सुध्रिन नचाहने दलहरु
१८ वैशाख २०६७
•
१२ मिनेट पाठ
सुध्रिन नचाहने दलहरु
सिंहदरबारको आलिशान आकृतिभित्र हराएको लोकतन्त्र र दलहरुको असहमतिको थुप्रोमा अलमलिएको संविधानको खोजी गर्न माओवादी पार्टीको आह्वान र संयोजनमा राजधानी प्रवेश गरेका विभिन्न भाग र भेगका नेपालीले काठमाडौँ सहरलाई रंगीन र जीवन्त बनाइदिएका छन्।
यति बेला राजधानी सहरको नियमित जीवनमा अनौठा व्यवधानहरु देखा परेका छन्। निम्नमध्यमवर्गीय गृहिणीहरु उपभोग्य सामग्री र तरकारीको भाउ अझै बढ्ने चिन्ताले आतंकित छन्। आइतबार सुरु हुने भनिएको आम हड्तालले पूरै जीवन पंगु हुने त छँदैछ। शुल्क वृद्धिको विरोधमा बन्द पाठशालाहरु खोल्ने सहमति निष्त्रि्कय भएको छ। तैपनि, समाज एकप्रकारले जीवन्त बनेको छ। मनको भित्री तहदेखि रिसाएका मानिसले अव्यक्त क्रोध अभिव्यक्त गर्ने मौका पाएका छन्। अन्ततः संविधान निर्माणको सबैभन्दा बढी चासो पनि त राजधानीमै केन्द्रित छ।

पछिल्लो जनआन्दोलनपछि जनता यति संगठित ढंगले राजधानी पसेको यो पहिलो पल्ट हो। सुकिला, सभ्य र शासकीय गुणहरुले ओतप्रोत नागरिकको यस सहरमा सामान्य जनताको प्रवेशले अलिकति विस्मय, अलिकति संशय र अलिकति द्वन्द्वको सिर्जना पनि गर्न खोजेको छ। जनताको यो अविरल लर्कोसँगै विभिन्न जातका बमगोला, लाठी, खुकुरी र अनेक प्रकारका गुच्चा र गुलेलीहरु पनि भित्रिएको खबर सुनेर राजधानीका रैथानेहरु नआत्तिनु त सम्भव नै थिएन।

 

सधैँ सहमतिका पीडादायक समाचारहरु बोकेर निरस समय बिताइरहेका मिडियाका लागि योभन्दा ठूलो सनसनी अरु के हुन सक्थ्यो र? त्यसमाथि पनि सरकारले हजारौं नेपाली एकसाथ राजधानी प्रवेशको यस घटनालाई अल-कायदा नै पस्न लागेको शैलीमा ग्रहण गरेको छ। सेनादेखि सशस्त्रसम्मका सबै फौजीहरु 'हाइ अलर्ट'मा छन्। आफनै देशका जनता राजधानी पसेको घटनालाई सरकारले नै सहज ढंगले लिन नसकेपछि बाँकी सर्वसाधारणको सातो नउड्ने कुरै थिएन। जनताको राजधानी प्रवेशलाई सरकारले नै बाली बिमाख पार्न खेतबारीमा पसेको सलहका रुपमा लिएपछि डर दोब्बर हुनु अस्वाभाविक होइन।

केन्द्रीय तहमा कार्यरत नेपाली बुद्धिजीवीहरुले जनताको राजधानी आगमनले स्थापित यथास्थितिमा ठूलो उथलपुथल ल्याउने विश्लेषण गरेका छन्। गठबन्धनमा रहेका सरकारी दलहरुका लागि जनताको राजधानी यात्रा ठूलो दबाबका रुपमा प्रस्तुत भएको छ। जनतालाई राजधानी ओराल्ने माओवादी दलका लागि विरोधको राजनीतिक व्यवस्थापन अत्यन्त अप्ठेरो उपक्रम बनेको छ। सबैका आ-आफनै आशंका र संशयहरु छन्। यी आशंका र संशयहरु सत्यको निकट होलान् पनि। तर, यसलाई स्वाभाविक आशंका मान्न मिल्दैन। जुन आशयले आए पनि, स्वेच्छाले आए पनि र कसैको आह्वान र निर्देशनमा आए पनि जनतालाई आफनो देशको राजधानी आउने पूर्ण स्वतन्त्रता हुन्छ। जनताले आफ्नो हकको उपभोग गर्दा दबाब उत्पन्न हुन्छ भने त्यसलाई सबै पक्षले सहनुपर्छ। सहनुको विकल्प छैन।

लोकतान्त्रिक मूल्यहरुको संस्थापनमा यति बेलाको आन्दोलन कति प्रभावकारी होला? यस प्रश्नको जवाफ खोज्नु त्यति सहज छैन। जनतालाई उसको आफनै स्वार्थ रक्षाका लागि सडकमा उतार्नु राजनीतिक दलको खुबी हो। संविधान निर्माणका लागि आवश्यक राजनीतिक सहमति जुट्न नसकेका बेला सहमतिका पक्षमा जनताको दबाब आवश्यक थियो। माओवादी पार्टीले आफनो यो खुबीलाई प्रमाणित गरेको छ। तर, कतिपय सन्दर्भमा, खुबी प्रमाणित हुँदाहुँदै पनि सोचेको जस्तो परिणाम नआउन सक्छ र आन्दोलन कचल्टिन पनि सक्छ। पेसेवर राजनीतिज्ञहरुको शब्दावलीमा असफलता भन्ने शब्द नै हुँदैन। तर, आफनो जीवनमा परिवर्तनको चाहना राख्ने सामान्य जनताको मनमा यस्तो असफलताले घोर निराशा जन्माउँछ।

स्वतन्त्र राष्ट्रका रुपमा नेपाल गणतान्त्रिक लोकतन्त्रको युगमा प्रवेश गरे पनि प्रजातन्त्रका केही गुण र चरित्रहरु मात्र समावेश गरेर सञ्चालन गरिने एकात्मक शासन पद्धतिको धङ्धङीबाट मुक्त भएको छैन। नेताहरुको चरित्र नै एकात्मक शासन पद्धतिबाट प्रभावित छ। त्यसबाहेक, आफनो देशको मामिलामा उत्सर्गित हुने लालसा राजनीतिको रंगमञ्चमा उपस्थित कुनै पनि नेतामा भेटिँदैन। ठूला दुई देश चीन र भारतबीच आफनो अवस्थिति र त्यसबाट सिर्जित भू-राजनीतिक जटिलताका तन्तुहरुलाई समातेर सत्तामा टिकिरहने मानसिकताले थिचिएका छन् हाम्रा शासकहरु। देशका पक्षमा कुनै पनि खतरा मोल्न र आँटिलो निर्णय गर्न सक्ने क्षमताबाट वञ्चित छन् नेताहरु। सार्वभौम जनताले संविधान सभामार्फत संविधान लेख्न दिएको जनादेशको पालनासम्म पनि गर्न नसक्नु राजनीतिक अक्षमताको प्रमाण हो। यो प्रमाण अब विश्व इतिहासको पानामा कहिल्यै नमेटिने गरी अंकित भइसकेको छ।

यो कुरा स्पष्ट भइसकेको छ, गठबन्धन सरकार सञ्चालन गर्ने दलका नेताहरुले देशको समस्यालाई व्यापकतामा बुझ्न सकेका छैनन्। यसको अर्थ माओवादी दलका नेताहरुमा मात्रै बहुआयामिक दृष्टि छ भन्ने पक्कै होइन। उनीहरुमा पनि संकीर्णता छ। उनीहरुको अहिलेको यो आन्दोलन दबाब सिर्जनाका लागि मात्र होइन, शक्ति प्रदर्शन पनि हो। उनीहरुले प्रतिपक्षमा रहेको लाभ पूरै उठाएका छन्। अर्कातिर, अहिले गठबन्धनमा रहेका दलहरु विभिन्न पारम्परिक स्वार्थहरुको मेलजोल र राजतन्त्र अवसानपछिको खण्डित यथास्थितिबाट फाइदा उठाउन खोजिरहेका छन्। वर्तमान सरकार त्यही अवस्थाको उपज हो। त्यसैले गठबन्धनमा रहेका दलहरु संघीय राज्य निर्माण, प्रशासन, न्याय पद्धति र फौजजस्ता राज्यका महत्वपूर्ण अवयवहरुको पुनर्संरचनामा सहमत हुन सक्दैनन्। बढीभन्दा बढी यी दलहरु परिवर्तनलाई विकास-प्रक्रियासँगै आउने सुधारोन्मुख सत्यका रुपमा स्वीकार गर्न सक्छन्। तर, देशले यति बेला सुधारोन्मुख राजनीति होइन, संरचनात्मक परिवर्तन चाहेको छ। सुधारोन्मुख राजनीतिक पद्धति मात्रै देशको आवश्यकता भइदिएको भए संविधान सभा चुनावको आवश्यकता नै पर्ने थिएन। वैशाख आन्दोलनपछि तत्कालीन राजाद्वारा पुनर्स्थापित संसद्ले जारी गरेको संसद् घोषणा नै यसका लागि पर्याप्त थियो।

दलहरु, खास गरेर नेपाली कांग्रेस, नयाँ संविधानमार्फत आमूल परिवर्तनको कार्यसूचीमा चुकेका छन्। नेपाली जनताका अधिकारहरुको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणमा भन्दा माओवादी नसुधि्रएको र कब्जा भएका सम्पति फिर्ता नगरेकामा चिन्तित देखिन्छन् दलहरु। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुबाट हटेर दलहरुले राजनीतिमा एउटा यस्तो शून्यको अवस्था सिर्जना गर्दैछन् जसले उनीहरु स्वयंको राजनीतिक वर्चस्व खतरामा पार्नेछ। प्रतिदिन तीब्र हुँदै गएको राजनीतिक ध्रुवीकरण र क्षेत्रीय दलहरुको लगातार उत्थानले राजनीतिको अर्को पाटोमा कांग्रेसको प्रभावहीन उपस्थिति लोकतन्त्रकै लागि लज्जास्पद अवस्था सावित हुनेछ।
माओवादी नसुधेकोमा दलहरुले जतिसुकै आर्तनाद गरे पनि उनीहरु माओवादीलाई लोकतान्त्रिक आचरणमा समाहित गराउनभन्दा लोकतान्त्रिक धारबाटै पर धकेल्न प्रयत्नरत देखिन्छन्। माओवादीलाई सरकारको मूल धारमा आउनै नदिने र लखेटीमात्र रहने खेलमा लाग्ने हो भने माओवादीले मात्रै शान्ति प्रक्रियाको माला जप्नुपर्ने आवश्यकता पर्दैन। संविधान निर्माणमा सर्वदलीय सहमति बन्दैन भने माओवादीले आफनै संविधान र अन्य दलहरुले आफनै संविधान लेखेर जनमत संग्रहमा गए भइहाल्यो।

शान्ति, संविधान र राष्ट्रिय सरकारको खोजीमा राजधानी आएका जनताको मनस्थिति बुझने चेष्टा गर्ने हो भने माओवादी र सरकार दुवै पक्षले देशको आवश्यकता ठम्याउन सक्नेछन्। त्यसो नगरेर जिम्मेवार नेताहरुले ती जनताका आ"खामा माओवादीको प्रतिविम्ब खोज्न थाले भने देश ठूलो दुर्घटनाको सिकार हुने निश्चित छ। जनता कहिल्यै पनि निरिह र निराकार हुँदैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस