भिडन्तनिर उभिएको देश
१८ वैशाख २०६७
•
१५ मिनेट पाठ
भिडन्तनिर उभिएको देश
जब नेताले शान्तिको कुरा गर्छ




तब आम जनतालाई थाहा हुन्छ
युद्ध सन्निकट छ
जब नेताले युद्धको भर्त्सना गर्छ
तब युद्धको मोर्चामा जाने आदेश
जारी भइसकेको हुन्छ।
-बर्तोल्त ब्रेख्त

'गुरुकुल'मा जर्मन कवि एवं नाटककार बर्तोल्त ब्रेख्तको नाटक 'खरीको घेरो' (द ककेशियन चक सर्कल) हेर्दा नेपाली राजनीतिकै त्रासदी हेरेको महसुस हुन्छ। हो, त्यस्तो त्रासदी, जहाँ हिंसात्मक युद्ध समाप्तिको घोषणा भइसकेको हुन्छ, तर न्यायपूर्ण शान्ति पनि कायम भइसकेको हुन्न। जहाँ आततायी समाज फेरिएको हुन्न, जहाँ मुर्दा-शान्ति व्याप्त हुन्छ, त्यहाँ न्याय प्राप्तिको संघर्षका कठिनाइलाई 'खरीको घेरो'ले ज्वलन्त रुपमा उठाएको छ।

'खरीको घेरो' नाटक हेर्दै गर्दा ब्रेख्तले डबलीमा देखाएको युद्धोपरान्त व्याप्त मुर्दा-शान्ति नेपालको वर्तमान स्थितिभन्दा भिन्न अनुभूति हुँदैन। एकातिर मुर्दा-शान्ति कायम राख्न खोज्नेहरुले जारी राखेको नयाँ छद्म युद्धको विभीषिका छ। अर्कातिर मुर्दा-शान्तिलाई च्यातेर न्यायपूर्ण शान्ति खोज्नेहरुका संघर्ष पनि जारी छ। सम नाटकघरको डबलीभन्दा बाहिरको जीवनमा पनि महसुस भइरहन्छ यस्तो संघर्ष र संघर्षले उठाएका जल्दाबल्दा प्रश्न। सायद ब्रेख्तको एपिक थियेटरले दिने पृथकता (एलीनेसन)को प्रभाव यही हो।

बर्तोल्त ब्रेख्तको 'खरीको घेरो' हेरी सम नाटकघरबाट निस्कँदा नेपाली जनजीवन अर्को युद्ध आउन लागेको स्पष्टै महसुस भयो। नाटकका खलपात्रहरुले जस्तै नेताहरुले शान्ति र संविधानका नाममा युद्धघोष गरिरहेको प्रष्टै सुनियो। नेपाली कांग्रेसदेखि नेकपा एमालेका नेताहरुले 'शान्ति सम्झौता भंग भएको' उद्घोष गरिसके, अब युद्धविराम तोडिएको फर्मान जारी गर्न मात्रै बाँकी छ। एक जमानामा शाही सैनिक शासन चलाउने राजाका सारथि बनेका शेरबहादुर देउवा अब फेरि माओवादीसँग लड-भिड गर्न तयार भइसके, 'आँखा नभएका बन्दुक' उठाउनमात्रै बाँकी छ। कांग्रेस-एमालेलगायत तेह्रवटा युवा संगठनले माओवादीको प्रतिकार गर्ने अठोट गरिसके, नेपाली सेनाका नयाँ भिजिलान्तेका रुपमा सडकमा उत्रन मात्रै बाँकी छ। कांग्रेस-एमाले नेतृत्वको सरकारले युद्धका लागि आवश्यक बन्दोबस्तीका सामान भारतबाट जुटाइसक्यो, भारतीय समर्थनसँगै। एकातिर माओवादी लडाकुको तलब रोकेर उनीहरुलाई चिढ्याउने, अर्कोतिर नेपाली सेनाको सैन्य भर्ती खोलेर उनीहरुलाई खुसी तुल्याउने काम पनि गरिसक्यो। सत्तारुढ दस दलको समर्थन र सहयोगको भरोसामा आदेश पनि जारी गरिसक्यो : नेपाली सेना सतर्क र सजग होऊ, जनपद प्रहरीदेखि सशस्त्र प्रहरीलगायत सबै सुरक्षायन्त्र परिचालित होऊ, दमनका लागि तम्तयार होऊ!

अब खोज्न बाँकी छ, केवल युद्धका लागि गज्जबको मन छुने निहुँ। अब उन्खनन गर्न मात्रै बाँकी छ जायज, वैध र न्यायपूर्ण लाग्ने खालको नारा। आम जनताको आँखामा छारो हाल्न अत्यन्त जरुरी छ युद्धका निहुँ र नारा। त्यो मौका पनि जुटाउन खोजियो माओवादीद्वारा गरिएको देशव्यापी खुकुरी र लठ्ठीको अभ्यासको प्रचारमार्फत। त्यसैलाई अवैध सैन्य तालिमको संज्ञा दिँदै नेपाली सेनाको सैन्य भर्तीलाई जायज ठहर्‍याउन खोजिँदैछ। यसरी अचेल असली युद्धभन्दा अगाडि छायाँ-लडाइँ हुँदैछ, छापामाध्यममा र इलेक्ट्रोनिक मिडियामा। अनि जारी राखिएको छ छद्म-युद्ध जन-जनको मन र मानसमा। यो सक्कली युद्धपूर्वको स्थिति हो, जहाँ सशस्त्र रुपमा लडिने युद्धभन्दा अगाडि सघन पारिन्छ छायाँ-लडाइँलाई, जहाँ व्यापक पारिन्छ छद्म-युद्धलाई। अन्यथा, दक्षिणपन्थी गठबन्धनका मन्त्री र नेताहरुले शाही सैनिक शासनकालका मन्त्री र अध्यक्षहरुले जस्तै प्रतिकार र प्रतिरोधको सैनिक बोली बोल्ने थिएनन्। अन्यथा, आफ्नै आन्दोलनकारी सहयात्रीहरुलाई सत्ताको दरबारबाट हुत्याएर सडकमा फ्याक्ने थिएनन्, न त कहीँ नपुग्ने गल्लीभित्र थुनेर बिरालोलाई जस्तै कुट्ने दुस्साहस गर्ने थिए।

कहीँ नपुग्ने गल्लीको दक्षिणी छेउमा छन् सरकार र सरकारको टेको रुपमा उभिएका समूह र शक्ति। उत्तरी छेउमा छन् माओवादीका नेता-कार्यकता अनि ०६३ को आन्दोलनको उपलब्धि नपाएका असन्तुष्ट बेरोजगार युवाजन। दक्षिणपन्थतिर छन् ०६३ को आन्दोलनको उपलब्धिलाई पनि अपहरण गरी लोकतन्त्र, शान्ति, सुरक्षा र समृद्धि आफ्नो मात्रै पोल्टामा सीमित पार्न प्रयासरत कुलीन वर्ग र नव-धनाढ्य तप्का। अर्कोतिर वामपन्थतिर छन् तिनीहरुबाट पीडित वर्ग, दलित, लिंग, क्षेत्र, जाति र धर्मका जनता, जो मुर्दा-शान्तिबीच बाँचिरहेका छन्।

 

उनीहरुका जायज माग र उचित मुद्दालाई सरकार, राज्य र संविधानसभाको तहबाट, नयाँ संविधानको स्तरबाट सम्बोधन गर्ने मामिलामा कुलीन वर्ग र नव-धनाढ्य तप्का तयार देखिँदैन, न त तिनका राजनीतिक दल इच्छुक देखिन्छन्। तिनीहरुले राज्यको पुनःसंरचना, प्रत्यक्ष जननिर्वाचित सरकार, जातीय-भाषिक समस्या समाधान गर्ने संघीयता, धर्मनिरपेक्षतायुक्त राष्ट्र, सेनाको लोकतन्त्रीकरण, पुनर्संरचना र समायोजनबारे तिनका यथास्थितिवादी हठले ०६३ को जनआन्दोलनको म्याण्डेटअनुसार अग्रगमनसामु पहाडै तेर्स्याएका छन्। कुलीन वर्ग र नव-धनाढ्य तप्कासँगै तिनका राजनीतिक दलले त्यत्रो जनयुद्ध र जनआन्दोलपछि पनि एक इन्च भूमि पनि छाड्न तयार भएका छैनन्, न त कुनै विशेषाधिकार त्याग्न तयार भएका छन्। त्यसैले त ती दुई वर्ग र तप्काबीचको द्वन्द्व भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको छ, जुन मुर्दा-शान्ति व्याप्त काठमाडौँमा पनि फैलिँदैछ।

कुलीन वर्ग र नव-धनाढ्य तप्काको राजनीतिक नेतृत्व गर्ने संसदीय दलहरु पनि संविधानसभाको चुनावमा प्रकट भएको जनमतद्वारा खोसिएको 'राजनीतिक स्थान'मा सीमित हुनै चाहेनन्। बरु, त्यो 'राजनीतिक स्थान' माओवादीको हातबाट खोस्न उनीहरु राष्ट्रपति, सेना र भारतको बलमा 'शफ्ट कू' गर्न पनि पछि हटेनन्। ०६३ को जनआन्दोलनको आदेशलाई कुल्चेर सहमतीय राजनीतिको साटो असहमतीय राजनीति गर्न पनि लाज मानेनन् उनीहरुले। हिंसात्मक द्वन्द्व बढ्ने सर्तमा पनि उनीहरुले बहुमतीय शासन शैली अपनाउँदै, अनिर्वाचित झुण्डलाई सरकार चलाउने ठेक्का दिँदै, ठूलो राजनीतिक दललाई संसदीय अखडामै तानेर माथ गर्न पनि पटक्कै घिन मानेनन्।

यस्ता काम-कारबाहीमा लाजघीन केही नमान्ने तिनै संसदीय दलहरुको सत्ता-शक्तिको चक्रव्यूहमा अभिमन्यूजस्तै फस्यो माओवादी। सरकारबाट हठात् बहिगर्मनसँगै चक्रव्यूहबाट उम्किए पनि माओवादी भने एक वर्षको अवधिमा हावामा तरबार चलाउने योद्धाको भूमिकामै मग्न रह्यो, संघर्षका नाममा। तरबार नचाइकै अवधिमा भएका बहसका कारण नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको आन्दोलनले सैनिक नेतृत्व, राष्ट्रपति र भारतबारे प्रश्न उठाउन ऊ सफल नभएको होइन। त्यसले लोकतन्त्र, राष्ट्रियता र देशभक्तिप्रति जागरुकता पैदा नगरेको होइन। तर, त्यो जागरुकता भावनात्मक राजनीतिभन्दा अगाडि बढेन, जनताका ठोस मुद्दासम्म जोडिएन। उसले आमूल परिवर्तनवादी सामाजिक संघर्षलाई तीव्र र सघन पार्न सकेन। त्यही कारण उसको वर्गीय राजनीति सघन र व्यापक भएन र वर्गीय जनाधार बेसी सुन्निएर मोटाए पनि त्यति बलियो भएन।

निश्चय पनि गरिखाने वर्गको संख्यात्मक उपस्थिति माओवादीमै सबैभन्दा बेसी छ। उनीहरुको सहानुभूति, समर्थन, सहयोग र सांगठनिक सक्रियता पनि माओवादीमा मात्रै बाँकी छ, र पनि बेरोजगारीलगायत उनीहरुका जीविकाका मुद्दा उठाउने प्रश्नमा उसको ध्यान-ध्याउन्ना कम गएको देखियो। आकाश छुने महँगी, दिउँसै मान्छे मारिने हदसम्मको अशान्ति र असुरक्षालगायत दैनिक जीवनका समस्यामा संघर्ष गर्ने सवाल उठाउने मामिलामा उसको प्राथमिकता कम भएको पाइयो। यसरी समग्रमा भन्दा जनमुखी राजनीतिलाई सघन, तेज र व्यापक पार्ने मामिलामा भने ऊ चुकेकै देखियो।

यसको अर्थ हो, वर्तमान संघर्षलाई साँच्चै जनआन्दोलनको रुपमा विकास गर्न चाहेको हो भने उसले यस्तो गम्भीर भूलचुकबाट पाठ सिक्नुपर्छ। अन्यथा, उसको आन्दोलनलाई सरकारी कुर्सीमा प्रचण्डको पुनः आरोहणका रुपमा बुझ्ने-बुझाइने स्थिति कायमै रहने छ। निःसन्देह, यो आन्दोलन प्रचण्डको सत्तारोहणको स्वार्थको सेरोफेरोमा मात्रै सीमित गरियो भने पुरानो राज्यको पुनर्संरचना र समाजको आमूल परिवर्तनको अत्यावश्यक मुद्दाले अक्करमा रहेको चिचिण्डोको विडम्बनापूर्ण नियति भोग्नुपर्ने हुन्छ।

अचेल माओवादी केही नेता प्रधानमन्त्रीय कुर्सीमात्रै हेर्दैछन्, धेरैजसो नेतृत्वपंक्तिले महाभारतकालीन पाण्डवले जस्तै पाँच गाउँमात्रै माग गर्दैछन्, तर आम कार्यकर्तासँगै आम उत्पीडित जनता भने सिंगो हस्तिनापुर ताक्दैछन्। उनीहरु मेचीदेखि महाकालीबाट समेत काठमाडौँसम्म धाउँदैछन्, मन-मस्तिष्कमा आमूल परिवर्तनको लक्ष्य बोकेर। यतिखेरको आवश्यकता अनिर्वाचित सभासद् माधव नेपालले ओगटेर बसेको प्रधानमन्त्रीय कुर्सीमा निर्वाचित सभासद् प्रचण्डको पुनः आरोहण मात्रै होइन, न त जनआन्दोलनमा पोखिएको आमूल परिवर्तनको मागलाई टालटुले व्यवस्थापन गर्नुमात्रै यतिखेरको चाहना र उपाय हो। यतिखेरको जरुरत हो, नेपाली समाजको पिँधमा भुसको आगोजस्तै बलिरहेको सामाजिक द्वन्द्वलाई आमूल परिवर्तनतिर रुपान्तरण गर्नु।

 

यतिखेरको आवश्यकता हो, त्यस्तो रुपान्तरणको प्रक्रियालाई सरकारले अविलम्ब राजीनामाबाट बाटो सफा गर्नु, राज्यले न्यायपूर्ण शान्ति स्थापनाको नीति-कार्यक्रमबाट सम्बोधन गर्नु अनि संविधानसभाले नयाँ संविधानमै लिपिबद्ध गर्नु। त्यसो नगरी आन्दोलनकारीहरुमाथि दक्षिणपन्थी सरकारले शाही सैनिक शासनकै शैलीमा दमन गर्नुको अर्थ हुने छ, छायाँ युद्धलाई वास्तविक लडाइँमा रुपान्तरण गर्नु र कुलीन वर्गको भूस्वर्गको सर्वनाश निम्त्याउनु। यसरी छद्म युद्धलाई सक्कली भिडन्तमा फेर्दै हिंसात्मक दमन र प्रतिकारलाई तीब्र पारियो भने कुलीन वर्गको भूस्वर्गमात्रै होइन, देश र जनताकै विनाश पनि हुन सक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस