सन्तनेताको राजतन्त्रमोह
२५ चैत्र २०६६
•
१५ मिनेट पाठ
सन्तनेताको राजतन्त्रमोह
संविधानसभाले २०६७ जेठ १४ मा नयाँ संविधान जारी गर्ने सम्भावना क्षीण हुँदै गएपछि पुरानै संविधान टक्टक्याउने र पल्टाउने प्रतिगामी कुचेष्टा बढेको छ। तोकिएको समयसीमाभित्र नयाँ संविधान जारी हुने स्थिति कमजोर भएपछि नेपाल अधिराज्यको संविधान, २०४७ लाई ब्युँताउनुपर्ने पश्चगामी आवाज उठेको छ। यसमा सबैभन्दा प्रखर स्वर पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सुनिएको छ। नेपाल अधिराज्यको संविधान निर्माणका बेला प्रधानमन्त्री रहेका भट्टराईमा आफ्नो सरकारको कृतिप्रति मोह देखिनु देखिनु अनौठो होइन र त्यसप्रति आशक्ति हुनु पनि आश्चर्यको विषय होइन। तर, 'कर्मयोगी'देखि 'सन्तनेता'सम्मको पगरी गुथाइएका भट्टराईमा पुरानो संविधानप्रतिको मोह र संवैधानिक राजतन्त्रप्रतिको आशक्तिले उनलाई लगाइएका विशेषणकै बेइज्जत गरेको छ।
पुरातन विचार, चिन्तन, संविधान र व्यवस्थाप्रति मोहित हुनु अपराध होइन। पुरातनप्रति प्रेम गर्ने अधिकार खोस्न मिल्दैन, कसैलाई पनि नयाँप्रति आस्था र प्रेम गर्न बाध्य पार्न पनि सकिँदैन। तर, पुरातनप्रति भट्टराईको माया शवप्रेमजस्तै छ भन्न पनि पाइन्छ। राजतन्त्र, हिन्दू धर्म र केन्द्रीकृत एकात्मक राज्यको पक्षपोषण आधुनिक युग र समयसापेक्ष छैन। उनले पुरातनवादीहरूको स्वरमा स्वर मिलाएका छन्। कुनै जमानामा 'शिखरपुरुष'को संज्ञा दिइएका भट्टराईले आफ्ना समकालीन र समवयी नेताको देहान्तका कारण केही राजनीतिक शून्यता देखिएको अर्थात् अहिलेका 'शिखरपुरुष' गिरिजाबाबुको देहान्त भएलगत्तै आफ्नो प्रतिगामी धारणा सार्वजनिक गरेका छन्। अब खोज्नुपर्छ, उनको विज्ञप्ति कुनै सनकको उपजमात्रै हो कि गिरिजाबाबुकै शब्दमा राजतन्त्रवादीहरूको 'ग्राण्ड डिजाइन'कै कडी हो?




भट्टराईले पहिले 'नेपाललाई हिन्दूराज्य बनाउने' कालीबाबाको पश्चगामी अभियानलाई गद्दीच्युत राजा ज्ञानेन्द्र शाह र कांग्रेसका नेता खुमबहादुर खड्काको पछिपछि लागेर समर्थन गरे। लगत्तै ज्ञानेन्द्र शाहले 'राजतन्त्रको अन्त्य भएको कुरा काल्पनिक' भन्ने भने। अनि त्यति नै बेला भट्टराईले पनि विज्ञप्ति जारी गरे, '०४७ सालको संविधान र संवैधानिक राजतन्त्र पुनर्स्थापना'को माग गर्दै। र, उता खड्काले पनि त्यही शैलीमै दाबी गरे, राजतन्त्रको पुनर्स्थापना हुनसक्छ। यस्ता पुरातनप्रेमी दाबी कुनै संयोगवश आएका नभएर राजनीतिक अस्थिरताको धमिलो पानीमा माछा मार्ने योजनाअनुसार आएका हुन्। उनको वक्तव्य पनि आफ्नो गुमेको राजनीतिक स्थान हासिल गर्न पुरातनवादीले थालेको 'वार अफ स्पेस'कै कडी हो, अन्तोनियो ग्राम्सीका शब्दमा।

'लोकतन्त्रका पुजारी'को संज्ञा पाएका भट्टराइले 'संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई हतारमा आयात गरिएको पोसाक'को ठप्पा लगाएर, त्यस्तो पोसाक लगाउँदा मुलुककै पहिचान गुम्ने डर देखाएर हिन्दू राजनीतिका नयाँ मठाधीश हुने लोभमा आफ्नो सन्त नेताको कदलाई छोट्याएका छन्। राजतन्त्रको पक्षपोषण गरेर उनले लाखौँ नेपाली जनताको दूरदर्शिता र विवेकले भरिएको आन्दोलनकै अपमान गरे। यस प्रतिगामी विचारल उनलाई ८६ औंँ जन्मदिनको अवसरमा दिइएको 'गान्धीवादी नेता'को पगरी खुस्काइदिएको छ। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा उभिएका गिरिजाबाबुको निधनपछि राजतन्त्र, केन्द्रीयता र हिन्दू राज्यको मियो बनाउन खोजिएका भट्टराई लोकतन्त्रका विपक्षमा यति चर्कोरूपमा कहिल्यै देखिएका थिएनन्।

हुन त भट्टराई कहिल्यै गणतन्त्रवादी भएनन्, न त धर्मनिरपेक्षतावादी र संघीयतावादी नै भए। उनी त्यस्ता लोकतन्त्रवादी थिए, जसको वैचारिक सीमा संवैधानिक राजतन्त्रमै गएर समाप्त हुन्छ। उनको लोकतन्त्र 'प्रजातन्त्र'मै सीमित छ, जसको साँध गणतन्त्र, धर्मनिरपेक्षतावादी र संघीयतासम्म फैलिन सकेको छैन। उनको 'प्रजातन्त्र' २०४७ को नेपाल अधिराज्यको संविधानकै वरिपरि केन्द्रित छ, जसलाई नेपाली जनताले मात्रै होइन, राजाहरू स्वयम्ले पनि कन्टेनरमा फ्याँकिसकेका थिए। उनले कुन राजाको व्यवहारमा संवैधानिक राजतन्त्रको छायाँ देखे, थाहा छैन। उनले कुन राजालाई संवैधानिक ठानेर संवैधानिक राजतन्त्रको प्रत्यारोपण गर्न खोजेका हुन्, त्यो पनि स्पष्ट छैन। उनी आफैंले भोगेका सबै राजा व्यावहारिक धरातलबाट हेर्दा संवैधानिक राजतन्त्रवादीसमेत भएका पाइँदैन।

भट्टराई कुनै राणाशासनविरुद्ध हतियार नै उठाउने विद्रोही हुन्। उनले शाहवंशीय राजतन्त्रद्वारा पोषित पञ्चायती शासनविरुद्ध शान्तिपूर्ण आन्दोलन चलाए। भट्टराई त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मका चारैजना राजाले गरेका हत्या-हिंसा र दमन-उत्पीडनका साक्षी र भोक्ता प्रजातन्त्रवादी योद्धा पनि हुन्। तर, ती राजाहरूले प्रजा र प्रजातन्त्रलाई सैन्यबलले मारेको देख्दादेख्दै पनि, तिनैको हत्या-हिंसा भोग्दाभोग्दै पनि उनी संवैधानिक राजतन्त्रवादी नै भइरहे, कुनै पनि राजाभन्दा बेसी मात्रामा।

राजतन्त्रसँग भट्टराईको प्रजातन्त्रको यो जोड राज पुरोहितका सन्तान भएकाले सम्भव भएको हो त? होइन, यो उनको मात्रै नभएर अधिकांश यथास्थितिवादी प्रजातन्त्रवादीकै संकट हो। धेरैजसो यथास्थितिवादीले गिरिजाबाबुको पछिपछि लागेर अग्रगामी हुने प्रयास गरे, तर भट्टराईको गाडी भने २०४७ सालमै अडेकेको अड्क्यै भयो। गिरिजाबाबुको अगुवाइमा कांग्रेसजनले गणतन्त्रको ध्वजा उचाल्दा उनले आफैले स्थापना गरेको कांग्रेसै त्यागेर राजतन्त्रका झन्डा बोके।

पक्कै पनि ६ दशकभन्दा लामो राजनीतिक यात्रामा भट्टराईले राजतन्त्रबारे पुनर्विचार गर्दै नगरेको भने होइन। ०१७ सालको शाही सैन्यविप्लवपछि सुन्दरीजल जेलमा राजाबाट थुनिँदा उनले राजतन्त्रबारे पुनर्विचार गरेका थिए, - हामीले राजाले क्रान्तिमा जनताको साथ दिएको प्रोपोगण्डा गर्‍यौँ। अन्ततः त्यही प्रोपोगण्डाको सिकार हामी पनि बन्न पुग्यौँ। राणाशासनको अन्त्यपछि कांग्रेसको प्रतिस्पर्धा वा शत्रुता राजासँग हुन्छ भन्ने नठानेर ठीक उल्टो काम गर्‍यौँ।

राजा महेन्द्रबाट विघटित संसद्का सभामुख भट्टराईजस्ता धेरै नेता जेलमा हुँदा आफ्नो मुख्य शत्रु ठम्याउन नसकेकोमा आत्मालोचना पनि गर्थे। तर, उनीहरू पनि आधा दशकभन्दा लामो जेलजीवनबाट निस्केपछि पनि 'राजतन्त्रको मानसिक खोर'बाट भने कहिल्यै निस्कन सकेनन्। चाहे वीपी कोइराला हुन् या भट्टराई हुन्, उनीहरु सबैमा 'अथोरिटी'को दृष्टिकोणले, निष्पक्षताका दृष्टिकोणले यस समाजका निम्ति राजतन्त्र आवश्यक हो भन्दै हिँडे। राजदरबार त सम्पूर्ण षड्यन्त्रको घरै हो, यो कटु सत्य पनि भट्टराईलाई थाहा नभएको होइन। तर उनको अन्धआस्था भने संवैधानिक राजतन्त्रमाथि नै रहिरह्यो, उनको निरन्तर खोज भने 'बाख्रा नखाने अहिंस्रक बाघ'कै रहिरह्यो।

आफूले क्रान्ति गर्ने क्रममा दिल्लीबाट बोकेर ल्याइएको राजतन्त्रले नेपाली कांग्रेसलगायत सबैजसो दल र जनतालाई पटक-पटक लात मार्दा पनि उनी पटक्कै चेतेको देखिएन। राजतन्त्र र प्रजातन्त्रलाई सँगसँगै लान २००७ र २०४६ मा भगीरथ प्रयत्न गर्ने क्रममा राजाहरूले संवैधानिक राजतन्त्रको मुकुण्डो फ्याँकेर प्रजातन्त्रै खाँदासमेत उनको होस खुलेको पाइएन। र त उनी संवैधानिक राजतन्त्रको जपमाला जप्दै थिए, हिंस्रक बाघलाई शाकाहारी बनाउने व्यर्थ प्रयास गर्दै थिए। र त उनी 'कर्मयोगी राजनीतिज्ञ : कृष्णप्रसाद भट्टराई'मा भन्दै थिए, धेरै जाति, उपजाति, जनजाति भएको देशमा मियोको रूपमा राजतन्त्र अत्यावश्यक छ, निष्पक्ष राष्ट्रप्रमुखका रूपमा वंशानुगत र अनिर्वाचित राजा राख्नु फाइदाजनक छ। सबैका साथ समान व्यवहार गर्ने, सबैका उपर दया देखाउने, राजनीतिमा नलाग्ने र दुनियाँको सेवा गर्ने राजतन्त्रको ठूलो उपयोगिता छ।

'देश र जनताको दयालु अभिभावक' खोज्दै राजतन्त्रवादी हुँदै आएका भट्टराईले लोकतन्त्रका लागि हतियार नउठाएको पनि होइन, सत्याग्रह र जनआन्दोलन नगरेको पनि होइन। तर, यति लामो संघर्षको इतिहास बोकेका भट्टराईको लोकतन्त्रको सिद्धान्त र व्यवहार भने 'प्रजातन्त्र'बाट माथि उठ्नै सकेन। र, जहाँ जनता लोक र नागरिक होइन, प्रजामात्रै हुन्छ, त्यहाँ राजा हुनु अनिवार्य हुन्छ, राजतन्त्र हुनु अत्यावश्यक हुन्छ, उनको राजावादी आचरणले यस्तै ठान्छ। अतः नेपाली जनता लोक र नागरिक हुन गणतान्त्रिक संघर्षमा आन्दोलित हुँदा पनि भट्टराई भने प्रजा र प्रजातन्त्रको हत्यारा राजतन्त्रसँगै टाँसिएर बसे। राजाबाट बक्सिसप्राप्त ०४७ को संविधान च्यातेर नेपाली जनता संविधानसभातिर फड्को मारिसकेपछि पनि उनी भने मृत संविधानकै धारा पल्टाउँदै बसे, गीतापाठ गरेझैँ। जनताका दलहरूले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र लागू गर्न थाल्दा पनि भट्टराई भने आफ्नो प्राणप्यारो राजतन्त्रात्मक हिन्दू अधिराज्य पुनर्स्थापनामै जुटिरहेका छन्।

यस अर्थमा भट्टराईको हिन्दू अधिराज्यको आग्रह, राजतन्त्रको मोह र २०४७ सालको मृत संविधान पुनर्स्थापनाको दुराग्रह समयसँग हिँड्न नसक्ने व्यक्तिको थोत्रो विचारबाहेक अरू केही होइन। यस्तै गनगन गर्दै हिन्दूवादी, राजावादी र संघीयताविरोधीको मोर्चाको नेतृत्व गर्न चाहन्छन् भने उनले जनता र राज्यले दिएको सुविधा त्याग्ने आँट पनि गर्नुपर्ने हुन्छ। यस्ता सुविधा भोग्दै जनता, जनआन्दोलन र जनादेशको हुर्मत पनि लिँदै बस्न उनलाई लाज लाग्नुपर्ने हो!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस