थिएनन्। हिन्दू धर्मका आदर्श नायक ब्रह्मा, विष्णु, महादेव, राम, कृष्ण, युधिष्ठिर, भीमसेन, अर्जुन, इन्द्र आदि हुन्। धर्मशास्त्रमा तिनका अनेक कुकृत्यलाई आदर्शीकरण गरिएको छ। उदाहरण अनेक छन् जसमाथि थुप्रै ग्रन्थ लेख्न सकिन्छ। तिनका कृत्यले तपाईँले भनेजस्तो सहिष्णुता, प्रेम, करुणा, क्षमा होइन, घृणा, क्रूरता र व्यभिचारलाई बढावा दिएका छन्। तपाईँलाई रामायणको उत्तरकाण्डको एउटा प्रसंग याद होला जहाँ तपस्या गरेको आरोपमा महाराज राम एक शूद्रको हत्या गर्छन्। मरेको छोरा हातमा लिएर एक ब्राह्मण रामलाई भन्छ, तिम्रो राज्यमा पाप नबढेको भए मेरो छोरा अकालमा कसरी मर्यो? छानबिनका लागि नारद ऋषिको अध्यक्षतामा आठ सदस्यीय समिति बनाइयो जसले शूद्रले तपस्या गरेका कारण यस्तो भएको ठहर गर्छ। सेनासहित राम शूद्रको खोजीमा निस्कन्छन्। शिवालिक तराईमा भव्य आश्रम र ऋषिको आभायुक्त व्यक्तित्वबाट प्रभावित भएर आसिक थाप्छन्। ऋषिले 'म शूद्र हुँ' भनेपछि रामको रीसको पारो चढ्छ। शूद्र मुक्तिका लागि सत्याग्रह गरिरहेका शम्बुकसँग तर्क गर्न नसकी राम खड्ग प्रहार गरेर उनको हत्या गर्छन्। ज्ञानमित्रजी, के धर्मको सहिष्णुता यही हो? यसैलाई जयजयकार गर्ने समाज कसरी न्यायमूलक हुनसक्छ? अर्धसत्य बोलेर द्रोणाचार्यको टाउको कटाउने युधिष्ठिरलाई हिन्दू समाजले सत्यवादी भन्छ। आमाको आदेशको निहुँमा द्रौपदीलाई पाँच दाजुभाइकी पत्नी बन्न बाध्य पार्ने उनीबाट के सदाचार सिक्ने हो? दानवीर बलीलाई पाताल निर्वासित गर्ने वामन अवताररुपी विष्णुबाट कस्तो न्याय भएको मान्ने? छल गरेर गुरुलाई बाहिर पठाई उनकी पत्नी अहिल्यासँग बलात्कार गर्ने इन्द्रलाई कसरी आदर्श नायक मान्ने? एकलव्यको तेजोबध गर्ने जातिवादी द्रोणाचार्यको कथा दोहोर्याउनु पर्दैन सायद।
हामीलाई चाहिएको पुरोहितवादी हिन्दू धर्मको तथाकथित आदर्शको विघटन हो जुन धर्म निरपेक्षतामा मात्र सम्भव छ। पुनःस्थापित प्रतिनिधिसभाले नेपाललाई धर्म निरपेक्ष घोषित गरेर न्यायका पक्षमा अग्रगामी काम गर्यो। यसलाई उल्ट्याउन खोज्नु घडी देब्रे घुमाउन खोज्नु हो। नेतृत्वको अकर्मण्यताका कारण नेपालको लोकतन्त्र र शान्ति प्रक्रिया गम्भीर संकटमा छन्। नेतृत्वप्रति जनताको निराशा बढ्दैछ। निराशा प्रतिगमनको प्रस्थानविन्दू हो। यही विन्दूमा कमल थापालगायत प्रतिगमन पक्षधरहरू घडी देब्रे घुमाएर हिन्दू राज्य र राजतन्त्र फर्काउन खोज्दैछन्। राजनाथ सिंह, लालकृष्ण आड्वाणीहरू ऊ बेलादेखि पेट्रोल छर्किरहेका थिए। तिनका लाममा कालीबाबाहरू थपिए। भोलि सेती बाबा र अरु खाले बाबाले खेल खेल्लान्। गणतन्त्रवादी कवि, लेखक अच्युतम भट्टराई ज्ञानमित्र अच्युतानन्द बनेर हिन्दू राष्ट्रको पक्षमा उभिनु दुखद्मात्र छैन, अन्तरविरोधी पनि छ। (आशा छ, गणतन्त्रवादी अच्युतमको योगी रूप विचारकै परिवर्तन होइन जसरी चंकी श्रेष्ठबाट अभय लेख्ने मेरो अभ्यास केही होइन।) तपाईँजस्ता योगीको प्रयत्न त विवेकानन्द, लोहिया, गान्धीको जस्तो हिन्दू समाजको पुनर्गठनका लागि पो हुनुपर्ने हो। नत्र भारतीय कवि धूमिलले जस्तै हामीले पनि सोध्नुपर्ला- अपराधी र जोगीमा को बढी समस्या हुन् यस देशमा?