रक्षाबन्धनका मान्यता
१४ भदौ २०८०
•
५ मिनेट पाठ
रक्षाबन्धनका मान्यता
श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षाबन्धन अर्थात जनै पूर्णिमा यो वर्ष भाद्र माषमा पर्न गयो। पुरुषोत्तम माषका कारण यस्तो भएको हो। मन्त्रको भावार्थ थाहा नभए पनि केटाकेटीमा गुरुले वाचन गर्दै भनेको यो मन्त्र खुब मन पथ्र्यो।  




‘‘येन बद्धो बलीराजा, दानवेन्द्रो महाबल।  

तेन त्वां प्रति बध्नामि, रक्षे मा चल मा चल।।

पूर्णिमा पर्व भन्दा अगाडि मनाइने नागपञ्चमी पनि रमाइलो लाग्थ्यो। त्यसबेला भन्ने गरिन्थ्यो नागपञ्चमीबाट हिउँद लाग्छ, श्री पञ्चमीबाट वर्षा सुरु हुन्छ। यसको अर्थ केटाकेटीले बुझ्ने कुरो थिएन, बुझिदिन्थे। श्रावण लाग्यो अब पाँचवटा कुरा खानु हुँदैन भनिन्थ्यो, त्यसबेला भनेको चुडन्ति, (निंग्रो), बुडन्ति (माछा), उडन्ति (परेवाको मासु), मुला लगायत चार कुरा त खानुहुँदैन भनेको सम्झन्छु। पाँचमध्येमा पर्ने कुरा अर्को के थियो त्यो भने सम्झनामा छैन। वर्षा माषमा उल्लिखित वस्तु खानलाई निषेध गर्नु स्वास्थ्यको दृष्टिले होला भन्ने अहिले लाग्छ।  

जनै पूर्णिमा अर्थात रक्षा बन्धनको विषयमा वामन पुराणको भनाइमा, भगवान विष्णुले वामन अवतार लिएर बलि राजासँग तीन पाउ जमिन दानमा माग्छन्। छलपूर्वक मागिएको दानबाट बलि राजाको सबैथोक लिन्छन्। राजासँग केही पनि बाँकी रहँदैन। उनी शून्यको अवस्थामा पुग्छन्। त्यसपछि बलि राजाले भगवान विष्णुसँग एउटा वरदान माग्छन्। वरदानमा बलिले भगवान विष्णुलाई आफ्नै साथमा पातलमा बस्न वर माग्छन्। भगवानले वामनले भनेकै वर दिन्छन्। त्यसपछि आफूले दिएको वरदान पुरा गर्न बलिका साथ विष्णु भगवान पातलमा जान्छन्। त्यहीँ बस्छन्। त्यसले लक्ष्मी हैरान हुन्छिन्। त्यसपछि लक्ष्मी आफ्नो भेष परिवर्तन गरेर विष्णुलाई बलिबाट मुक्त गर्न भनेर पातल जान्छिन्। त्यसपछि बलिलाई लक्ष्मीले आफ्नो दाजु वा भाइ मानेर रक्षासूत्र बाँधदिन्छिन्, त्यसपछि बलिले लक्ष्मीलाई आफ्नो माग वा इच्छा राख्न भन्छन्। लक्ष्मीले विष्णुलाई आफ्नो साथ बैकुण्ठ लानका लागि माग गर्छिन्। बलिले त्यसपछि विष्णुका साथ लक्ष्मीलाई बिदा गर्छन्।  

अर्को पौराणिक कथाअनुसार देवासुर संग्राममा देवताहरू दैत्यबाट पराजित हुन्छन्। आफ्नो विजयको कुनै संभावना नभएपछि उनीहरू देवराज इन्द्रकहाँ जान्छन्। त्यसपछि दुःखी, पराजित तथा चिन्तित इन्द्र देवगुरु बृहस्पतिसँग भन्छन्– यस समय म यहाँ सुरक्षित छुइन ! यहाँबाट कतै निक्लिने अवस्था पनि मेरो छैन। यस्तो अवस्थामा युद्ध गर्नुबाहेक अर्को कुनै विकल्प छैन। तर युद्धमा अहिलेसम्म पराजय नै भैराखेको छ। फेरि पराजय हुँदैन भनेर विश्वास पनि छैन। उनीहरूबीचको संवाद इन्द्राणीले सुन्छिन्। त्यसपछि भन्छिन्– ‘‘भोलि श्रावण शुक्ल पूर्णिमा हो। म नियमपूर्वक रक्षासूत्र तयार गर्दछु त्यसलाई स्वस्तिवाचनका साथ ब्राह्मणको हातबाट ग्रहण गर्नु। यसबाट अवश्य पनि विजय हुनेछ। दोस्रो दिन इन्द्राणीले भनेअनुसार स्वस्तिवाचनका साथ इन्द्रले रक्षाबन्धन गर्दछन्। त्यसबाट उनलाई आत्मविश्वास बढ्छ। युद्धमा विजय पनि गर्दछन्। त्यसपछि यो दिन पर्वको रूपमा मनाउन थालिएको हो भन्ने भनाइ पनि छ।  

रक्षाबन्धनको पवित्र पर्व भद्रारहित अपराह्न व्यापिनी तिथिमा मनाइन्छ। शास्त्रको मत  

छ– पूर्णिमा दुई दिनको हुन्छ भने पहिलो दिनलाई महŒव दिनुपर्दछ। त्यस दिन भद्रा पर्छ भने त्यसलाई त्यागी दिनुपर्छ। किनकि ज्योतिष तथा धर्मशास्त्रको मत छ कि त्यस मुहूर्तमा रक्षा सूत्र बाँध्ने हो भने राजा (शासक) लाई अनिष्ट हुन्छ। यो ज्योतिष विधामा पर्ने क्षेत्र हो। यसको पुष्टि अथवा खण्डन ज्योतिष विज्ञबाट मात्र हुन सक्छ।  

‘‘भद्राया द्धे न कर्तव्ये श्रावणी फाल्गुनी तथा।

श्रावणी निपतिं हान्ति ग्रामं दहती फाल्गुनी।।

यसै दिन यज्ञो पवित अर्थात जनै पूर्णिमाको पर्व मानिन्छ। ऋषि तर्पणीको साथै जनै पूजा, होम यज्ञादि गरेर पुरानो जनै विर्सजन गरेर नयाँ जनै लगाउने प्रचलन छ। गोसाइँ–कुण्डलगायत विभिन्न तीर्थस्थल यस दिन महŒवपूर्ण मानिन्छन्। मेला लाग्छ। यस पर्वसँग सम्बन्धित महाभारतमा पनि प्रसङ्ग, आउँछ। भगवान कृष्णले सुदर्शन चक्रको प्रयोगद्वारा शिशुपालको वध गर्दछन्। त्यसले उनको चोर औँलामा पनि चोट लाग्छ। त्यसपछि द्रौपदीले आफूले लगाएको सारी च्यातेर चोट लागेको कृष्णको औँलामा पट्टी बाँधिदिन्छिन्। त्यो दिन संयोगवश श्रावण शुक्ल पूर्णिमाकै दिन परेको थियो भन्ने पनि छ।  

यो पर्वमा विशेषतः भारत तथा नेपालको तराई क्षेत्रमा राखी पर्वका रूपमा उल्लासका साथ मनाइन्छ। दाजुभाइ र दिदीबहिनीबीच सम्बन्धमा प्रगाढता तथा प्रेम दर्शाउने पवित्र चाड मानिन्छ। पारिवारिक सम्बन्धमा मात्र नभएर कूटनीतिमा पनि यस पर्वले महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ। भारतका मुगलकालीन शासक हुमायुँलाई चितौडकी रानी कर्णवतीले श्रावण शुक्ल पूर्णिमाकै दिन पारेर राखी पठाएर उनलाई माइती बनाएकी थिइन्। त्यसरी राखी पठाउनुको कारण थियो– चित्तौडमाथि बहादुर शाहले आक्रमण गरेका थिए। त्यसैले आफूलाई सहायता गर्न हुमायुँलाई आग्रह गरेकी थिइन्। हुमायुँले पनि संकटको समयमा सहायता गरेका थिए तर त्यो कामयावी भने हुन सकेन।  
दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध प्रगाढ तुल्याउने यस चाडले सम्बन्ध निर्माणमा पनि भूमिका खेलेको पाइन्छ। भारतका चार छायाँवादी साहित्यकारमा जयशंकर प्रसाद, सूर्यकान्त त्रिपाठी निराला, सुमित्रा नन्दन पन्त र माहादेवी वर्मालाई मानिन्छ। त्यसमा छायाँवादको क्रमशः प्रसाद, निराला र पन्तलाई ब्रह्मा, विष्णु र महेश भन्ने गरेको पाइन्छ। रक्षाबन्धन सूत्रकै कारण महादेवी बर्मा र सूर्यकान्त त्रिपाठीका बीच चेली र माइतीको सम्बन्ध कायम थियो। रक्षाबन्धन पर्वका दिन सूर्यकान्त त्रिपाठी, राखी बाध्न महादेवी बर्माको घरमा जान्थे। धार्मिक, सांस्कृतिक मात्र नभएर यो पर्वले सामाजिक पुनर्ताजगीसमेत बनाउँछ। सम्बन्धप्रतिको दायित्व बोधसमेत गराउँछ।  

श्रावणमा प्रकृति संरक्षणका लागि स्थापित केही पक्ष अझ उल्लेख्य छन्। जम्मु–कश्मीरमा यसै महिनामा देविका नदीको किनारमा ‘रुटटर रहार्ड’ पर्व मनाउने प्रचलन छ। यसमा विवाहित छोरी माइत आउँछन्। त्यसपछि आफ्नो बाबु, दाजुभाइ, ठूलो बुबा, काकाको नाममा छोरी चेलीले वृक्ष रोप्छन्। त्यसपछि जस–जसको नाममा ती बिरुवा रोपिएका छन् उनीहरूले त्यसको संरक्षणको जिम्मा लिन्छन्। त्यति मात्र होइन, श्रावण सुरु हुनु भन्दा पहिला नै पोखरी, तलाउ, सफाइ गर्ने, त्यसमा पानी भर्ने। त्यसको वरिपरि बाँस रोप्ने प्रचलन पनि थियो। 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस