'के सामन्ती ढाँचामा जनआवाजलाई दमन गर्न गठन भएको सेना राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्ने संसद् वा त्यस्तै अरू संस्थाको हतियार हुनसक्छ?'
- बिपी कोइराला, 'सेना' (तरुण-७)
नेपाली सेनाको लोकतन्त्रीकरण र पुनर्संरचनाका बारेमा गिरिजाप्रसाद कोइरालाका अनुभव र विचारमा खासै प्रकाश पारिएको देखिएन। उनको देहान्तपछि उनी र सेनाबीचको द्वन्द्वात्मक सम्बन्धका बारेमा वस्तुगत समीक्षा भएको छैन। त्यसैले नेपाली सेनाको लोकतान्त्रीकरण र पुनर्संरचनाका बारेमा गिरिजाबाबुका अनुभवबाट पाठ सिक्ने काम ओझेलमा परेको छ।
गिरिजाबाबुको देहान्तपछि सार्वजनिक भएका संस्मरणमा भने गिरिजाबाबु र सेनाको बीचमा रहेको द्वन्द्वात्मक सम्बन्धका बारेमा छिटपुट सम्झना प्रकट भएको पाइन्छ। विशेषतः शाहवंशीय राजाहरूसँग गिरिजाबाबुको द्वन्द्वको क्रममा शाही सेना राजाका अस्त्र र माध्यमका रूपमा प्रयोग भएको तथ्य केही संस्मरणमा अभिव्यक्त भएको देखिन्छ। 'कान्तिपुर' (१९ चैत, ०६६) मा प्रकाशित नरहरि आचार्यको विश्लेषणअनुसार, माओवादीमाथि सैनिक नियन्त्रण गर्ने मुद्दामा राजा वीरेन्द्रसँग गिरिजाबाबुको मतभेद प्रारम्भ भएको थियो। वीरेन्द्रको वंशको ०५८ जेठ १९ मा विनाश भएपछि आफँैले मान्यता दिएर स्थापित गरेका नयाँ 'राजा' ज्ञानेन्द्रसँग उनको द्वन्द्व शासनको प्रारम्भमै चुलिएर गयो। कृष्ण सिटौलाले 'नागरिक' (१९ चैत, ०६६) मा दरबारको षड्यन्त्रका रूपमा प्रकट भएको होलेरी काण्डका कारण गिरिजाबाबुमा राजा र सेनाका बारेमा धारणा परिवर्तन भएको तथ्य उजागर गरेका छन्। उनका अनुसार, राजा ज्ञानेन्द्रबाट कार्यकारी प्रधानमन्त्रीलाई सेना परिचालन गर्न असहयोग गरिएकाले 'होलेरी काण्ड' घटित भएपछि गिरिजाबाबुले गणतन्त्रमा जाने प्रण गरेका थिए। र, निर्वाचित प्रधानमन्त्रीलाई अपमान गर्ने राजालाई अब बोक्नुहुन्न भन्ने अठोट गरेका थिए। 'कान्तिपुर' (१९ चैत, ०६६) मा प्रकाशित शेखर कोइरालाको संस्मरणअनुसार, होलेरीमा प्रधानमन्त्रीको आदेशमा सेना परिचालन नभएपछि गिरिजाबाबुलाई सेना राजाको हातमा होइन, जनतामातहत हुनुपर्छ भन्ने लागेको थियो। राजा आफ्नो ठाउँमा 'सेरेमोनियल' भएर बसून् र सेना जनताले चलाउनुपर्छ भन्ने उनको भनाइ थियो।
राजाले सेनामाथि कमाण्ड गर्ने र सेनाले राजाका आदेश पालना गर्ने परम्परा नौलो होइन, ०५८ असार २८ गते रोल्पाको होलेरी काण्डमा छरपस्ट भएको मात्रै हो। होलेरी काण्डको पृष्ठभूमिमा भएको दुनै काण्डमा यही समस्याका कारण गिरिजाबाबुले गृहमन्त्री गोविन्दराज जोशीको राजीनामासमेत लिनुपरेको थियो। र, होलेरी काण्डको लगत्तै सेनाका मामिलामा राजाको दबाबसामु नझुक्ने प्रणसहित उनले पनि राजीनामा नै दिनुपरेको थियो।
तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुका सहयोगी शीतल कोइरालाका अनुसार, राजा वीरेन्द्रको वशंविनाशपछि राजतन्त्र जोगाउन सकिँदैन भन्नेमा उनी प्रस्ट भएका थिए। उनी भन्ने गर्थे, 'राजा महत्वाकांक्षी भएपछि र राजाले जनताको चाहना र इच्छा नबुझेपछि राजतन्त्र जोगिँदैन।' तर, नरहरि आचार्यका अनुसार, दुवै राजाहरूसँगको द्वन्द्वको शृंखलालाई सैद्धान्तिक आधार प्रदान गर्ने तथा महत्वाकांक्षी र क्रियाशील हुन निरन्तर उत्सुक 'शाह राजतन्त्र'लाई यथार्थमा संवैधानिक र आलंकारिक राजसंस्थामा रूपान्तरण गर्ने राम्रो अवसर गिरिजाप्रसाद कोइरालाले पाए पनि यस अवसरको सदुपयोग गरेनन्।
महत्वाकांक्षी र क्रियाशील हुन निरन्तर उत्सुक तत्कालीन राजा ज्ञानेन्द्रले भने प्रधानमन्त्री गिरिजाबाबुको राजीनामापछि त्यस्ता कुनै मौका चुकाएनन्। उनले संकटकालको घोषणासहित प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा राजतन्त्रको मुख्य अस्त्र-शाही सेनाको बन्दुक हालेर माओवादीविरुद्ध प्रहार गरे। गिरिजाबाबुको धारणाअनुसार निर्वाचित प्रधानमन्त्रीको साटो राजाले नै सेना परिचालन गर्ने उल्टो प्रक्रिया प्रजातन्त्र मास्ने उपक्रम थियो, जुन विश्लेषण सही साबित भयो। यसैले 'संवैधानिक राजतन्त्र'मा पनि कार्यकारी प्रधानमन्त्रीका अधिकार राजाबाट कटौती गरिने र सेनाको बलमा प्रजातन्त्र समाप्त पार्ने यस्ता उपक्रमबाट गिरिजाबाबु सचेत र सतर्क भएका थिए। त्यहीकारण उनले यसबीचमा शाही सेनालाई लोकतान्त्रिक बनाउने आफ्ना सान्दाजु : बिपी कोइरालाको सपनालाई घरीघरी सम्झेको देखिन्छ। 'सान्दाजु नेपाली सेनालाई लोकतान्त्रिक बनाउन र त्यसलाई नागरिक सरकारको मातहतमा राख्न चाहनुहुन्थ्यो। उहाँको त्यो इच्छा पूरा हुन सकेन। उहाँले मलाई ०१७ सालको घटनापछि बारम्बार भन्ने गर्नुहुन्थ्यो, सेना निर्वाचित सरकारको मातहतमा नहुँदा प्रजातन्त्रलाई खतरा भइरहन्छ।' यसरी शीतल कोइरालाले 'नागरिक' (१९ चैत, ०६६) मा गिरिजाबाबुको भनाइ उद्धृत गर्दै ठोकुवा गरेका छन्, ०६२/६३ को आन्दोलन सुरु गर्दा कोइरालाले बीपी कोइरालाको त्यही सपना पूरा गर्ने प्रण गरेका थिए।
यस्तो प्रणका बारेमा कांग्रेस-वृत्तइतरको वामखेमाका नेताहरूले पनि सेनाको लोकतान्त्रीकरणबारे पुष्ट्याइँको भाषामा लेखेको देखिन्छ। तत्कालीन नेकपा एकताकेन्द्रका महामन्त्री र हाल माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले ०५९ वैशाख २६ गते संसद्वादी दल र माओवादीबीच सहकार्यका लागि गिरिजाबाबु र प्रचण्डबीच पहिलोपटक फोनवार्ता गराएका थिए। त्यस ऐतिहासिक भेटको अवसरमा गिरिजाबाबुले बिपी कोइरालाको त्यही अधुरो सपनाको कुरा गरेको तथ्य उनले 'नयाँ पत्रिका' (११ चैत, ०६६) मा यसरी उद्धृत गरेका छन्, 'सान्दाजु नेपाली सेनालाई लोकतान्त्रिक बनाउन र त्यसलाई नागरिक सरकारको मातहतमा राख्न चाहनुहुन्थ्यो। उहाँको त्यो इच्छा पूरा हुन सकेन।' उहाँले मलाई भन्नुभएको थियो, 'त्यसैकारण नेपालमा प्रतिगमन हुने र प्राप्त भएको उपलब्धि गुम्ने भइरह्यो। यो अहिलेसम्म कायम छ। अबको मेरो अन्तिम उद्देश्य सान्दाजुले प्रयत्न गर्नुभएको, तर सफल नभएको त्यही कार्यभार पूरा गर्ने हो। शान्तिका लागि माओवादीसँग वार्ता गर्नुको एउटा उद्देश्य नेपाली सेनालाई लोकतान्त्रीकरण गर्नु हो। त्यसो नगरी लोकतन्त्र संस्थागत हुँदैन।'
यस्तै अनेक प्रयास र विश्वासका आधारमा ०६२ मंसिर ७ गते संसद्वादी दल र माओवादीबीचको बाह्रबुँदे समझदारी भएको थियो। तर, त्यस समझदारीमा माओवादी सेना र शाही नेपाली सेनालाई सुपरिवेक्षण गर्न राष्ट्रसंघलाई बोलाउने तेस्रो बुँदामा नेपाली कांग्रेसको बैठकभित्र गिरिजाबाबुको व्यापक आलोचना भयो। सिटौलाका अनुसार, बाह्रबुँदेका विरोधी साथीहरूले सेनालाई माओवादी लडाकुसरह दर्जा दिइएको भनेर गिरिजाबाबुको उछित्तो काढे। गिरिजाबाबुलाई राजाको र माओवादी दुवैको बन्दुकमाथि विश्वास नभएकाले सेनालाई सीमित गरिएको हो। उनी भन्ने गर्थे, 'बिपी र शेरबहादुरलाई थुन्ने राजाको यही सेना हैन? सेनाको बन्दुक हैन?'
गिरिजाबाबु आफ्नै पार्टीभित्र आलोचित भएको बाह्रबुँदे समझदारीकै जगमा ०६२/६३ को जनआन्दोलन सफल भयो। त्यसपछि राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानसभाको चुनाव पनि भयो। यसबीचमा उनकै नेतृत्वमा अन्तरिम संविधानको लेखन, हतियार र सेना व्यवस्थापन र अनुगमनसम्बन्धी सम्झौतासँगैै विस्तृत शान्ति सम्झौता पनि भयो। ती सम्झौता र सहमतिमा सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणको मुद्दाले केही परिच्छेदसम्मको स्थान पाएको छ। तर, तेज गतिमा भएको जनआन्दोलनदेखि सुस्त गतिमा चलिरहेको संविधान लेखनको यो जटिल संक्रमणकालमा सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणको मुद्दा भने सबैभन्दा बेसी ओझेलमा पर्यो र सत्ता-समीकरण नै सबैभन्दा अग्रस्थानमा रह्यो।
गिरिजाबाबुलाई संवैधानिक राजतन्त्रवादीबाट गणतन्त्रवादी बनाउने मुख्य मुद्दाको रूपमा रहेको यस विषयप्रति संसदीय दलहरूको गम्भीर ध्यानाकर्षण भएन। उनीहरूका नेता गिरिजाबाबु कार्यकारी प्रधानमन्त्री र कायममुकायम राष्ट्राध्यक्षजस्तो सर्वशक्तिमान हैसियतमा रहँदा पनि यो विषय उनको समेत एउटा मुख्य एजेण्डा बनेको देखिएन। सान्दाजुको सपना उनको कुर्सीवरिपरि पुग्न पनि पायो कि पाएन, उनका निकटतम सहयोगीहरूले पनि उल्लेख गरेका छैनन्। तर, सत्तामा हुँदाको उनको व्यवहार हेर्दा भने सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणको मुद्दाले खासै स्थान नपाएको देखिन्छ। खसोखास भन्ने हो भने बाह्रबुँदे समझदारीका विरोधीहरूको मुद्दाले विशेष स्थान पाएको देखिन्छ। सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणको मुद्दालाई बेवास्ता गर्ने अनि माओवादी सेनालाई निःशस्त्र पार्ने मुद्दाले मात्रै प्रश्रय पाउने स्थिति बनेको देखिन्छ। राजसंस्था र त्यससँग जोडिएको कुलीनतन्त्रको मुख्य दमनकारी अस्त्रको रूपमा प्रयोग हुँदै आएको सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणको मुद्दा ओझेलमा पर्नु वा पार्नु बीपीको चाहना र गिरिजाबाबुको उद्देश्यकोे पनि हार हो।
यसको शंृखला गिरिजाबाबु जीवित छँदै सुरु भएको थियो, जब जननिर्वाचित प्रधानमन्त्री प्रचण्डले सरकारको आदेश नमान्ने राजावादी सेनापतिलाई हटाउन खोज्दा उनी आफैँले राजीनामा दिनुपर्यो। त्यो शंृखला विदेशी शक्ति र नेपाली सेनाको बलमा नयाँ दक्षिणपन्थी सत्ता-समीकरणसँगै तीव्ररूपमा विस्तार भएको छ, जसमा गिरिजाबाबुको पनि भूमिका थियो। त्यो शंृखला प्रतिपक्षी दल माओवादी र उसको सेनालाई रोक्न सक्ने एकमात्र र अन्तिम शक्तिका रूपमा सेनालाई ठान्ने र त्यसलाई काँधमै बोक्ने उपक्रमसँगै झ्याँगिँदै गएको छ। र त राष्ट्रिय सुरक्षानीतिको निर्माण, सुरक्षाक्षेत्रको सुधार तथा पुनर्संरचना, सुरक्षानिकायमाथि लोकतान्त्रिक नियन्त्रण र राष्ट्रिय सुरक्षापरिषद्को सुदृढीकरणजस्ता राष्ट्रिय सुरक्षाका मुख्य एजेण्डा 'हतियार र सेना व्यवस्थापन र अनुगमनसम्बन्धी सम्झौता' अनि 'विस्तृत शान्ति सम्झौता'का कापीमै सीमित भएका छन्। अतः वर्तमान समयको ज्वलन्त प्रश्न छ, पुराना 'महामानव' सान्दाजुको सपना पूरा गर्ने प्रण गरेका, नयाँ 'महामानव' गिरिजाबाबुको आस्थालाई शिरोपर गर्नेहरूले के ती मुद्दालाई मृत कापीबाट मुक्त गरी व्यवहारमा लागू गर्ने हिम्मत गर्नसक्छन् जसबाट लोकतान्त्रिक वा अलोकतान्त्रिक 'कुदेताँ'बाट देशलाई मुक्त पार्न सकियोस्?